|

काभ्रे : धुलिखेल नगरपालिका वडा नं. १२ शंखुपाटी चौसिथ वडा कार्यालयमा सोमबार नेपाली कांग्रेसका कार्यकर्ताले ताला लगाएका छन्। स्वास्थ्य चौकीको कार्यालय सहयोगी नियुक्त गर्दा एमालेले अन्य पार्टीका कार्यकर्तामाथि विभेद गरेको र आफ्नै पार्टीका कार्यकर्तालाई मात्रै नियुक्त गरेको कांग्रेसको आरोप छ। 

वडा ईकाई समितिका सभापति महेन्द्र बहादुर लामाले भने ‘कर्मचारी नियुक्तिको विषयमा एमालले एकलौटी गरेका कारण हामीले ताला लगाएका हौं ।’ विगत एक वर्ष अगाडिदेखि दुई जनाले कार्यालय सहयोगीको रुपमा करारमा काम गर्दै आएको भएपनि पछिल्लो समयमा एमालेले आफ्नो कार्यकर्तालाई मात्रै नियुक्ति दिएको छ। पहिलादेखि दुई जनाले नै काम गर्दै आएकोमा अहिले किन एक जनालाई मात्रै गर्‍यो ?’

लामाले भने ‘कमसेकम प्रतिपक्षको कुरा पनि सुन्नुपथ्र्यो। पेलेर काम गर्‍‍यो त्यसैले हामीले ताला लगाउन बाध्य भयौं।’ त्यसरी नियुक्ति गर्ने क्रममा खुल्ला रुपमा विज्ञापन नगरी कानून विपरित कर्मचारी नियुक्त गरिएको कांग्रेसको आरोप छ। 

१२ नं. वडाका नेपाली कांग्रेसका तर्फबाट विजयी वडा सदस्य प्रविण सापकोटाले वडाको बैठकबाट निर्णय गरी कर्मचारी नियुक्ति गर्नुपर्नेमा निर्णय नै नगरी एकलौटी एमालेका कार्यकर्तालाई वडा अध्यक्षले नियुक्ति गर्न सिफारिस गरेको बताए।

‘म वडा सदस्य हुँ। त्यसरी कर्मचारी नियुक्तिको विषयमा कुनै निर्णय पनि भएको छैन र मलाई त्यस विषयमा कुनै जानकारी नै दिएको छैन,’ सापकोटाले भने, ‘विना जानकारी काम गरिरहेको कर्मचारी २ जनामा १ जनालाई निुयक्ति दिने र अर्कोलाई पन्छाउने काम किन गर्‍‍यो ?’ उनले प्रश्न गरे।

साबिक शंखु पाटीचौरको स्वास्थ्य चौकीमा कार्यालय सहयोगीको रुपमा काम गर्दै आएकी मिना तामाङले आफुले काम गर्दै आइरहेको भएपनि नियुक्ति नदिइ विभेद गरेको बताइन्। ‘संगै काम गर्दै आएको लक्ष्मी तामाङलाई नियुक्ति दिइसकेको रहेछ, मलाई चाँही काम गर्न जाने बेलामा कार्यालयमा किन आउनुभयो? नियुक्ति नै आएको छैन भनेर ईञ्चार्ज पुनम गुरुङले भन्नु भएपछि मात्रै थाहा पाएँ,'मिनाले भनिन्, ‘म फरक पार्टीको भएकै कारण निुयक्ति नदिएको हो।’

यस विषयमा प्रश्न राख्दा वडा अध्यक्ष हर्क बहादुर लामाले आफुले विभेद नगरेको बताए। ‘मैले अनमी र दुई जना कार्यालय सहयोगीको लागि भनेर तीनै जनाको सिफारिस पठाएको हुँ,’ लामाले भने, ‘मैले सिरफारिस गर्ने क्रममा कुनै भेदभाव गरेको छैन।’ कार्यालयमा ताला लागेपछि वडा कार्यालयबाट हुने सम्पूर्ण काम ठप्प भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.