काठमाडौँ : छायाँ सेन्टरमा नेपाल र भारतका परम्परागत उच्चस्तरीय हस्तकलाको प्रदर्शनी ‘इण्डिया–नेपाल क्राफ्ट फेस्टिभल्स’ शुरु भएको छ।
काठमाडौँको ठमेलस्थित छायाँ सेन्टरमा आज (बिहीवार) शुरु भएको प्रदर्शनी १९ गतेसम्म सञ्चालन हुनेछ। प्रदर्शनी बिहान १० बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुनेछ।
मेलामा प्रत्यक्ष प्रदर्शनी, बनारसको हस्तकला, पाककला स्टल्स, नेपाली हस्तकला र फुड स्टल्स रहेका छन्। नेपाल र भारतीय हस्तकलाका सृजनात्मक कथाहरु, संस्कृति र सृजनाको गतिशील प्रदर्शनीको रुपमा मेलालाई लिइएको छ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले नेपाल भारतको सम्बन्ध नङ र मासुको रहेको भन्दै परम्परागत हस्तकला प्रदर्शनीले सम्बन्ध झनै प्रगाढ बनाउने विश्वास व्यक्त गरे। उनले प्रदर्शनीले भारतसँग निर्यात प्रवर्द्धनको बाटो खुल्ने बताए।
‘यो नेपाल-भारतको त्यसै पनि नङ र मासुको सम्बन्ध, त्यसमा फल्क क्राफ्टको सेन्टर अफ सिटीमा (छाया कम्पेक्स) मा भएको छ। त्यसमा विभिन्न मौलिक हस्तकलाका प्रदर्शनी भएका छन्‚’ उनले भने, ‘यसले सम्बन्ध प्रगाढ पार्ने र हामीले पनि एक्सपोर्ट गर्ने कुनै गेट वे जस्तो बाटो खोल्ने काम भएको छ।’
उनले नेपाल—भारत परम्परागत सम्बन्धभन्दा पनि व्यापारिक सम्बन्ध विस्तार गर्न आवश्यक रहेको बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।