|

इलाम : वैशाख १५ मा इलाममा हुने उपनिर्वाचनका लागि हालसम्म ६ जनाले उम्मेदवारी दर्ता गराएका छन्। प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समितिका ४१ वटा घटकहरुको समर्थन पाएका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिं लिम्बू थेगिमले पनि मनोनयन दर्ता गराएका छन्।

स्वतन्त्र उम्मेदवारको रुपमा उनले पाचौँ नम्बरमा मनोनयन दर्ता गराएका हुन्। उनको मनोनयन दर्ताका क्रममा ठूलो समूह बाजागाजा, ढोल झ्याम्टा बजाउँदै र आआफ्नो साँस्कृतिक पहिरनसहित आएका थिए।

त्यस्तै, मंगोल नेशनल अर्गनाइजेशनका मनिबहादुर लिम्बुले पनि उम्मेदवारी दर्ता गराएका छन्। ४ मंसिर २०७९ को प्रतिनिधिसभा निर्वाचनमा पनि मंगोल नेशनलबाट लिम्बु नै उम्मेदवार थिए। त्यतिबेला उनले १३६३ मत पाएका थिए।

नेकपा एकीकृत समाजवादीका जीतबहादुर राईले पनि उम्मेदवारी दर्ता गराएका छन्। उनको उम्मेदवारी दर्ता गराउने क्रममा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र प्रदेशसभा सदस्य खिनु लङ्वा लिम्बू पनि उपस्थित थिइन्।

यसअघि जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टीका श्यामबहादुर दर्जी र स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतमले मनोनयन दर्ता गराएका छन्। नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले भने मनोनयन दर्ता गराइसकेका छैनन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.