|

हेटौँडा : स्थानीयको तहको दोस्रो कार्यकालको पनि तीन वर्ष हुनलाग्दा हेटौँडा उपमहानगरपालिकाका चार वटा वडा कार्यालय अझै भाडाकै घरबाट सञ्चालन भइरहेका छन्।

अघिल्लो कार्यकालका जनप्रतिनिधिले सबै वडाका कार्यालय आफ्नै भवनमा राख्न भवन निर्माण गर्ने अभियान थालेका भए पनि दोस्रो कार्यकालसम्म आइपुग्दा समेत हेटौँडाका २, ५, ६ र १६ नम्बर वडा कार्यालय अझै भाडाकै घरमा बसेका हुन्। 

उपमहानगरपालिकाले वडा कार्यालयको आफ्नै भवन बनाउने भने पनि पूरा नभएकाले ४ वटा वडाका कार्यालय भाडाका घरबाटै काम गरिरहेका छन्। 

साविकका केही गाविस कार्यालय भवनमा हालका वडाको सेवा दिँदै आएका छन् भने उपमहानगरका केही वडाले भने आफ्नै भवन निर्माण गरेर ती भवनबाट सेवा दिइरहेका छन्।

हेटौँडा उपमहानगर वडा नम्बर २ को आफ्नै भवन नहुँदा भाडाको घरबाट सेवा दिइरहेको छ। २ नम्बर वडा कार्यालयले मासिक ५० हजार रुपैयाँ भाडा तिर्दै आइरहेको वडाध्यक्ष विष्णु गोपाल महर्जनले बताए।

उनले वडाका भएका जग्गा अन्य कामका लागि उपमहानगरले निर्णय गरेर दिँदा आफूहरु भने भाडाकै घरमा बस्न बाध्य भएको बताए।

१४ वैशाख २०७७ मा हेटौँडाका निवर्तमान मेयर हरिबहादुर महतले बागमती प्रदेशको सभाहल उपमहानगरले पनि प्रयोग गर्न पाउने गरी २ नम्बर वडा कार्यालयमा रहेको जग्गा दिने निर्णय गरेको थियो। 

प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सभाहल भने अलपत्र भएपछि हेटौँडाकी मेयर मिना लामाले २६ चैत २०८० मा बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयलाई सभाहल उपमहानगरकै स्वामित्वमा रहने गरी निर्माण अगाडि बढाउन सहमतिसहित पत्राचार गरेकी छन्। पत्रमा सभाहल निर्माण पूरा भएपछि उपमहानगरकै स्वामित्वमा रहने उल्लेख छ। 

यसरी हतारमा निर्णय गरेर उपमहानगरले अन्य निकायलाई जग्गा उपलब्ध गराउँदा वडा कार्यालय बनाउन वडालाई नै जग्गा नभएको वडाध्यक्ष महर्जनले बताए। 

उनका अनुसार हेटौँडा–२ स्थित सिद्धार्थ माविको केही जग्गा २ नम्बर वडा कार्यालयको पर्ने हुँदा जग्गा उपलब्ध गराउन आग्रह गर्दा पनि जग्गा उपलब्ध नगराएको उनको गुनासो छ। 

‘उपमहानगरबाट गैरजिम्मेवारीपूर्ण काम भईरहेको छ। पहिला जग्गा दिने र पछि फिर्ता लिनेजस्ता काम भईरहेको छ,’ वडाध्यक्ष महर्जनले भने, ‘त्यसकारण पनि हामीसँग वडा कार्यालयको भवन निर्माण गर्न जग्गा भएन। भएको जग्गा पनि निर्णय गरेर अन्य निकायलाई दिँदा हामी भाडाकै घरमा बस्न बाध्य भएका छौँ।’

वडा कार्यालय नै भाडा तिरेर बस्नु राम्रो नभएको उनको गुनासो छ। उनले उपमहानगरले जग्गा किनेर भए पनि वडा कार्यालयको आफ्नै भवन निर्माण गर्नुपर्ने बताए।

वडा नम्बर–१६ का वडाध्यक्ष रामकृष्ण कोइरालाले आफ्नो वडालाई उपमहानगरले बेवास्ता गरेको आरोप लगाएका छन्। उनले वडा कार्यालयको भवन निर्माण गर्न जग्गा र आवश्यक सम्पूर्ण कागजात निर्णय गरेर पठाउँदासमेत विभिन्न खालका बहाना बनाउने गरेको बताए।

‘मैले हरेक नगरसभाको बैठकमा यही विषय उठाउने गरेको छु। वडा कार्यालय भवन निर्माणका लागि जग्गासमेत छनोट गरेर पठाउँदा पनि उहाँहरुले कुनै चासो देखाउनुभएको छैन,’ वडाध्यक्ष कोइरालाले भने, ‘मेयर, उपमेयरदेखि कर्मचारीसम्मले बजेट छैन टेण्डर गर्न मिल्दैन भनेर पन्छाउने गरिएको छ।’

१६ नम्बर वडा कार्यालयले मासिक २५ हजार रुपैयाँ भाडा तिरेर सेवा दिइरहेको उनको भनाई छ। 

वडा नम्बर ६ को कार्यालयको पनि आफ्नै भवन सानो र साँघुरो हुँदा केही भवन भाडामा लिएर सेवा दिइरहेको बताए। ६ नम्बर वडाका वडाध्यक्ष विष्णुबहादुर दाहालका अनुसार ६ नम्बर वडाले तीन वटा कोठा भाडामा लिएको छ।

हेटौँडा उपमहानगरको वडा नम्बर ५ को वडा कार्यालय पनि भाडाकै घरमा संचालित छ। 

करिब ८ वटा कोठा भएको भवनबाट संचालन भईरहेको वडा कार्यालयको भाडा मासिक ३० हजार तिर्ने गरेको वडाध्यक्ष सुशील घिमिरेले बताए। 

उनका अनुसार ५ नम्बर वडा कार्यालय आफ्नै भवन निर्माण प्रकृयामा रहेको र चाँडै निर्माण शुरु हुनेछ।

हेटौँडा उपमहानगरपलिकाका प्रवक्ता सविन न्यौपानले अपेक्षाअनुसार काम गर्न नसकेको स्वीकारेका छन्। उनले सबै सरकारी कार्यालयको आफ्नै भवन हुनुपर्ने भए पनि भाडा तिरेर बस्नुपर्दा राज्यको अनावश्यक खर्च हुने गरेको बताए।

भाडाको घरबाट सेवा दिँदा सेवाग्राहीहरुलाई पनि समस्या हुने गरेको र यो विषयमा आवश्यक अध्ययन र छलफल गरेर उपमहानगरपालिका अगाडि बढ्ने प्रवक्ता न्यौपानेले बताए।

उपमहानगरपालिकाका १९ वटा वडामध्ये अघिल्लो कार्यकाल र हालको कार्यकालमा गरेर १६ वटा वडाका आफ्नै भवन भएकाले ती वडाले आफ्नै भवनबाट सेवा दिइरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.