|

काठमाडौं : सरकारको पछिल्ला गतिविधिविरुद्ध नेपाली कांग्रेसले नियमितजसो काठमाडौंमा प्रदर्शन गर्दै आएको छ। सरकारले जनताको भावनाविपरीत कार्य गरेको भन्दै प्रमुख प्रतिपक्षी कांग्रेसले पछिल्ला दिनयता निरन्तर संसद र सडकमा संघर्ष गर्दै आएको छ। त्यही क्रममा मंगलबार पनि नेपाली कांग्रेस काठमाडौं, ललितपुर र भक्तपुरले संयुक्त रूपमा सडक संघर्ष गरेको छ। उनीहरूले माइतिघरबाट नयाँ बानेश्वरसम्म नारा जुलुसका साथ प्रदर्शन गरेका थिए। 

सरकारले पछिल्लो समय एक दलीय शासन ल्याउन खोजेको भन्दै उनीहरूले प्रदर्शन गरेका हुन्। उनीहरूले  चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग गर्दै आमरण अनशनरत त्रिवि शिक्षण अस्पतालका वरिष्ठ डा. गोविन्द केसीको जीवनरक्षाको समेत माग गरेका थिए। 

सयौंको संख्यामा आएका कार्यकर्ताले विरोध र्‍यालीमा जुम्ला पुगेर १५औँ पटकको अनशन सुरु गरेका डा.केसीलार्इ सरकारले बल प्रयोग गरेर काठमाडौं ल्याएको भन्दै असन्तुष्टि जनाए। र्‍यालीपछि भएको सभालाई सम्‍बोधन गर्दै का‌ंग्रेस ललितपुर सभापति मदनकुमार अमात्यले आफूहरूको आन्दोलन सरकार ढाल्न नभएको बताए। 'हाम्रो आन्दोलनको उद्देश्य सरकार ढाल्न होइन',उनले भने,'हाम्रो आन्दोलन सरकारलाई सचिन सचेत गराउन हो।'

यस्तै, काठमाडौं सभापति कृष्णा बानियाँले सरकारको अधिनायकवादी चरित्रविरुद्ध कांग्रेसले जस्तोसुकै आन्दोलन गर्ने बताए। 'हामी कमजोर भएका छैनौँ', उनले भने,' सरकारको गलत कामविरुद्ध हामी जस्तोसुकै संघर्ष गर्न सडकमा उत्रन तयार हुन्छौँ। कांग्रेस जनताको पार्टी हो कांग्रेसलाई जनताको साथ छ।'

यस्तै, भक्तपुर सभापति दुर्लभ थापाले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको निर्णय उल्टाएर अहिलेको सरकारले गलत काम गरेको बताए। उनले आफूहरूले पदको लोभमा आन्दोलन नगरेको स्पष्ट पारे। 'हामीले पदको लोभमा आन्दोलन गरेका होइनौँ',उनले भने,' अहिलेको सरकार ढाल्ने हाम्रो उद्देश्य पनि होइन। तर, सरकारले जनपक्षीय काम गर्नुपर्‍यो।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.