|

काठमाडौँ : माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी राष्ट्रिय दल नबने पनि वर्तमान सत्ता समीकरणका निम्ति यो निकै महत्त्वपूर्ण छ। केन्द्रमा सुविधाजनक बहुमतमा रहन र अधिकांश प्रदेशमा आफूअनुकूलका सरकार बनाउन नेकपा समाजवादीका साथ सत्ता समीकरण जरुरी छ। 

यति हुँदाहुँदै पनि सत्ता समीकरणका प्रमुख घटक नेकपा एमाले र माओवादी केन्द्रका नेतृत्वले नेकपा समाजवादीबाट खोसेर सुदूरपश्चिम प्रदेशको नेतृत्व नागरिक उन्मुक्ति पार्टी (नाउपा)लाई सुम्पिएका छन्। उसो त १९ चैतमा नै सुदूरपश्चिम सरकारको नेतृत्व नेकपा समाजवादीलाई दिने सहमति सत्तारुढ दलहरूबीच भएको थियो। 

तर आइतबार बालुवाटारमा भएको छलफलमा नेकपा समाजवादीले दाबी गरे पनि एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले नाउपालाई सुदूरपश्चिमको नेतृत्व थमाए। यो घटनाबाट रुष्ट बनेको समाजवादी अहिले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहितको विपक्षी गठबन्धनतिर ढल्किएको छ। जसकारण वर्तमान सत्ता समीकरण धर्मराएको छ। 

यसरी सत्ता समीकरणको भविष्य नै संकटमा पारेर सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व दिलाए पनि नाउपाले भने मिलेर लिन सकेको छैन। पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरीबीचको अन्तरकलहका कारण नाउपाले मिलेर मुख्यमन्त्री लिन नसकेको हो। यसलाई कतिपयले नाउपाको नालायकपनका रूपमा अर्थ्याएका छन् भने कतिले उदीयमान दलको सकिँदो कदमका रूपमा लिएका छन्।  

रञ्जिता पक्ष केन्द्रकै समीकरणमा रहेका दलहरूको समर्थनमा मुख्यमन्त्री लिनुपर्ने अडानमा छ भने रेशम पक्षको झुकाव प्रतिपक्षी कांग्रेसतिर छ। उनीहरू विभाजित भएरै आइतबार मुख्यमन्त्रीमा दाबी पेश पनि गरेका छन्। 

रञ्जिता पक्षबाट एमाले, माओवादीलगायतका समर्थनमा कैलाश चौधरीले मुख्यमन्त्रीमा दाबी पेश गरेका छन्। उनलाई माओवादीका सभामुखसहित ११, एमालेका १०, नाउपाका २ र स्वतन्त्र सांसद ताराप्रसाद जोशीको समर्थन छ। यद्यपि कैलाशले नाउपाका सबै सांसद आफ्नै पक्षका रहेको दाबी पत्रमा उल्लेख गरेका छन्। 

यसैगरी रेशम पक्षका लक्ष्मणकिशोर चौधरीले पनि दाबी पेश गरेका छन्। उनले कांग्रेसका १८, नाउपाका ५, नेकपा एसका ४ र राप्रपाका १ जना सांसदको समर्थन रहेको देखाएका छन्। 

एउटै पार्टीबाट दोहोरो दाबी परेपछि मुख्यमन्त्री नियुक्तिमा ढिलाइ भएको छ भने प्रदेश प्रमुख नजिर मियाँले आफू कानुनी परामर्शमा रहेको बताउँदै आएका छन्। 

रेशम पक्षले आफ्नो दाबी कानुनसम्मत भएको भन्दै मुख्यमन्त्री नियुक्तिमा नियतवश ढिलाइ गरिएको आरोप लगाएको छ। मुख्यमन्त्रीमा दाबी पेश गरेका लक्ष्मणकिशोर आफूले आधिकारिक दाबी पेश गरेपछि प्रदेश प्रमुख मियाँले फेरि अर्को दाबी लिनु नै गलत भएको बताउँछन्। 

