काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलको बैठकले अलोकतान्त्रिक र संसदीय मूल्य मान्यताका विरुद्धमा कार्य नगर्न सरकारलाई चेतावनी दिएको छ। आइतबार संसद भवनस्थित ल्होत्से हलमा बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रमुख सचेतक रमेश लेखकले सरकारले अर्को अधिवेशन बजेट अधवेशनका लागि पर्याप्त समय हुँदाहुँदै अप्रत्याशित र असामयिक रुपले संघीय संसदको चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेकोतर्फ नेपाली कांग्रेसको ध्यान गम्भीर रुपले आकृष्ट भएको बताए।
उनले संघीय संसदमा सबै विपक्षी दलहरुले आम नागरिकसँग प्रत्यक्ष सरोकार भएको सहकारीमा वचत भएको रकम हिनामिना, अपचलन, दुरुपयोग र ठगि भएको विषय उठाउँदै आए पनि सरकारले बेवास्ता गरेको बताए।
उनले सरकारमा रहेका बहालवाला मन्त्रीसमेत संलग्न रहेको हुँदा स्वतन्त्र, निष्पक्ष र विश्वसनीय छानबिनको सुनिश्चितताका निम्ति संसदीय छानबिन समिति गठन गर्नुपर्ने विषयमा सरकारलाई विपक्षीको मागप्रति गम्भीर हुन सत्तापक्षकै सांसदहरुले आग्रह गरेपनि सरकारले बेवास्ता गरेको बताए।
उनले सरकारले सदनमा बहुसंख्यक सदस्यहरुले उठाएको विषयबारे गम्भीर, सार्थक संवाद गरी निस्कर्षमा पुग्नुपर्नेमा जनताको सरोकारको विषयमा बेवास्ता गर्दै संसदबाट भाग्ने काम गरेको आरोप लगाए। उनले सरकार संसदप्रति उत्तरदायी हुनुपर्ने, जवाफदेही ढंगले प्रश्तुत हुनुपर्ने, संसदीय मूल्य मान्यताका बर्खिलाप संसदीय अभ्यासमा आघात गर्ने र प्रकारान्तरले संसदीय व्यवस्थालाई कमजोर बनाउने हर्कत गरेको बताए।
उनले प्रतिपक्षको अवरोधका कारण संसद चल्न नसकेको भनी सत्तापक्षबाट हुने गरेका तर्क हाँस्यास्पद र लज्जास्पद भएको टिप्पणी गरे। उनले नेपाली काँग्रेसले एक महिनादेखि सहकारी ठगीमा सरकारका उपप्रधान एवं गृहमन्त्रीको संलग्नताको विषय तथ्य र प्रमाणसहित उठाउँदै आएको तर संसदका कुनै पनि काम कारबाही अवरोध नगरेको जिकिर गरे।
उनले सरकारको अपरिपक्वता, गैर जिम्मेवारी र तानाशाही प्रवृत्तिका कारण दुई दिन संसद अवरोध भएको र त्यसको जिम्मेवारी सरकारले लिनुपर्ने बताए। उनले नेपाली काँग्रेस संसदीय दलको यो बैठक जनताका प्रत्यक्ष सरोकारका विषयमा गैरजिम्मेवार हुँदै संघीय संसदको चालु अधिवेशन अन्त्य गर्ने सरकारको सरकारको निर्णयको घोर भत्र्सना र निन्दा गर्ने निर्णय गरेको बताए।
कांग्रेस संसदीय दलको बैठकले नयाँ वर्ष २०८१ को अवसरमा शुभकामना व्यक्त गर्ने निर्णय गरेको पनि प्रमुख सचेतक लेखकले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।