वर्षेनि परीक्षा नदिनेको संख्या बढ्दै

|

काठमाडौँ : यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आज सकिएको छ। चैत १५ बाट २०८० सालको एसइई परीक्षा शुरू भएको थियो। साधारणतर्फको नियमित विषयका परीक्षा भने गत शुक्रबार नै सकिएका थिए। प्राविधिक धारतर्फका परीक्षा भने २७ गतेसम्म थिए। 

योपटक एसइईमा सहभागी हुन परीक्षा फाराम भरेका ३७ हजारभन्दा बढी परीक्षार्थी अनुपस्थित भएका छन्। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयका अनुसार परीक्षामा सहभागी हुन पाँच लाख चार हजार विद्यार्थीले फाराम भरेका थिए।

परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले चार लाख ७५ हजारले मात्रै प्रवेशपत्र लिएको जानकारी दिए। उनका अनुसार प्रवेशपत्र लिएकामध्ये पनि ८ हजारभन्दा बढी परीक्षामा अनुपस्थित रहे। उक्त परीक्षामा देशभरबाट चार लाख ६७ हजार जना मात्रै उपस्थित भएका छन्। 
 

वर्षेनि परीक्षा नदिनेको संख्या बढ्दो

यसरी परीक्षामा परीक्षार्थीहरू अनुपस्थित भएको यो वर्षमात्रै होइन। वर्षेनि एसइई परीक्षाका लागि फाराम भर्ने तर परीक्षा भने नदिने गरेका छन्। यो संख्या झनै बढ्दो छ।

२०७७ सालको एसइई परीक्षामा फाराम भरेकामध्ये १३ हजार ९० जना परीक्षामा अनुपस्थित थिए। यसैगरी २०७८ सालको एसइईमा पाँच लाख १४ हजारमध्ये चार लाख ९५ हजार ७५१ जना मात्रै सहभागी भए। २२ हजार ६४० जना परीक्षार्थीले एसइई परीक्षा दिएनन्। यो संख्यालाई प्रतिशतलाई हेर्दा ४.५७ प्रतिशत पुग्छ। 

राष्ट्रिय परीक्षा बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालका अनुसार गत वर्षको एसइई परीक्षामा ४ लाख ८५ हजार ३९६ विद्यार्थी सहभागी थिए भने १३ हजार ९९२ परीक्षार्थी अनुपस्थित थिए। यो वर्ष बढेर परीक्षामा अनुपस्थित हुनेको संख्या ३७ हजार पुगेको छ। 

किन हराए विद्यार्थी ?

परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का नियन्त्रक पौडेल बढी वैकल्पिकमा जाँदा यसरी विद्यार्थीहरू एसइई परीक्षा दिनबाट गायब भएको बताउँछन्। ‘पहिलो त बढी उमेर समूहकाले पछि समस्या नपर्ला एसइई परीक्षा दिन्छु भनेर फाराम भर्छन्’, उनले थाहाखबरसँग भने, ‘एक्जाम आएपछि भने मर्यादित हुने कुरा लगायत उहाँहरूको आन्तरिक कारण पनि परीक्षा दिँदैनन्।’ 

उनी अर्को कारणमा परीक्षार्थीहरू बिदा नपाएकाले पनि परीक्षामा उपस्थित हुन नसकेको बताउँछन्। उनले भने, ‘परीक्षा फाराम भरे पनि पछि आर्मी, प्रहरीहरूलाई बिदा मिल्दैन, त्यही भएर पनि परीक्षा दिन पाएनन्।’  

उनका अनुसार विद्यालयमा हाजिर नपुग्दा, आर्थिक समस्या लगायत कारण पनि एसइई परीक्षा दिनबाट वञ्चित हुने गरेका छन्। यसैगरी एसइईमा सहभागी हुने विद्यार्थीले कक्षा नौमा रजिस्ट्रेशन फाराम भर्नुपर्छ। त्यसरी फाराम भरेकामध्ये केही विद्यार्थी कक्षा ९ को वार्षिक परीक्षा नतिजामा चित्त बुझेन भने सोही कक्षा दोहोर्‍याउन चाहन्छन्। जसले गर्दा एसइईमा सहभागी हुने तथ्याङ्क घट्छ। 

त्यसैगरी महिला तथा प्रौढलाई लक्षित गरेर खोलिएका विद्यालयबाट पनि एसइई परीक्षामा फाराम भराउने गरिएको छ तर यस्ता विद्यालयबाट फाराम भरेकामध्ये केही परीक्षार्थी कम उमेर भएका कारण वा अन्य कारणबाट पनि परीक्षामा अनुपस्थित हुने गरेको उनको बुझाइ छ। 

