|

काठमाडौं: प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पराजय भोगेको नेपाली कांग्रेसको पराजयको दोष पार्टी नेतृत्वमाथि थोपर्न नहुने भ्रातृ संस्थाका प्रमुखहरूले निष्कर्ष निकालेका छन्।

कांग्रेसका आधा दर्जन बढी भ्रातृ र शुभेच्छुक संस्थाका प्रमुखहरूको बुधबार दिउँसो काठमाडौंमा बसेको बैठकले निर्वाचन मत परिणामलाई लिएर नेतृत्व परिवर्तन नहुने निचोड निकालेको हो। ‘कांग्रेस विधिसम्मत ढंगले चल्ने पार्टी हो, कसैले जा भन्यो भन्दैमा नेतृत्व परिवर्तन हुँदैन’, नेपाल महिला संघकी सभापति उमा रेग्मीले भनिन्, ‘नेतृत्व परिवर्तन गर्न विधि र पद्धति छन् भन्ने बुझ्नुपर्छ।’

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टी पराजित हुनुको जिम्मेवारी पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले लिनुपर्ने भनेर केन्द्रीय सदस्यहरूले दबाब दिइरहेका बेला काठमाडौंमा भएको भ्रातृ संस्थाका प्रमुख र पदाधिकारी बैठकले भने सभापति देउवाको बचाउ गरेको हो। बैठकमा सहभागी सबैजसो देउवा निकट थिए। कांग्रेसले प्रतिनिधिसभाको प्रत्यक्षतर्फको १६५ स्थानमा भएको निर्वाचनमा २३ स्थानमा मात्र जितेको थियो।

छलफलले पार्टीको गाउँ इकाइदेखि केन्द्रीय सभापति र संसदीय बोर्डसमेतले पार्टी पराजय हुनुको सामूहिक जिम्मेवारी लिनुपर्ने निष्कर्ष निकालेको नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले बताए। ‘निर्वाचनमा पार्टीले सफलता प्राप्त नगर्नुका कारणको खोजी गरी सबैले कमजोरीलाई सुधार गर्नुपर्छ’, अध्यक्ष महरले भने, ‘व्यक्ति विशेषलाई दोष थोपरेर पार्टी नेतृत्वलाई खुइल्याउन पाइँदैन।’

बैठकमा भ्रातृ एवम् शुभेच्छुक संस्थाका प्रतिनिधिहरूले स्थानीय तहको निर्वाचनमा माओवादीसँग गठबन्धन गरेको भनेर आलोचना गर्ने पार्टीका केन्द्रीय सदस्यहरूले नै प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा माओवादीसँग गठबन्धन गर्न नसकेका भन्दै नेतृत्वमाथि जबर्जस्त दोष थोपरेको तर्क गरेका थिए।

बैठकमा सहभागी अधिकांशले पार्टीको पराजयमा नेतृत्वको हुर्मत लिने, खुइल्याउने, दोष थोपर्ने, लाञ्छना लगाउने र पार्टी सभापति देउवालाई कमजोर पार्ने षड्यन्त्र भइरहेको बताएका थिए। उनीहरूले पार्टी सभापति (देउवा) लाई दोष थोपर्नुको सट्टा आगामी दिनमा पार्टीलाई कसरी सुदृढ र शक्तिशाली बनाउने भनेर समीक्षा गर्नुपर्ने खाँचो औँल्याए।

बैठकले सातवटै प्रदेशमा निर्वाचनको समीक्षा गर्दै पार्टी संगठन बलियो बनाउन रणनीतिक छलफल अघि बढाउने निष्कर्ष निकालेको महरले जानकारी दिए। सहभागीहरूले वाम गठबन्धनका बाबजुद पार्टीले समानुपातिकमा उल्लेख्य मत ल्याएको, प्रत्यक्षतर्फका उम्मेदवारले लोकप्रिय मत ल्याएको र निर्वाचन सम्पन्न गरेर लोकतन्त्रलाई मजबुद बनाउन प्रधानमन्त्री सफल भएको बताए।

नेपाल महिला संघकी अध्यक्ष रेग्मीले पार्टी नेतृत्वलाई कसैले निस्की भन्दैमा पदबाट हट्न नहुने aताइन्। उनले भनिन्, ‘संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र शान्ति प्रक्रिलाई पूर्णता दिन कांग्रेसकै नेतृत्वमा संविधान जारी भएको र त्यसको कार्यान्वयन गर्न कांग्रेस नेतृत्वकै सरकारले निर्वाचन सफलतापूर्वक सम्पन्न गरेर लोकतन्त्र मजबुद बनाएको छ।’

प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फको मत परिणाम निर्वाचन आयोगले बाँडफाँट गरेर राष्ट्रियसभाको निर्वाचन सम्पन्न नभएसम्म पदबाट राजीनामा नदिन प्रधानमन्त्री देउवालाई आग्रहसमेत गरेका छन्। सहभागीहरूले पार्टी संगठनलाई मजबुद बनाउन र कमजोरी सुधार गर्न बृहत छलफलका लागि महासमिति बैठक बोलाउनुपर्ने निष्कर्ष पनि निकालेका छन्।

पार्टीका हरेक तहका नेतालाई पार्टीको कमजोरी सार्वजनिक गरेर पार्टीलाई नखुल्याउन आग्रह गर्दै पार्टी केन्द्रीय कार्यसमिति बैठक र महासमिति बैठकमार्फत् निकास खोज्नुपर्ने बैठकले निचोड निकालेको छ।

अनौपचारिक बैठकमा नेविसंघ अध्यक्ष महर, नेपाल महिला संघ अध्यक्ष रेग्मी, नेपाल शिक्षक संघका अध्यक्ष केशव निरौला, नेपाल किसान संघका महासचिव गणेश तिम्सिना, नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देललगायतको उपस्थिति थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.