नेपाली अर्थतन्त्रमा कस्तो प्रभाव पर्ला?

|

काठमाडौं : आर्थिक वर्ष २०७२/७३ मा वैदेशिक रोजगारीमा जानेको संख्या उल्लेख्य रुपमा घटेको छ। वैदिशक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७२/२०७३ मा विदेश जान ४ लाख १८ हजार ७ सय १३ जनाले श्रम स्वीकृति लिएका छन्।

यसअघि आर्थिक वर्ष २०७१/७२ मा ५ लाख १२ हजार ८ सय ८७ जना तथा २०७०/७१ मा ५ लाख २६ हजार ८ सय १४ जनाले श्रम स्वीकृति लिएका थिए।

 मलेसिया ठूलो कारण 

नेपाली वैदेशिक श्रम बजारमा सन् २०१५ को सुरुवातमा मलेसियामा आएको आर्थिक मन्दीले प्रभाव परेको देखिएको छ। मलेसियामा आर्थिक मन्दी पछि विनिमय दरमा आएको गिरावट र वैदेशिक श्रमिक करको वृद्धिपछि लामो समयदेखि काम गरेका कामदार समेत फर्किएका थिए। आर्थिक वर्ष २०७१/७२ मा मलेसियाको लागि अन्तिम श्रम स्वीकृति लिने नेपाली कामदारको संख्या २ लाख २८ सय २८ थियो।  

तर आर्थिक वर्ष २०७२/७३ मा भने मलेसिया जानेको संख्यामा झण्डै चार गुणाले कमी आएको छ। यो अवधिमा जम्मा ६० हजार ९ सय ७९ जनाले मात्रै श्रम स्वीकृति लिएका छन्। जस अनुसार आर्थिक वर्ष २०७२/७३ मा नेपाली वैदेशिक श्रमबजारको हिस्सा १४ .६ प्रतिशत मात्रै अगटेको छ।

आर्थिक वर्ष २०७२/७३ मा साउदी अरब नेपाली कामदारको मुख्य गन्तव्य बनेको छ यो अवधिमा साउदीको लागि श्रम स्वीकृति लिनेको संख्या १ लाख ३८ हजार ५ सय २९ पुगेको छ। जस अनुसार नेपाली वैदेशिक श्रमवजारको ३३ दशमलव १ प्रतिशत हिस्सा साउदीले अोगटेको छ। आर्थिक वर्ष २०७१/७२ मा साउदीको लागि ९८ हजार २ सय २४ जनाले मात्रै श्रम स्वीकृत लिएका थिए भने १९.२ प्रतिशत नेपाली वैदेशिक श्रमबजारको हिस्सा अगटेको थियो।

आर्थिक वर्ष २०७२/७३ मा नेपाली वैदेशिक श्रम बजारमा क्रमशः साउदी अरबको ३३.१, कतारको ३०.०८, मलेसियाको १४.६ युएईको १२.६ प्रतिशत हिस्सा रहेको छ भने यी बाहेकका तेश्रो मुलुकले जम्मा ९  प्रतिशतको श्रम हिस्सा ओगटेका छन्।

रेमिट्यान्सको वृद्धिदरमा गिरावट

आर्थिक वर्ष २०७२/७३ मा विप्रेषण (रेमिट्यान्स) आप्रवाहको वृद्धिदरमा पनि कमी आएको छ। यो अवधिमा विप्रेषण आप्रवाह वृद्धिदर जम्मा ७.७ प्रतिशत मात्रै छ। आर्थिक वर्ष २०७१/७२ मा यो वृद्धिदर १३.६ प्रतिशत थियो।

आर्थिक वर्ष २०७२/७३ मा विप्रेषणले मुलुकको कुल ग्रार्हस्थ उत्पादनमा २९.६ प्रतिशत योगदान पुर्‍याएको छ। यो अवधिमा ६ सय ६५ अर्ब ६ करोड विप्रेषण आप्रवाह भएको छ। आर्थिक वर्ष २०७१ /७२ मा कुल ग्राहस्थ उत्पादनमा विप्रेषणको योगदान २०.१ प्रतिशत थियो।

नेपाली अर्थतन्त्रमा कस्तो प्रभाव पर्ला?

लगातार तीन वर्ष देखि वैदेशिक रोजगारीमा जाने नेपालको संख्या घट्दै गएको छ। यो अवधिमा विप्रेषण आप्रवाह नघटेता पनि वृद्धिदरमा भने उल्लेख्य कमी आएको छ। कामदरको संख्या घटेसँगै आगामी वर्षहरुमा विप्रेषण आप्रवाहमा पनि उल्लेख्य कमी आउने अर्थविदहरुको बुझाई छ।

 कुल ग्राहस्थ उत्पादमा झण्डै ३० प्रतिशतको योगदान दिएको विप्रेषण आप्रवाह घट्दा मुलुकको अर्थतन्त्र थप कमजोर बन्ने अर्थविद प्रा.डा. विश्वेम्भर प्याकुरेलको बुझाई छ। 'अझै राज्यको ध्यान श्रम बजार विस्तार र उत्पादन वृद्धि तर्फ पुगेको देखिँदैन। अझ विप्रेषण आप्रवाह घट्दा अर्थतन्त्र थप समस्यामा पर्छ' प्याकुरेलले भने।

अर्थविद् डा. चन्द्रमणि अधिकारी वैदेशिक श्रमबजारमा जाने नेपालीको संख्या घट्नु नेपाली अर्थतन्त्रको लागि चुनोतीपुर्ण हुन सक्ने बताउँछन्। 'वास्तवमा विदेश जाने कामदार घट्नु राम्रो पक्ष हो तर स्वदेशभित्र कुनै किसिमको रोजगारीको अवसर सिर्जना नभएको अवस्थामा  वैदेशिक रोजगारीमा  नेपाली कामदारको माग कम हुनु  राम्रो होइन', अधिकारीले भने।

अर्थविदहरुले श्रम बजारलाई व्यवस्थित गर्न र उत्पादन वृद्धि गर्नेतर्फ उचित कदम चाल्न सरकारलाई सुझाव दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.