‘कांग्रेसले ०८१ सालमा बालुवाटार र सिंहदरबारतिर च्याउनै हुँदैन’

|

काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेप्रति लक्षित गर्दै आफू नेता हुनासाथ, प्रधानमन्त्री र मन्त्री हुनासाथ सबै काम जादुगर झैँ गर्न सक्छु भन्ने भ्रमबाट मुक्त हुनुपर्ने बताए।

सोमवार कैलालीमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले सरकारमा नयाँ आएकाहरुले कांग्रेसले सरकार छोड्यो अब चमत्कार हुन्छ भन्ने जस्ता भ्रम छरिरहेको बताए।  

‘अहिले नयाँ आएका सरकारका साथीहरुले जताततै अब चमत्कार हुन्छ, अस्तिसम्म कांग्रेस भएकाले नभएको हो, अब कांग्रेस गयो, राम्रो हुन थाल्यो भन्ने छ‚’ उनले भने, ‘म नेता, प्रधानमन्त्री हुनासाथै, म आउनासाथै म जादुगर हो, म अब जादु गर्छु। अब म कतार, मलेशिया, सबैको स्टिकर टाँसेर नेपाल ल्याउँछु भनेर अर्को फेरि आयो।’

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका गृहमन्त्रीमाथि उनले सहकारीले ठगेको रकम फिर्ता गरेर पीडितमाथि न्याय दिनुपर्ने जिम्मेवारी पनि रहेको बताए।

उनले कांग्रेसले एक वर्ष बालुवाटार र सिंहदरबारतिर च्याउन पनि नहुने बताएका छन्। कांग्रेसले ०८१ सालमा बालुवाटार र सिंहदरबार नहेरीकन जनताको काममा मात्र ध्यान दिनुपर्ने बताए।

उनले ०८१ सालमा सरकार बनाउने खेलमा कांग्रेस लाग्न नहुने बताए। उनले एक वर्ष नेकपा एमालेसहित नेकपा माओवादी केन्द्र र अन्य नयाँ राजनीतिक दलहरुलाई सत्ता सञ्चालन गर्न दिनुपर्ने बताए।

‘२०८१ साल एक वर्ष कांग्रेसले बालुवाटारतिर हेर्दै नहेरोस्। बालुवाटार आयो कि आँखा चिम्म गरेर महाराजगञ्जतिर गइहाल्ने‚ हेर्दै नहेर्ने। सिंहदरबारतिर पनि हेर्दै नहेर्ने‚’ उनले भने‚ ‘एक वर्ष ०८१ माओवादी, एमाले साथीहरु मिलेर सरकार चलाउन दिनुस्। धेरै साथीले अर्बौं रुपैयाँ सहकारीमा लगेर जम्मा गर्नुभएको छ तर केही मानिसहरुले सहकारीको रकमको यस्तो दुरुपयोग गर्ने अवस्था बन्यो।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.