|

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले लिएको आर्थिक विकासको लक्ष्य प्राप्तिका लागि लगानीमैत्री वातावरण आवश्यक रहेको बताएका छन्। बिहीबार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)को आयोजनामा काठमाडौंमा शुरु भएको चाथो संस्करणको हिमालय हाइड्रो एक्स्पोको औपचारिक उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।

उनले ऊर्जाको उत्पादन र निर्यात बढ्दो रहनु देशका लागि खुशीको कुरा भएको बताए। उनले नेपाल सरकार र निजी क्षेत्रको सहकार्य, समन्वय र साझेदारीकै कारण नेपाललाई यो सफलता प्राप्त भएको बताए।

उनले सरकार लगानीमैत्री वातावरण निर्माणका लागि निरन्तर क्रियाशिल रहनुपर्ने बताए। उनले स्वदेशी तथा विदेशी लगानीकर्तालाई बिनाझन्झट उत्साहका साथ लगानी गर्ने वातावरण निर्माण गर्नु सरकारको दायित्व भएको बताए।

उनले संघीयतापछि मुलुकले उन्नति र समृद्धि खोजेको उल्लेख गर्दै सरकारले ऐन, कानुन, नीति निर्माणमा सहजीकरण गर्नुपर्ने बताए।

उनले भने, ‘ नेपाल सरकारले आगामी १० वर्षभित्र १० हजार मेगावाट बिजुली छिमेकी देश भारतमा निर्यात गर्नेगरी सम्झौता गरिसकेको छ। यसैगरी नेपाल सरकारले वि.सं.२०८५ भित्र १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखेको छ। यसले नेपालीलाई खुशी बनाउँछ, यसमा सरकार र निजी क्षेत्रको उत्तिकै दायित्व छ भन्ने म ठान्दछु। लक्ष्यप्राप्तिका लागि लगानीमैत्री वातावरणको आवश्यकता छ। नेपाल सरकार यस्तो वातावरण निर्माणका लागि निरन्तर क्रियाशिल रहोस् भन्ने सुझाव दिन चाहन्छु।'

राष्ट्रपति पौडेलले सरकारले गर्न लागेको लगानी सम्मेलनको पूर्वसन्ध्यामा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपालले हिमलय हाइड्रो एक्स्पो आयोजना गर्नु सराहनीय रहेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.