|

काठमाडौं : सरकारले लापरबाहीका कारण बिरामीको मृत्यु भएमा डाक्टरलाई कारबाही गर्ने गरी ऐन ल्याउने तयारी गरेपछि नेपाल चिकित्सक संघ त्यसको विरोधमा उत्रिएको छ।

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ र नियमावली २०६९ मा उपचारको क्रममा लापरबाही ठहरिएमा क्षतिपूर्ति भराइदिने व्यवस्था भए पनि उक्त ऐनको भावना विपरीत चिकित्सकको मानमर्दन गर्न खोजिएको संघले जनाएको छ।

'मन्त्रिपरिषद्को आज बसेको बैठकले उक्त ऐनको भावना र मर्म विपरित सम्पूर्ण चिकित्सकहरुको मानमर्दन गर्ने र पेशेवर सामाजिक अपराधीहरुको मनोबल बढाउने गरी “चिकित्सकहरुबाटै क्षतिपूर्ति भराउने उद्देश्यले आवश्यक विधेयक निर्माण गर्न स्वास्थ्य मन्त्रालयलाई दिएको निर्देशन” प्रति नेपाल चिकित्सक संघ घोर भत्र्सना र निन्दा गर्दछ' महासचिव डा. लोचन श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

सोमबारको मन्त्रिपरिषद बैठकले लापरबाहीका कारण बिरामीको मृत्यु भएमा चिकित्सकबाटै क्षतिपूर्ति भराउने गरी विधेयक निर्माण गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको थियो।

संघले यो निर्णयलाई ७२ घण्टाभित्र फिर्ता नलिए नेपाल चिकित्सक संघ देशभरका सम्पूर्ण स्वास्थ्य संस्थाहरु पूर्ण रुपमा बन्द गरी निर्णायक आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएको छ। उसले आन्दोलनको लागि तयारी अवस्थामा बस्न देशभरका चिकित्सक स्वास्थ्यकर्मीहरु, संघका शाखा कार्यालयहरुलाई आग्रह समेत गरेको छ।

संघले स्वास्थ्यकर्मी तथा चिकित्सकमाथि कार्यस्थलमा शारीरिक आक्रमण हुँदा सामान्य कसुर अनुसारको सजाय व्यवस्था गरिएकोले त्यसको परिमार्जन गरी बिना धरौटी जेल चलानको प्रावधान थप गर्न पनि माग गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.