‘मेरो सबै प्रक्रिया विधिसम्मत छ। मैले सबै प्रक्रिया र बहुमत पुर्‍याएर दाबी पेश गरेपछि अर्को निवेदन लिनै नहुने थियो प्रदेश प्रमुखले’, उनी भन्छन्, ‘कुन वैध हो र कुन अवैध हो त्यो ध्यान पुर्‍याउनुपर्थ्यो। यो त जानाजान नियतवश बझाउन खोजेको जस्तो देखिन्छ।’

पार्टीका एउटा (रञ्जिता) पक्ष अन्य दलको उक्साहटमा लाग्दा पार्टीमा कलह हुनुका साथै सुदूरपश्चिममा अहिलेको अवस्था निम्तिएको लक्ष्मणकिशोरको आरोप छ। उनी भन्छन्, ‘अन्य दलका केही तत्त्वले उक्साइराखेका छन्। उनीहरूकै इन्टेन्सनमा परेर उहाँहरू (रञ्जिता पक्ष)ले काम गरिरहनुभएको छ।’

संस्थापन पक्षबाट मुख्मन्त्रीमा दाबी पेश गरेका कैलाश भने पार्टीमा विधि र पद्धतिभन्दा व्यक्तिवाद हावी भएको बताउँछन्। ‘पार्टी विधि र पद्धतिमा अघि बढ्नुपर्छ भन्ने पहिल्यैदेखिको हाम्रो जोड हो’, उनी भन्छन्, ‘तर अहिले व्यक्तिवाद हावी हुँदा यस्तो अवस्था आएको हो।’

गत १९ चैतमा काठमाडौं पार्टी कार्यलयमा बसेको बैठकमा दुई पक्षबीच हात हालाहालको स्थिति बनेपछि पार्टी एक ढिक्का बनाउने उद्देश्यले संस्थापन पक्षले पनि ‘सिनियर’ भएको हैसियतले लक्ष्मणकिशोरलाई नै मुख्यमन्त्री बनाउने तयारी गरेको थियो। 

तर त्यस वेला उनले नै आफूमा मुख्यमन्त्री बन्ने योग्यता नरहेको भन्दै मन्त्री भए हुने बताएका थिए। केही दिनअघि बसेको बैठकमा समेत उनले साइकल चलाउन नजान्नेले मोटरसाइकल चलाउन नहुने उदाहरण दिँदै आफू मुख्यमन्त्री नबन्ने बताएका थिए। तर एकाएक आइतबार प्रतिक्षी दलको समर्थनमा मुख्यमन्त्री दाबी गरेपछि संस्थापन पक्ष आश्चर्यमा परेको छ। 

नाउपा संरक्षक रेशम कुनै हालतमा प्रतिपक्षी कांग्रेसँग मिलेर सरकार बनाउने पक्षमा छन्। उनले पार्टीमा किन कांग्रेसँगै सहकार्य गर्न चाहन्छन् भन्ने स्पष्ट कारण खुलाएका छैनन्। 

‘केही दिनअघि एउटा बैठक बस्यौं। त्यो बैठकमा रेशम दाइले कांग्रेसको लाइनमा हामी सरकारमा जान्छौं भने सहमत छु, होइन भने कुनै हालतमा सहमत हुन सकिँदैन भन्नुभयो’, कैलाश भन्छन्, ‘हाम्रो जिज्ञासाको कुरा त्यस्तो के कारण हो कांग्रेससँगै मिल्नुपर्ने ! त्यो स्पष्ट रूपमा भन्नुपर्‍यो नि।’ 

सुदूरपश्चिम कांग्रेसका संसदीय दलका नेता कमलबहादुर शाहसँग रेशमको पुरानो दोस्ती छ। गत निर्वाचनमा समेत रेशमले आफ्नै पार्टीका रतन थापालाई हराएर उनै शाहलाई जिताउन भूमिका खेलेको आरोप खेपेका थिए। अहिले उनै शाहसँग मिल्ने अड्डी कस्दा नाउपामा सल्केको विवादको आगो फैलिँदै गएको हो।

पार्टीको भविष्य र सहकार्यका लागि कांग्रेसको विकल्प नदेख्नुको कारणबारे जिज्ञासा राख्दा रेशमले प्रतिक्रिया दिन चाहेनन्। 

