|

हेटौँडा : बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले नेकपा एकीकृत समाजवादीका एकजना मन्त्रीलाई हटाउने तयारी गरेका छन्। १२ वटा मन्त्रालय रहेको बागमती प्रदेशमा मन्त्रीको संख्या १३ पुगेपछि मुख्यमन्त्री जम्मकट्टेलले एकीकृत समाजवादीका एकजना मन्त्री हटाउने तयारी गरेका हुन्।

२० चैतमा जम्कट्टेलले सरकार विस्तारका क्रममा १३ जना मन्त्री नियुक्त गरेका थिए। विना विभागीय रहेका एकजना मन्त्री व्यवस्थापनका लागि मन्त्रालय हेरफेर गरेर एकजना मन्त्री हटाउने तयारीमा मुख्यमन्त्री छन्। 

स्रोतका अनुसार नेकपा एकीकृत समाजवादी पार्टीका एकजना मन्त्रीलाई फिर्ता बोलाएर विना विभागीय मन्त्रीलाई जिम्मेवारी दिने तयारी प्रदेश सरकारको छ।

हाल बागमती प्रदेश सरकारमा एकीकृत समाजवादीबाट कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा डा.राजेन्द्रमान श्रेष्ठ र श्रम, रोजगार तथा यातायात मन्त्रालयमा लक्ष्मण लम्साल र विना विभागीय मन्त्री रमा आले मन्त्री छन्। 

ती दुई मन्त्रीमध्ये एकजना मन्त्रीलाई सरकारबाट फिर्ता बोलाएर विना विभागीय मन्त्री आलेलाई एउटा मन्त्रालयको जिम्मेवारी दिने तयारी भएको जानकारी एक सांसदले दिए।

नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक रत्न ढकालका अनुसार बागमतीमा मन्त्रालयको संख्या भने नबढ्ने भएको छ। उनले एकजना मन्त्री फिर्ता बोलाएर भए पनि हालकै १२ वटा मन्त्रालयमात्र कायम रहने दावी गरे। 

प्रमुख सचेतक ढकालले नेकपा एकीकृत समाजवादीका तर्फबाट एकजना मन्त्री फिर्ता हुने र मन्त्रालय हेरफेर हुने सम्भावना भएको बताए।

‘मन्त्रालयको संख्या बढाउने विषयमा कुनै पनि दल सहमत छैन। हाल प्रदेशमा १२ वटा मन्त्रालय छन् र मन्त्री १३ जना‚’ उनले भने,  ‘तर मन्त्रालयको संख्या बढ्दैन एकजना मन्त्री फिर्ता बोलाएर विना विभागीय मन्त्रीलाई जिम्मेवारी दिने तयारीमा प्रदेश सरकार छ।’

सोही विषयमा सोमवार हेटौँडामा सर्वदलीय बैठक बसेको ढकालले बताए। उनका अनुसार नेकपा एकीकृत समाजवादीले भौतिक पूर्वाधार विकास मन्त्रालय , सामाजिक र खानेपानी मन्त्रालयमध्ये एकमा दावी गर्दै आएको छ। 

ती मन्त्रालयमध्ये एउटा मन्त्रालयको जिम्मेवारी विना विभागीय मन्त्री आलेलाई दिएर एकजना मन्त्री फर्ता बोलाउने तयारीमा मुख्यमन्त्री रहेको प्रमुख सचेतक ढकालले बताए।

विना विभागीय मन्त्री रमा आलेले पनि आफूलाई जिम्मेवारी दिने विषयमा मुख्यमन्त्रीसँग पटक पटक छलफल भईरहेको बताएकी छन्। उनले हालसम्म पनि कुनै मन्त्रालयको जिम्मेवारी नदिँदा काम गर्न नपाएको गुनासो पोखिन्। 

आलेले आफू यही ८ गते हेटौँडा आउने र लिखित रुपमै मुख्यमन्त्रीसँग जिम्मेवारी माग्ने बताईन्। उनले आफूलाई कुनै जिम्मेवारी नदिए पदबाट राजीनामा दिने बताएकी छन्।

एकीकृत समाजवादी पार्टी बागमती प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद शर्मा खनालले केन्द्रदेखि प्रदेशसम्म एकीकृत समाजवादीलाई अपमान गर्ने शैलीमा काम भइरहेको उनको आरोप छ। 

बागमतीका विषयमा मात्र नभएर समग्र देशभर नै एकीकृत समाजवादीलाई हेप्ने काम भएको उनले बताए। सहमतिका विषयहरू कार्यान्वयन नभए सरकारबाट फिर्ता हुन एकीकृत समाजवादी तयार रहेको उनले बताए। 

सो विषयमा वैशाख ५ गते बस्ने पार्टीको सचिवालय बैठकबाट निर्णय हुने नेता खनालले बताए। एकीकृत समाजवादीले बागमती प्रदेश सरकारका विषयमा आफ्नो स्पष्ट धारणासहित मुख्यमन्त्रीलाई जानकारी गराइसकेको उनको भनाइ छ।

एकीकृत समाजवादीले सम्मानजनक हैसियत कायम गर्न संस्थागत रुपमै मन्त्रालय विभाजन गर्न नपाइने, ३ जना मन्त्रीको उचित व्यवस्थापन गर्नुपर्ने र भौतिक पूर्वाधार विकास मन्त्रालय दिनुपर्ने माग गरेको उनले बताए। मन्त्रालयको सङ्ख्याभन्दा मन्त्री बढी भएकाले एकजना मन्त्रीको विभागीय जिम्मेवारी नतोकिएको हो। 

मुख्यमन्त्री बनेसँगै जम्कट्टेलले पूर्वमुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले बनाएका १४ वटा मन्त्रालय गाभेर ११ वटामा झारेका थिए। यसअघि कांग्रेसका रामकृष्ण चित्रकारलाई व्यवस्थापन गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित १२ वटा मन्त्रालय पुर्‍याइएको थियो। 

बागमतीमा फेरि पछिल्लो पटकको सरकार विस्तारका क्रममा मन्त्रीको संख्या १३ पुगेकाले मन्त्रालयको संख्या थपिने चर्चा पनि चलिरहेको छ।

हाल प्रदेशमा हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्य संस्कृति, पर्यटन तथा सहकारीमन्त्री, एमालेबाट संसदीय दलका नेता जगन्नाथ थपलिया आर्थिक मामिला तथा योजनामन्त्री, रामेश्वर श्रेष्ठ स्वास्थ्यमन्त्री, एकालाल श्रेष्ठ खानेपानी र केशव पोख्रेल वनमन्त्री र प्रकाश श्रेष्ठ उद्योग, प्रशासनमन्त्रीको जिम्मेवारीमा छन्।

माओवादी केन्द्रबाट युवराज दुलाल भौतिक पूर्वाधार विकासमन्त्री, कुमारी मोक्तान सामाजिक विकासमन्त्री र गंगानारायण श्रेष्ठ आन्तरिक मामिला तथा कानुनमन्त्रीको जिम्मेवारीमा छन्। 

नेकपा एकीकृत समाजवादीबाट कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा डा.राजेन्द्रमान श्रेष्ठ र श्रम, रोजगार तथा यातायात मन्त्रालयमा लक्ष्मण लम्साल र विना विभागीय मन्त्री रमा आले छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.