|

वाँडेगाउँ (ललितपुर) : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो आयुको सीमा तोक्न नसके पनि राजनीतिमा पूर्ण इमान्दारिताको प्रत्याभूति दिने बताएका छन्।

नेपाली कांग्रेसका संस्थापक तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको ९४ औं जन्मोत्सवको अवसरमा शनिबार भट्टराई आश्रम ललितपुरको वाँडेगाउँमा आयोजित कार्यक्रममा ओलीले भने ‘मेरो ११ वर्षअघि मिर्गौला प्रत्यारोपण गरेकोले आयुको सीमा तोक्न सक्दिन, तर राजनीतिमा पूर्ण इमानका साथ काम गर्छु।’ उनले चुनावी प्रतिस्पर्धाबाट नेतृत्व छान्ने प्रणालीलाई स्वीकार गरेपछि पराजयलाई पनि सहज रुपमा स्वीकार्नुपर्नेमा जोड दिए।

आफ्नो स्वास्थ्यको बारेमा हुने गरेको सार्वजनिक टिप्पणीबारे ओलीले भने ‘मेरो मिर्गौला फेरेको घटना थाहा हुँदा पनि कहिले निमोनियाले र कहिले मेनेन्जाइटिसले जान लाग्यो भनेर आलोचना गरिन्छ। हो, आयुको सीमा कसैले तोक्न सक्दैन, मेरो पनि आयु एक दिन, एक महिना, एक वर्ष वा एक दशक हुनसक्छ। मेरो ज्ञान वा क्षमता असमित छ भन्न सक्दिन।’

उनले राजनीतिमा भने आफूले पूर्ण इमान्दारिताका साथ काम गर्ने प्रत्याभूति दिने बताए। ‘म भुक्तानी हुने चेक कांग्रेसलाई अहिले दिन तयार छु,’ नेपाली कांग्रेसका नेताप्रति लक्षित गर्दै ओलीले भने ‘मैले कांग्रेसलाई दिएको चेक बाउन्स हुँदैन।’ प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणामलाई लिएर कांग्रेसले बखेडा झिकेको ओलीको आरोप थियो।

कांग्रेसप्रति लक्षित गर्दै ओलीले चुनाव लड्ने प्रणालीलाई स्वीकार गर्ने तर परिणाम आएपछि स्वीकार्दिन भन्नु इमान्दाारिता नभएको टिप्पणी गरे। ‘खेलको नियम मानेर आएपछि प्रतिस्पर्धामा विपक्षीले ढालेपछि रिङ बाहिर आएर के के गरेर ढालेको हो, म मान्दिन भन्न पाइन्छ?’ ओलीले प्रश्न गरे ‘अभ्यास राम्रो गरेर कसैले जित्यो भन्दैमा यो जितलाई म मान्दिन भन्न पाइदैन, प्रतिस्पर्धामा एउटाले मात्र जित्नुपर्छ भन्ने हुदैन।’

हलो जोत्ने र गाई चराउने किसानको छोरो हुँ, कसैलाई दम्भ देखाउनु छैन

सन्त नेता कृष्णप्रसाद भट्टराईको जन्मोत्सवको कार्यक्रममा प्रमुख अतिथि बनाइएका ओलीले आफू गाउँमा जन्मिएर हलो जोतेर, कोदालो खनेर र बाख्रा, गाई, भैंसी चराएर हुर्किएको किसानको छोरो भएकोले कसैलाई दम्भ देखाउने सोचाइ नरहेको बताए। ‘म कुनै कुल घरानमा जन्मिएको व्यक्ति होइन, हलीको छोरो, हली गोठालो भएर हुर्किएको हुँ, त्यसैले मैले कसैलाई दम्भ देखाउनु जरुरी छैन।’

ओलीले किसानको छोरो भएकोले आफूमा कुनै शासकीय स्वभाव नभएको भन्दै देशको उन्नति प्रगति र समृद्धिको लागि कसैलाई दोषारोपण नगरी अघि बढ्ने स्पस्ट पारे। कांग्रेस नेता प्रदीप गिरीको भनाइको जवाफ दिदै ओलीले आफूमा राजनीतिक इमान्दारिता भएको र कुनै शासकीय स्वभाव नभएको जवाफ दिए। ओलीले किसुनजीलाई त्यागी, निष्ठावान, दृढ, राष्ट्रवादी र राजनीतिक तथा सामाजिक परिवर्तनको नेतृत्वकर्ता नेता भएको टिप्पणी गरे।

सफल प्रधानमन्त्री बन्न ओलीलाई गिरीका चार सुझाव

भट्टराई आश्रममा पुगेका ओलीलाई कांग्रेस नेता प्रदीप गिरीले भविष्यमा सरकारको नेतृत्व लिएर सफलता हासिल गर्ने हो भने चार वटा काम सम्पन्न गर्न सुझाव दिएका छन्। गिरीले भने ‘प्रमुख प्रतिपक्षी दलको नेतासँग सुमधुर सम्बन्ध राख्न सक्ने, आफू नेतृत्वको दललाई फुट्न नदिई एक ढिक्का बनाइ राख्ने, आफ्नो उत्तराधिकारी तोक्ने र १२ घण्टासम्म अध्ययन गर्न र खट्न सक्ने गुण ओलीले देखाउन सक्नुपर्छ।’

चार वटा गुण ओलीले देखाउन नसक्ने र विपक्षी दललाई मिलाएर सँगसँगै लैजान नसके ओलीले सरकारको नेतृत्व गरे पनि सफलता हासिल गर्न मुश्किल हुने ठोकुवा गरे। उनले १७ वर्षसँगै हिडेको कांग्रेसलाई एमालेले मिलाउन नसके असफल हुने दावी गरे। गिरीले एमालेका नेताले चाहेर र कांग्रेस नेताले भन्दैमा नेपालमा अधिनायकवादी आउन नसक्ने ठोकुवा गरे।

कांग्रेस पूर्वमहामन्त्री प्रकाशमान सिंहले कांग्रेसको एकजना नेता खराब भयो भन्दैमा कांग्रेस पार्टीका सबै नेता खराब भनेर दुष्प्रचार हुने गरेको गुनासो गरे। उनले भने ‘कांग्रेसको एउटा नेता खराब भयो भने कांग्रेसलाई नै दोष दिने तर राम्रो कामको प्रचार नहुने र एमालेभित्र श्रीमानश्रीमती नै सांसद हुँदा पनि विरोध हुँदैन।’ पार्टीलाई परिवारवादबाट मुक्त गर्ने किसुनजीले कार्यकर्तालाई पनि माया गर्ने सिंहले स्मरण गरे। 

इतिहासकार डा. जगमान गुरुङ, स्वामी आनन्द अरुण, पत्रकार युवराज घिमिरेले किसुनजीको आदर्शवादी, त्यागी र राष्ट्रवादी नेताको जन्मोत्सवबाट नेपालका राजनीतिज्ञले पाठ सिक्नु पर्नेमा जोड दिए। कार्यक्रममा पूर्वसभामुख दमननाथ ढुंगाना, पूर्वमन्त्री योगप्रसाद उपाध्याय, पूर्वप्रधानसेनापति रुक्माङ्गद कटवाल लगायत पनि सहभागी थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.