|

हेटौँडा : बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले चालु आर्थिक वर्षमा ६ हजार ८९५ लक्षित परिवारको स्वास्थ्य बिमा गरिदिएको छ।

मन्त्रालयले स्वास्थ्य बिमावापत २ करोड ३४ लाख १५ हजार ९५० रुपैयाँ बिमाशुल्क तिरिदिएको हो। प्रदेश सरकारले प्रदेशका १३ वटै जिल्लाका सीमान्तकृत, लोपोन्मुख, आश्रममा आश्रित, ‘क’ र ‘ख’ वर्गका अशक्त र स्वास्थ्य स्वयमसेविकाको बिमावापत शुल्क भुक्तानी गरिदिएको हो।

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार बिमा शुल्कवापत काठमाडौँका १५५ परिवारको ३५ लाख ७ हजार ७ सय, भक्तपुरका ३५ परिवारको १ लाख २ हजार ९५०, ललितपुरका ५५० परिवारको १८ लाख ७ हजार ७५०, काभ्रेपलाञ्चोकका ७२० परिवारको २४ लाख ७२ हजार ५०, नुवाकोटका ५७३ परिवारको १५ लाख ९९ हजार ३३५०, रसुवाका १८१ परिवारको ५ लाख १५ हजार २ सय र रामेछापका ३१९ परिवारको १० लाख ४३ हजार रुपैयाँ भुक्तानी गरिएको छ।

धादिङका ५९१ परिवारको २१ लाख ५२ हजार १५०, मकवानपुरका १०१ परिवारको ४ लाख १० हजार ५५०, दोलखाका २७४ परिवारको ९ लाख १६ हजार ५०, सिन्धुपाल्चोकका १ हजार ३१४ परिवारको ४६ लाख २२ हजार ८ सय, सिन्धुलीका ४७९ परिवारको १५ लाख ७७ हजार ४ सय र चितवनका १ हजार ६०३ परिवारको ५८ लाख ३८ हजार रुपैयाँ बिमा शुल्क भुक्तानी गरिएको छ।

तथ्यांकअनुसार १३ वटै जिल्लामध्ये सबैभन्दा बढी चितवन जिल्लाका लागि बिमा शुल्कवापत भुक्तानी भएको छ।

महिला स्वास्थ्य स्वयमसेविका १०४, अशक्त ३७७ र अतिसीमान्तकृत १ हजार १२२ गरी १ हजार ६०३ परिवारको बिमा शुल्कवापत ५८ लाख ३८ हजार रुपैयाँ भुक्तानी गरिएको छ।

प्रदेशका स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठले अघिल्लो पटक मन्त्री हुँदा निर्णय भएबमोजिम स्वास्थ्य बिमा शुरुवात गरिएको बताए। पुनः स्वास्थ्यमन्त्रीको पदभार ग्रहण गरेकै दिन निर्णय गरेर स्वास्थ्य बिमा शुरु गरेको मन्त्री श्रेष्ठले बताए।

अतिविपन्नको छनोट वडाको सिफारिश र बिमा अभिकर्तामार्फत गरिएको मन्त्री श्रेष्ठले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.