|

बैतडीः बैतडीमा आइतबार सम्पन्न मतदानपछि मतपेटिकाहरू सदरमुकाम ल्याइएको छ। जिल्लाका १८२ मतदान केन्द्रबाट ल्याइएका मतपेटिका मतदान अधिकृतलगायत कर्मचारीहरूले मुख्य निर्वाचन अधिकृतलाई बुझाएका हुन्। 

मतपेटिका ओसार्ने क्रममा कुनै किसिमको सुरक्षा चुनौती नआएको प्रहरीले जनाएको छ। जिल्लाका नजिकका ठाउँबाट आइतबार राती नै मतपेटिका ल्याइएको हो भने टाढाका मतदान केन्द्रबाट सोमबार साँझ मात्रै मतपेटिका आइपुगेका हुन्। 

जिल्लाको सिगास गाउँपालिकाबाट सोमबार साँझ मात्रै मतपेटिका सदरमुकाम पुगेको हो। विकटका मतपेटिकाहरू दशरथचन्द नगरपालिकाको कार्यालयमा भण्डारण गरिएको बताइएको छ। 

सर्वपक्षीय बैठक बसेर मतपेटिका भण्डारण तथा मतपेटिकाको सुरक्षाका विषयमा सहमति भएको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले बताए। मतपेटिकाको सुरक्षा नेपाल प्रहरीले गर्ने उनले जानकारी दिए। ‘राजनीतिक दलका प्रतिनिधिहरूसँग छलफल गरेर दशरथचन्द नगरपालिका कार्यालयमा राख्ने सहमति भयो’, प्रमुख जिल्ला अधिकरी जोशीले भने, ‘मतगणना पनि नगरपालिकाकै हलमा गरिनेछ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.