हिउँदभरी भारतमा, नयाँ वर्ष लागेपछि गाउँतिर

|
झुलाघाट नाका हुँदै भारत प्रस्थान गर्न लागेका बैतडी र बझाङका स्थानीय

बैतडी : पुर्चौडी नगरपालिका वडा नम्बर ९ तल्लादेहीका जगबहादुर सार्कीले गाउँबेसी गर्दै आफ्ना सबै खेतमा गहुँ छरिसके। लाग्ने समय र मिहेनत हेर्ने हो भने खेतबारी पनि पर्याप्त नै लाग्छ। तर, त्यहाँबाट उब्जिने अन्नबालीले वर्षभरीलाई खान पुग्दैन। सोही कारण उनी मजदुरीका लागि भारततर्फ प्रस्थान गरिसकेका छन्।

जनघनत्व बढ्दै छ, तर जमिन र उब्जनी बढेको छैन। सोही कारण यस क्षेत्रका अधिकांशको गुजारा छिमेकी मुलुक भारत गएर कमाएको पैसाले चल्ने गरेको छ। बैतडीबाट भारत प्रवेश गर्ने नाका झुलाघाटमा भारततर्फ जाने नेपालीहरुको लर्को लाग्ने गरेको छ। परिवार पाल्नकै लागि विशेषगरी भारत र तेस्रो मुलुक पलायन हुनु नियति नै बनेको छ।

विकट पहाडी क्षेत्रमा वर्षभरीलाई खान पुग्ने गरी उब्जनी नहुँदा भारतीय सहरहरु दिल्ली, बैंग्लोर, सिमला र उत्तराखड तथा हिमाञ्चल प्रदेशका विभिन्न क्षेत्रमा काम गर्न जानुपरेको उनीहरु बताउँछन्। ‘खेतिपातीबाट वर्षभरी खान पुग्दैन, यता रोजगारी छैन्,’ भारत जान बैतडी सदरमुकाम गोठपापानी आइपुगेका पुर्चौडी नगरपालिका– ९ तल्लादेहीका रईभान बोहराले भने, ‘परदेश जानु हाम्रो बाध्यता छ।’

प्रदेश नम्बर ७ का पहाडी जिल्लाका नागरिक रोजगारीका लागि बैतडीको झुलाघाट, दार्चुलाको जोलजीवी, गोकुलेश्वर, कैलालीको गौरीफण्टा र कञ्चनपुरको गड्डाचौकी लगायतका नाका हुँदै भारत पस्ने गर्छन्। 

विद्यार्थीदेखि जेष्ठ नागरिकसम्म काम खोज्दै भारततिर

गहुँबाली छरेर हिउँदमा रोजगारीका लागि भारतका विभिन्न सहर पुग्ने गरेको बझाङको बित्थडचीर गाउँपालिका वडा नं. ४ का धनबहादुर बोहराले बताए। ‘परिवार पाल्नका लागि गाउँघरमा कुनै स्रोत नभएपछि बाध्य भएर भारत जानु परिरहेको हो,’ उनले भने।

झुलाघाट नाकाबाट सैयौंको संख्यामा नेपाली भारत पस्ने गरेको सीमा प्रहरी चौकी झुलाघाटका इञ्चार्ज चक्रदेव पाण्डेयले बताए। ‘दैनिक ३ सय नेपाली नागरिक भारततर्फ जाने गरेका छन्’, उनले भने, ‘विद्यार्थीदेखि ६० वर्ष माथिका वृद्धहरुसमिेत रोजगारीका लागि भारत जान्छन्।’ 

सजिलो छैन परदेशमा कमाउन

भारतमा गएर पनि काम सजिलो छैन। जोखिम पनि प्रसस्तै हुन्छ, तर परिवार पाल्न बाध्य भएर जानु परेको बझाङका ६५ वर्षीय गम्भीरे बोहरा बताउँछन्। ‘भारतमा काम गर्दा सधैँ हेपिनुपर्छ,’ उनले भने, ‘कतिपय ठाउँमा काम गरेको पैसासमेत पाइन्न।’

यस्तै अनुभव बझाङका नरेन्द्रबहादुर बोहराको पनि छ। ‘साहुको गाली, डर धम्की सहेर पनि काम गर्नुपर्छ,’ उनले भने, ‘प्रत्येक हिउँदमा कामका लागि भारत जाने र नयाँ वर्षका लागि घर फर्कने गरेका छौँ।’

काम गर्नसक्ने युवाहरु भारत पसेपछि गाउँमा महिला, बालबालिका र वृद्धवृद्धा मात्र भेछिन्छन्। युवाको अनुपस्थितिमा विकास निर्माण मात्र नभएर सामाजिक कामहरुसमेत प्रभावित हुने गरेका छन्। गाउँमा कोही मान्छे मृत्यु भए मलामी जानसमेत युवा नपाइने पुर्चौडी नगरपालिका– ८ मल्लादेहीका उत्तम साउदको भनाई छ। ‘गाउँमा महिलामात्रै हुन्छन्, पुरुष काम गर्न भारत र अन्य मुलुक गएका छन्, मलामी जानसमेत मान्छे छैनन्,’ उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.