|

काठमाडौं : सीरियाको राजधानी दमाश्कसमा इजरायली सेनाले गरेको आक्रमणमा सात इरानी अधिकारीको मृत्यु भएको छ।

इरानको रिभोल्युशनरी गार्डले एलिट कुद्स फोर्सका कमाण्डर ब्रिगेडियर–जनरल मोहम्मद रेजा जाहेदी र उनका डेपुटी ब्रिगेडियर–जनरल मोहम्मद हादी हाजी–रहिमीलगायत मारिएको बताएको छ। 

मोहम्मद रेजा जाहेदी इरानका शीर्ष कमाण्डरमध्ये एक हुन्। इरान र इजरायलबीच यस प्रकारको लक्षित आक्रमण र हत्याको लामो इतिहास रहेको बीबीसीले जनाएको छ। 

इरान र सीरियाले दमाश्कसमा हिजो भएको उक्त आक्रमणको निन्दा गरेका छन्। यसबारे इजरायलले भने कुनै प्रतिक्रिया दिएको छैन। 

गत अक्टोबरमा गाजा युद्ध सुरु भएपछि इरान समर्थित समूह हिज्बुल्लाहले लेबनान र सीरियासँग जोडिएको उत्तरी इजरायली सीमा क्षेत्रमा आक्रमण गर्दै आएका छन्। 

यसको जवाफमा इजरायलले लेबनान र सीरियाका संवेदनशील क्षेत्रमै मिसाइल आक्रमण गर्ने गरेको छ। पछिल्लो पटक इरानका शीर्ष सैन्य कमाण्डार मारिएपछि मध्यपूर्वको तनाव थप गम्भीर बन्दै जाने आशंका गरिएको छ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.