|

इलाम : लामो समयको प्रतिक्षापछि जब चर्चित गायिका मेलिना राई स्टेजमा उक्लिइन तब माइ नगरबासीले उखर्माउलो गर्मीसमेत बिर्सिए। मेलिना राईको प्रस्तुती हेर्ने र रमाउने मेसो जुराइदिएको थियो नमुना युवा समूहले।

विजया दशमीको उपलक्ष्यमा आयोजित मिनी मेलाको तेस्रो दिन बुधबार मेलिना राईको प्रस्तुती रहने थाहा पाएपछि गर्मीको प्रवाह नगरी माइ नगरपालिका–४ स्थित शुक्रबारे खेलमैदानमा ठूलै संख्यामा दर्शकहरु भेला भएका थिए।

करिव ३ घण्टाभन्दा लामो समयको प्रतिक्षापछि रातको ९ बजे ‘नमस्ते दानाबारी अनि ह्याप्पी दसैं २०७४’ भन्दै मेलिना स्टेज प्रवेश गर्दा माहोल एकाएक तात्न पुग्यो। करिब ४ घण्टाभन्दा बढी समय हिँडेर टाढाटाढाबाट मानिसहरु पहिलो पटक माइ नगरपालिकामा मेलिना राईको प्रस्तुती हेर्न भेला भएका थिए।

स्टेजमा प्रवेशसँगै मेलिनाले चलचित्र नोभेम्बर रेनको गित ‘सपना सजाएँ, रहर जगाएँ....’ गीत गाइन्। त्यसलगतै ‘तिम्ले बाटो फेर्यौ अरे, अर्कैलाई हेर्यौ अरे....’ गाएकी मेलिनाले ‘छलछल छल्क्यो पानी, पानी झैँ छल्क्यो जवानी...’ गीत गाउँदै दर्शकलाई नचाइन्। मेलिनाले ‘शिरैमा शिरबन्दी, कानैमा मेरो झुम्का...’ बोलको गीत गाउँदा दर्शकहरुले पनि संगै गाएर उनलाई साथ दिएका थिए।

साथै उनले ग्याङस्टार ब्लुजको ‘मनको के हुन्न डर...’ बोलको गीत पनि दुई लाइन गुनगुनाएकी थिइन्। माहोल निकै उत्साहित थियो, त्यसैक्रममा मेलिनाले ‘छपक्कै फूल फूल्यो बोटैमा, मुसुक्क लाली त्यो ओठैमा..’ र चलचित्र दुई रुपैयाँको ‘कुटुमा कुटु सुपारी दाना..’ गाउँदै प्रस्तुती टुंग्याइन्। ‘म त अल्छी छु, फेरि भोलि दिनैभरी सुतिदिन्छु नि!’ भन्दै उनले प्रस्तुतीलाई बिट मारेकी थिइन्। दसैंको बीचमा चर्चित गायिकाको प्रस्तुतीले दर्शकलाई भरपुर मनोरञ्जन दिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.