|

काठमाडौं : एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा साउदी अरेबियाले नेपाललाई जितका लागि ७४ रनको चुनौती दिएको छ।

ओमानको अल अमेरात क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङमा तानिएको साउदी अरेबियाले निर्धारित ८ ओभरमा ७ विकेट गुमाउँदै ७३ रन बनाएको हो।

साउदी अरेबियाका अब्दुल वाहिदले सर्वाधिक ३७ रन बनाए पनि अरूले दोहोरो अंकको स्कोर बनाउन सकेनन्।

वर्षाका कारण पिच भिजेकाले खेल सुरु हुन ढिला हुँदा २० ओभरको खेल ८ ओभरमा छोट्याइएको हो।

नेपालका करण केसी र अविनाश बोहोराले समान २/२, ललितनारायण राजवंशी र प्रतिस जिसीले समान १/१ विकेट लिए।  

यसअघि नै सेमिफाइनलमा पुगिसकेको नेपाल आज आफ्नो अपराजित यात्रा कायम राख्ने दाउमा छ।

समूह ‘ए’ मा रहेको नेपालले यसअघि खेलेको तीन वटै खेलमा जित हात पारेको छ । नेपालले पहिलो खेलमा मलेसियालाई पाँच विकेट, दोस्रो खेलमा कतारलाई ३२ रन र तेस्रो खेलमा हङकङलाई आठ विकेटले पराजित गरेको थियो।

साउदी अरेबियाले समान तीन खेलमा एकमा जित तथा दुई खेलमा हार बेहोरेको छ । यसअघि मलेसियासँग १२ रनले पराजित साउदीले हङकङलाई ५५ रनले हराएको थियो भने कतारसँग १५ रनले पराजित भएको थियो । आजको खेल जितेमा साउदी अरेबिया पनि प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाउनेछ। 

पराजित भएमा हङकङले अन्तिम चारमा स्थान बनाउनेछ। हङकङले आजै भएको खेलमा मलेसियालाई ७ विकेटले हराउँदै सेमिफाइनल प्रवेशको संभावना बलियो बनाएको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.