|

पर्वत : राष्ट्रिय राजनीतिमा गठबन्धन बनाउने परिपाटीका कारण यति बेला राजनीतिक परिवेश नै शिखरमा छ। यस अगाडिको गठबन्धन कायम रहेको बेलामा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र मिल्दा काँग्रेसका तर्फबाट बनेका मुख्यमन्त्री धरापमा छन्। राजनीतिको केन्द्रीय परिवेशको असर गण्डकी प्रदेशमा पनि उस्तै छ।

केन्द्रमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेपछि माओवादीले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन गत फागुन २३ मा फिर्ता गरेको छ।

काँग्रेसबाट गण्डकीको मुख्यमन्त्री रहेका सुरेन्द्रराज पाण्डेले केन्द्रको हलचलका कारण आफ्नो सरकारमा रहेका माओवादीका मन्त्री पदमुक्त गरेपछि माओवादीले पनि सरकारलाई दिएको समर्थन फिर्ता गरेको अवस्था छ।

एक महिनाभित्रमा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री पाण्डे आफूलाई बलियो बनाउने प्रयासमा छन् भने एमाले र माओवादी नयाँ सरकार गठनको लागि बलियो पार्ने प्रयासमा छन्। मुख्यमन्त्री पाण्डेले चैत २३ गतेभित्रमा विश्वासको मत लिनुपर्ने अवस्था छ। गण्डकीमा काँग्रेस, एमाले र माओवादी एक्लैले चाहेर सरकार बन्न सक्ने अवस्था छैन।

६० सदस्यीय गण्डकी प्रदेश सभामा बहुमत प्राप्त गरेर सरकार बनाउन ३१ जना सांसदहरू आवश्यक हुन्छन्। अहिले गण्डकीमा काँग्रेसका २७ जना, एमालेका २२, माओवादी केन्द्रका ७ जना सभामुखबाहेक, राप्रपाका २ जना र एकजना दीपक मनाङे छन्।

काँग्रेससँग २७ सांसद मात्र भएकाले आफ्नो दलबाट मात्र मुख्यमन्त्रीले बहुमत अर्थात् ३१ जना सांसद पुर्‍याउन सक्ने सम्भावना छैन। तर राप्रपालाई आफ्नो पक्षमा पारेर अन्य २ जना सांसदलाई आफ्नो पक्षमा पार्नसक्ने सम्भावना नभएको होइन।

यही परिवेश चलिरहेकै बेलामा आइतबार गण्डकी प्रदेशको राजनीति तात्यो। मनाङ ‘ख’ बाट स्वतन्त्र रूपमा निर्वाचित भएका राजीव गुरुङ उर्फ दीपक मनाङे २०७९ मङ्सिर १९ मा माधवकुमार नेपालको हातबाट टीका लगाउँदै नेकपा एसमा प्रवेश गरेका थिए। केन्द्रमा नेपालले ओली–प्रचण्डलाई साथ दिएकै बेलामा आइतबार उनै  मनाङले नेकपा एस त्यागेर आफू स्वतन्त्र सांसदकै हैसियतमा रहने भन्दै गण्डकी प्रदेश सभा सचिवालयमा पत्र बुझाएका थिए।

मनाङले पार्टी छाडेसँगै गण्डकीमा नयाँ सरकार निर्माण चुनौतीपूर्ण बनेको बेलामा चुनौतीलाई थप बलियो बनाउँदै  मुख्यमन्त्री पाण्डेले उनै मनाङेलाई गण्डकी प्रदेश सरकारमा सहभागी गराउने तयारी गरेका छन्। काँग्रेस–माओवादीको गठबन्धन रहेको बेलामा माओवादीको भागमा रहेको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय मन्त्रीको बर्खास्तसँगै मुख्यमन्त्री पाण्डेसँगै रहेको छ।

खाली रहेको सोही मन्त्रालयमा मनाङे लैजान प्रदेश प्रमुखको कार्यालयलाई भनिसकिएको खबरहरू आइरहेका छन्। यससँगै मनाङे चौथो पटक गण्डकीको मन्त्री बन्न लागेका हुन्। यसअघि उनी एमालेका पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकारमा दुई पटक र काँग्रेसका कृष्णचन्द्र नेपालीको सरकारमा एक पटक युवा तथा खेलकुद मन्त्री बनेका थिए।

मनाङे समाजवादीमै रहँदा उनी स्वतः एमाले–माओवादी गठबन्धनको एक सांसद रहन्थे। २२ सांसद रहेको एमाले र सभामुखबाहेक ७ जना सांसद रहेको माओवादी केन्द्रलाई मनाङे गठबन्धनमै रहँदा सरकार निर्माणको लागि अर्का एकजना मात्रै सांसदको समर्थन आवश्यक हुन्थ्यो। दुई सांसद रहेको राप्रपाले समर्थन दिएको भए नयाँ सरकार बनाउन सजिलै बहुमत पुग्थ्यो।

तर मनाङे स्वतन्त्र हुँदै वर्तमान मुख्यमन्त्रीको पक्षमा पुगेपछि पाण्डे नेतृत्वको सरकारलाई राप्रपाको साथ पाउनै पर्ने अवस्था देखिएको छ। तर यत्तिले मात्रै पनि काँग्रेस नेतृत्वको सरकार कायम हुँदैन। काँग्रेसका २७ जना र मनाङे १ जना गर्दा २८ जना हुन्छन्। राप्रपासमेत आउँदा पाण्डेको पक्षमा ३० जना सांसद हुन्छन्। तर गण्डकीमा बहुमतका लागि ३१ जना आवश्यक हुने भएकोले एमाले–माओवादी पक्षबाट कोही एकजना सांसदलाई ‘फ्लोर क्रस’ गराउनैपर्ने बाध्यता रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.