अध्यक्ष रञ्जिताले भने कुनै ठूलो प्रलोभनमा परेर रेशमसहित सुदूरपश्चिमका पाँच सांसदहरू फस्न पुगेको अनुमान लगाउँछिन्। उनी भन्छिन्, ‘आफ्नो पार्टीलाई नै ध्वस्त पारेर उहाँहरू कुनै ठूलो प्रलोभनमा फसेर ब्याक हुन नसक्ने स्थितिमा पुग्नुभएको जस्तो लाग्छ।’  

पछिल्लो केही समयदेखि रञ्जिता–रेशमबीच नै संवादहीनताको स्थिति छ। आफूले संवाद, छलफल गर्न खोज्दा संरक्षक रेशमसहितका नेताहरू सम्पर्कमा आउन नचाहेको रञ्जिता बताउँछिन्।

‘मैले निरन्तर पत्र काट्ने, फोन गर्ने, म्यासेज गर्ने गरिरहेको छु तर उहाँहरू छलफल गर्न चाहनुहुन्न। संवादमै कोही आउन चाहनुभएको छैन’, उनले भनिन्, ‘संरक्षक रेशमजी पनि अहिले सम्पर्कमा हुनुहुन्न। संवादमार्फत निष्कर्षमा पुगौँ भन्दा उहाँहरू कोही पनि सम्पर्कमा आउन चाहनुभएको छैन।’ 

अध्यक्ष रञ्जिताले पार्टी संरक्षक रेशमसँग रहेका सुदूरपश्चिमका पाँच सांसद अब पार्टीको नरहेको समेत बनाइन्। ‘अहिले उहाँहरू छुट्टिएर जानुभएको सरह हो।पार्टीको आधिकारिक अध्यक्ष म छु। सबैको भावना विचारअनुसार पार्टीले मुख्यमन्त्री पाइसकेको अवस्थामा उहाँहरूले कांग्रेससँग मिलेर अर्को मुख्यमन्त्रीको दाबी गर्नु भनेको पार्टीबाहिर रहनु हो’, उनी भन्छिन्, ‘उहाँहरू केमा फस्नुभयो‚ त्यो हामीलाई नै थाहा छैन। रेशम को आशय के हो भनेर हामीले बुझ्नै सकेनौँ।’

‘केन्द्रकै सत्ता समीकरणअनुसारको सरकार तपाईँलाई चाहिँ किन चाहिएको?’ भन्ने थाहाखबरको प्रश्नमा रञ्जिताले पार्टीको उद्देश्य, मुद्दा र एजेन्डा केही पनि कांग्रेससँग नमिल्ने बताइन्। संस्थापन पक्षबाट सुदूरपश्चिममा मुख्यमन्त्री दाबी गरेका कैलाशले पनि पार्टीको मुद्दा र उद्देश्यअनुसार केन्द्रकै सत्ता समीकरणमा रहेका दलहरूले सहयोग गरिरहेको तर्क गरे  

अध्यक्ष रञ्जिताले संरक्षक रेशम समूहलाई भाइरसको संज्ञा दिँदै पार्टी सकिनुभन्दा बरु अझ अब बन्ने दाबी गरिन्। ‘म त हाम्रो पार्टी बन्नुपर्छ र बनाउनुपर्छ भनेर नै लागेको छु र सबै साथीहरूको चाहना पनि त्यही छ’, उनी भन्छिन्, ‘तर अहिले संरक्षकज्यूसहितका साथीहरूले जुन हर्कत देखाउनुभएको छ। यही कारण पार्टी बिग्रिँदैन, सकिँदैन। नाउपाबाट एउटा थारूको छोरा मुख्यमन्त्री बनाउँछौँ भनेर बन्ने अवस्थामा आइपुग्दापुग्दै पनि उहाँहरू कांग्रेसमा विलीन हुन जानुको अर्थ उहाँहरू पार्टीको भाइरस हुनुहुन्थ्यो। अब उहाँहरू बाहिरिसक्नुभएकाले पार्टी एकदमै राम्रो बन्छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.