|

काठमाडौँ : हेल्प नेपाल स्पोर्टस् र एभरेष्ट भलिबल क्लब आठौँ आरबिबी एनभिए भलिबलको च्याम्पियन भएका छन्।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा शनिवार सम्पन्न च्याम्पियनसिपमा हेल्प नेपाल पुरुषमा र एभरेष्ट महिलामा च्याम्पियन भएका हुन्। च्याम्पियन टोली हेल्प नेपाल र एभरेष्ट भलिबल क्लबले समान पाँच लाख रुपैयाँसहित ट्रफी प्राप्त गरे।

फाइनलमा हेल्प नेपालले त्रिभुवन आर्मी क्लबमाथि ३–२ को संघर्षपूर्ण जित निकाल्दै उपाधि रक्षा गरेको हो। हेल्प नेपालले आर्मीलाई २०–२५, २७–२५, २३–२५, २९–२७ र २२–२० को रोमाञ्चक सेटमा हरायो। उपविजेता आर्मीले दुई लाख रुपैयाँसहित ट्रफी पायो।

महिलातर्फ फाइनलमा भने एभरेष्टले नेपाल पुलिस क्लबलाई ३–१ ले हरायो। पहिलो सेट गुमाए पनि उत्कृष्ट पुनरागमन गर्दै एभरेष्ट पहिलोपटक च्याम्पियन बनेको हो। पुलिसले समूह चरणमा एभरेष्टमाथि ३–२ को जित निकालेको थियो। फाइनलमा भने एभरेष्टले बदला लिँदै पहिलो ट्रफी उचाल्यो।

फाइनलमा भने एभरेष्टले पुलिसलाई १९–२५, २५–२२, २५–१८ र २५–१९ ले हरायो। उपविजेता पुलिसले दुई लाख रुपैयाँसहित ट्रफी पायो। महिलातर्फ नै शुक्रबार नै एपिएफ तेस्रो भएको थियो।

पुरुषतर्फ शनिवार तेस्रो स्थानका लागि भएको खेलमा नेपाल पुलिस क्लबले गण्डकी प्रदेशलाई २५–१६, २५–२० र २९–२७ ले हरायो। विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, पूर्वमन्त्री रामकुमारी झाँक्री, राखेप बोर्ड सदस्य प्रकाश कुसारी र नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दलगायतले पुरस्कृत गरे। नेपाल भलिबल संघको आयोजनामा सम्पन्न प्रतियोगिता आठ दिनसम्म चलेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.