|

गुल्मी : गुल्मीमा स्थानीय सरकारप्रति स्थानीयका गुनासै गुनासा व्‍यक्त गरेका छन्। यहाँको रेसुंगा विमानस्थलबाट हुने उडानका लागि सहज रूपमा हवाई टिकट नपाएको र त्यसका लागि पहुँचवालाको मात्र हालीमुहाली हुने गरेको यहाँका स्थानीयले गुनासो गरेका हुन्।

रेसुंगा नगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा वडा नम्वर ४ का गोपालमणी शर्माले सहज रुपमा हवाई टिकटको व्‍यवस्था नभएको गुनासो गरे।

सहज रुपमा टिकटको व्‍यवस्था नहुँदा सर्वसाधारणहरुले सेवा लिन नपाएको र पहुँचवालाको मात्र हाली मुहाली भएको गुनासो गरे।

सीमित सिट हुने र सर्वसाधरणले सहज रुपमा अनलाइनबाट टिकट बुकिङ गर्न नसक्दा आफूहरुले सेवा लिन नसकेको स्थानीयको गुनासो छ।

यस्तै, स्थानीय नागरिक चन्द्रकान्त भण्डारीले पशुसेवाका कार्यहरू पनि ग्रामीण स्तरमा नपुगेको गुनासो गरे। उनले नगरपालिकाको कार्यालयमा मात्र कार्यक्रम सीमित नगर्न र ग्रामीण स्तरमा पनि कृषकहरु छन् भन्ने सोच्नका लागि आग्रह गरे।

स्थानीय भोजेन्द्र भण्डारीले कृषकको उत्पादनलाई बजारीकरणको जिम्मा नगरपालिकाले लिनुपर्ने धारण राखे।  कृषकले उत्पादन गरेका कृषि उपजलाई नगरपालिकाले खरिद गर्ने व्‍यवस्था गरेमा कृषकलाई बजारको चिन्ता नहुने, उत्पादनमा केन्द्रित हुने र उत्पादनमा वृद्धि हुने उनको तर्क छ।

यस्तै, वडा नम्बर ४ की उजेली विकले जंगली जनवार बाँदर लगायतले खेतबारीमा लगाएको खेतीपाती  जोगाउनै समस्या भएका बताइन्। यही अवस्थामा बाँदरले गरीखान नदिने र उठीबास लगाउने  अवस्था आएकाले उचित व्‍यवस्थापन गर्न उनले आग्रह गरिन्।

सार्वजनिक सुनुवाइ कार्यक्रममा शिक्षकहरुले मासिक रुपमा पारिश्रमिकको व्‍यवस्था गर्न, दिवा खाजाको रकममा कमी भएको र विद्यालय मर्च र दरबन्दी मिलानमा स्थानीय आवश्यकतालाई ध्यानमा राख्न सुझाव दिएका थिए।

नेपाल नागरिक उड्यन प्राधिकरणसँग सहज रूपमा टिकटको व्‍यवस्था गर्नका लागि आफूले पहल गरेको रेसुंगा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले बताए।  नागरिकहरुको समस्यालाई आफुले नजिकबाट नियालेको बताउँदै पन्थीले तत्काल समस्याको समाधान गर्ने दाबी गरे।

नगरभित्रका नागरिकहरुलाई सहज रुपमा सेवा प्रवाह गर्न र कृषकलाई उत्पादनसँग जोड्नका लागि नगरपालिकाले योजना बनाएको उनको भनाइ छ। जंगली जनावरको समस्या राष्ट्रव्‍यापी भएको भन्दै जसको समाधानका लागि संघीय सरकारले नै नीति बनाउनुपर्नेमा उनले जोड दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.