प्रवेशपत्र लिएर पनि दिँदैनन् परीक्षा

यो वर्षको एसइई परीक्षामा प्रवेशपत्र लिए पनि परीक्षा भने नदिएको पाइएको छ। परीक्षा बोर्डका अनुसार ८ हजारभन्दा बढीले प्रवेशपत्र लिए पनि परीक्षा भने दिएनन्। यस विषयमा परीक्षा नियन्त्रक पौडेल भन्छन्, ‘यो उहाँहरूलाई समय अनुकूलता हुनसक्छ। यस्तै,सामाजिक परिवेश कारण पनि छन्।’

पछिल्लो समय समाजमा पढेर पनि रोजगार पाइँदैन नेपालमा। त्यसैले विदेश नै जानुपर्छ। त्यसो त पढेर किन समय खेर फाल्छौँ भन्ने नकारात्मक सोचका सुझाव दिने गरिन्छ। ‘यो कारण पनि पढ्दापढ्दै विद्यार्थीहरूको मानसिकता परिवर्तन हुन्छ अनि परीक्षा दिन छाडेर विदेश पलायन हुन्छन्¹, उनले भने। बोर्डका अनुसार यो वर्ष अनुपस्थित परीक्षार्थीमध्ये अधिकांश छात्र छन्।

अभिभावक भन्छन् : राज्यले खोजी नै गरेन

वर्षेनि विद्यार्थी भर्ना भएर पनि बीचमै पढाइ छाडेका छन् तर सरकारले यसतर्फ कुनै चासो देखाएको छैन। यही कारण पनि वर्षेनि विद्यार्थीहरू पढ्नबाट टाढिने समस्या निम्तिएको नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारी बताउँछन्।

उनी भन्छन्, ‘एसइईमा मात्रै होइन कक्षा १ देखि १२ सम्मकै ट्रेण्ड हेर्दा प्रत्येक कक्षामा पढ्दा पढ्दै विद्यार्थीहरू छाडेका छन्, यसमा धेरै कारण छन्, जस्तो बसाइसराइँ, गरिबी, अभाव, कमजोर पढाइले पढाइ छाड्छन्।’

उनका अनुसार कतिपय विद्यार्थी समाज र घरको मनोविज्ञानकै कारण पनि पढाइ छाड्छन्। ‘राम्रोसँग पढ्नु भनेर प्रेरणा दिनुको सट्टा तिमी त पढाइमा कमजोर छौ, बरु काम गर किन पढ्छौँ भन्ने समाजमा प्रवृत्ति छ। त्यसैले पनि पढ्न छोड्छन्’, उनले भने।

अर्कोतर्फ राज्यले पनि खोजी गर्न नसक्नु कारण रहेको उनले बताए। ‘राज्यले भर्ना गर्ने वेला नि:शुल्क शिक्षा भन्दै सबै भर्ना गर्नु/हुनु भन्छ,अभियान नै चलाउँछ तर भर्ना भएपछि कसरी पढ्दै छन्?,यदि बीचमै छाडेका छन् भने किन भनी कारण खोज्नुपर्छ कि पर्दैन?,’उनले भने।

उनले बरु २०८१ सालबाट यदि छोराछोरी भर्ना नगरे अभिभावकलाई कारबाही गर्ने नीति सरकारले ल्याउँदै गरेको बताए। ‘भर्ना नगरे कारबाही गर्ने भन्छ अनि विद्यालयमा पढाइ के कस्तो छ भनेर खोजी नगर्नेलाई चाहिँ कसले कारबाही गर्छ? ,उनले भने।

उनले राज्यले विद्यार्थीहरूको ट्रयाकिङ गर्नुपर्ने बताए। ‘कुनै कुनै राज्यको नीति राम्रो छ, जस्तो दिवा खाजा, निःशुल्क प्याडको व्यवस्था, तेलको व्यवस्था गरिरहेको छ’, उनले भने, ‘यो राम्रो छ,अझै विद्यालय व्यवस्थापन, विद्यालय, स्थानीय तह, शिक्षा एकाइ सबैले विद्यार्थीको अनुगमन गरेर किन पढाइ छाडे भनेर कारण पत्ता लगाएर उनीहरूको पीर मर्का बुझिदिए यस्तो समस्या दोहोरिने थिएन।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.