|

जनकपुरधाम : मर्यादा पुरुषोत्तम भगवान् श्रीरामको जन्मदिनको स्मरणमा जनकपुरधाममा रामनवमी मनाइँदै छ। हरेक वर्ष चैत शुक्ल नवमीमा मनाइने रामनवमी पर्व बुधबार श्रद्धा तथा भक्तिपूर्वक रामको पूजा आराधना गरी मनाइँदै छ। 

आज रामनवमीको अवसरमा बिहानैदेखि जनकपुरधामको राममन्दिर,जानकीमन्दिर, जनकमन्दिरमा पूजा-आराधना गर्ने श्रद्धालु भक्तजनको भीड लागेको छ। त्रेता युगमा आजकै दिन अयोध्यामा मर्यादा पुरुषोत्तम भगवान् श्रीरामको जन्म भएको रामायणमा उल्लेख रहेको श्रीराम मन्दिरका महन्त श्रीराम गिरी बताउँछन्।

प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा भगवती सीतासँग भगवान् श्रीरामको विवाहपश्चात् प्रत्येक वर्ष यो तिथिका दिन भगवान् श्रीरामको जन्मोत्सव श्रद्धा एवम् भक्तिपूर्वक मनाउने परम्परा रहिआएको कुरा श्रीराम मन्दिरका महन्त श्रीराम गिरी बताउँछन्।

आज हिन्दु धर्मावलम्बीहरू पवित्र नदी, ताल तथा कुण्डमा स्नान ध्यान गरी व्रत बस्छन्। मिथिला क्षेत्रमा रामनवमीको अझै बढी महत्त्व रहेको छ। 

भगवान् विष्णु सातौं अवतारका रूपमा अयोध्याका राजा दशरथका जेष्ठ पुत्रको रूपमा जन्म लिएका रामको विवाह मिथिलाका राजा जनककी सुपुत्री सीतासँग भएको थियो।

संसारबाट पापी तथा दुष्ट राक्षसहरूको नाश तथा पिता दशरथको आज्ञाको पालन गरी मानव जातिलाई सत्यको मार्गमा हिँड्न प्रेरणा दिएको रामायणमा उल्लेख छ। रामको सम्झनमा रामनवमी पर्व मनाइँदै आएको जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णव बताउँछन्।

जानकी मन्दिर परिसरमा मेला पनि लागेका छन्।

यो मेलामा भारतबाट समेत हजारौँ श्रद्धालु भक्तजन सहभागी भई गङ्गासागरमा स्नान गरी रामजानकी मन्दिरमा पूजा गरेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.