|

काठमाडौँ : राजधानीमा जारी वीर गणेशमान सिंह टी-२० राष्ट्रिय क्रिकेटमा गण्डकी प्रदेशले मधेश प्रदेशलाई हराउँदै प्रतियोगितामा पहिलो जित पाएको छ। 

मूलपानी क्रिकेट मैदानमा आज भएको दोस्रो खेलमा गण्डकीले मधेश प्रदेशलाई ८ विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित पाएको हो। 

यस जितसँगै गण्डकीले ३ खेलमा २ अङ्क बटुलेको छ। यसअघि गण्डकी लुम्बिनीसँग ७ विकेट र बागमती प्रदेशसँग ६७ रनले पराजित भएको थियो।

पहिलो खेलमा पराजित भएको मधेशको पनि ३ खेलबाटै ४ अंक रहेको छ। मधेशले बागमतीलाई ६ विकेट र लुम्बिनीलाई २७ रनले हराएको थियो। 

आजको खेलमा मधेशले गण्डकीलाई जितको लागि १०३ रनको लक्ष्य दिएको थियो। जवाफमा गण्डकीले १६ ओभर ३ बलमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।

गण्डकीका लागि अर्जुन कुमालले सर्वाधिक ४९ रनको योगदान दिए। उनले ५१ बलमा ३ चौका र १ छक्काको मद्दतले अविजित ४९ रन बनाए। ईश्वर क्षेत्रीले ३२ रन बनाए भने दीपक डुम्रेले ११ रन जोडे। 

मधेशका लागि विशाल पटेलले १ विकेट लिए।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको मधेशले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १०२ रनको योगफल बनाएको थियो। 

उसका लागि विशाल शुस्लिंगले २४ रन बनाए भने विशाल पटेलले २२ रन जोडे। त्यसैगरी मायन यादवले १८, प्रदीप पासवानले १४ तथा अर्निको यादवले १३ रन बनाए।

गण्डकीका लागि कप्तान विपीन खत्रीले ४ विकेट लिँदा सुवास भण्डारीले २ विकेट झारे। कमल परियार र सन्दीप क्षेत्रीले १/१ विकेट लिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.