पथरी (मोरङ) : मोरङ–सुनसरी करिडोर क्षेत्रका खानेतेल उद्योग संकटमा परेका छन्। बजारमा 'पाम आयल' मिसाइएको तेल बिक्री हुँदै आएका कारण नेपाली तेल उद्योग धमाधम बन्द भइरहेका छन्। भारतीय बजार जोगवनीबाट आउने नक्कली तेलसँग प्रतिस्पर्धा गर्न नसक्नु पनि अर्को कारण हो।
मोरङका तेल उद्योगी श्रवण अग्रवालका अनुसार यो कोरिडोरमा दुई दर्जन तेल उद्योग बन्द भइसकेका छन्। अहिले सञ्चालन भइरहेका तेल उद्योग पूर्ण क्षमतामा सञ्चालन भएका छैनन्।
अहिले पाँचवटा तेल उद्योगमात्र सुनसरी–मोरङ औद्योगिक करिडोर क्षेत्रमा सञ्चालित छन्। भारतीय बजारमा चोरी पैठारी भएर नेपाल भित्रिने टिनको तेलले नेपालमा उत्पादित तोरीको तेललाई संकटग्रस्त बनाउँदै गएको अग्रवालको भनाइ छ। टिनको तेल पूर्णरुपमा मिसावटयुक्त हुनाले यहाँ उत्पादन भएका तेलभन्दा प्रतिलिटर झण्डै ५० रुपैयाँ सस्तो पर्छ।
चोरी पैठारी भएर आउने भारतीय तेलले एकातिर नेपालका तेल उद्योगलाई संकटमा पार्दैछ भने अर्कोतर्फ उपभोक्ताको स्वास्थ्यमा समेत असर पुर्याउने गरेको छ। तेल उद्योगका सञ्चालक देवकीनन्दन अग्रवालका अनुसार सीमावर्ती बजारबाट नेपालका विभिन्न स्थानसम्म पुग्ने पाम आयल मिसाइएको अशुद्ध तेल नियन्त्रण गर्न सरोकारवाला कसैले चासो दिएका छैनन्।
नेपालले भारतको हरियाणा, राजस्थान, युक्रेन, रुस र अष्ट्रेलियाबाट तोरी आयात गर्दै आएको छ। नेपालमा तोरी उत्पादन हुन छोडेपछि तेस्रो मुलुकबाट तोरी आयात गर्नु परेको हो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।