|

काठमाडौं : देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ। चितवन, भक्तपुर, ललितपुर, बाँके र सिरहामा भएका दुर्घटनामा उनीहरूको मृत्यु भएको हो।

चितवन, राप्ती नगरपालिका-७ बिरेन्द्रनगरस्थित सडकमा प्र.२-०२-००५ प १३९९ नम्बरको मोटरसाइकल ना.६ ख १५७७ नम्बरको ट्रकमा ठक्कर खाई बिहीबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार महोत्तरी सम्सी गाउँपालिका-४ बस्ने २१ वर्षीय रूपेश पण्डितको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुरतर्फ लैजान क्रममा बाटोमै मृत्यु भएको हो। उक्त मोटरसाइकल ना.३ त २८७२ नम्बरको ट्याक्टरमा ठक्कर खाई अनियन्त्रित भई ट्रकमा समेत ठक्कर खाई दुर्घटना भएको थियो। साथै दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालकको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ। ट्रक र ट्रयाक्टरका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

भक्तपुर, मध्यपुरठिमी नगरपालिका-२ सानोठिमीस्थित सडकमा पुरानोठिमीबाट पेप्सीकोलातर्फ जाँदै गरेको अल्फाबेट नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट पैदलयात्री मध्यपुरठिमी नगरपालिका-२ सानोठिमी बस्ने ६२ वर्षीय राम थापा मगरको बिहीबार बेलुकी मृत्यु भएको छ।

ठक्करबाट  गम्भीर घाइते भएका उनको मध्यपुर अस्पताल ठिमीमा उपचारको क्रममा मृत्यु भएको हो। ठक्कर दिने मोटरसाइकल र चालकको प्रहरीले खोजी गरिरहेको छ।

ललितपुर, महाङ्काल गाउँपालिका-५ चन्दनपुरस्थित सडकमा कालेश्वरबाट बतासेडाँडा चन्दनपुर गैरीगाउँतर्फ जाँदै गरेको बा.९४ प ६३४६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई गएराति दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने ५२ वर्षीय रमेश प्रसाद बजगाईको घटनास्थलमै मृत्यु भएको छ।

बाँके, राप्तिसोनारी गाउँपालिका-८ ओभरीस्थित सडकमा साइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७१ वर्षीय जुद्ध बहादुर कुँवरको बिहीबार राति मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको नर्सिङ होम नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको छ। साइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सिरहा, नरहा गाउँपालिका-४ स्थित सडकमा चौहर्वाबाटबाट सिरहातर्फ जाँदै गरेको ना.५० प ६७८५ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई शुक्रबार बिहान दुर्घटना हुँदा चालक मिर्चैया नगरपालिका-८ बस्ने २५ वर्षीय बिवेक रायको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको लाइफ लङ्ग अस्पताल गोलबजार हुँदै थप उपचारको लागि बिराटनगर रिफर गरिएको छ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.