जुटपानी (चितवन) : भित्तो लिपेको माटो उप्केको छ। बारेको बाँसका भाटा कुहिएका छन्। सामान्य बाछिँटा आउँदा पानी अंँगेनासम्म पुग्छ। जेनतेन ऋणपान गरी किनेर ल्याएको त्रिपालले रिङगै बारे पनि पानी रोक्न मुस्किल हुन्छ। त्यही पनि कुँहिन थालेको छ। छानाबाट पानी चुहिन्छ। पानी पर्दा हिलाम्मे हुन्छ।
चितवनको शक्तिखोरस्थित जुटपानी चौरको अस्थायी आश्रयस्थलमा बसेका भुकम्प पीडितको समस्या हो यो। भुकम्पपछि चितवनको विकट साविक काउले गाविसको गोछिवाङ असुरक्षित भयो भनेर उनीहरूलाई यहाँ सारिएको थियो। स्थायी बसोबासको पर्खाइमा बसेको वर्षाैं वितिसक्यो। भुकम्प पुनःनिर्माण प्राधिकरणले पुरानै गाउँ सुरक्षित छ भनेर उनीहरूलाई फर्कन भनेपछि भुकम्प प्रभावितहरू दंग परेका छन्।
'सरकारले कतै स्थायी बासस्थान बनाई देला भन्या त, पुरानै ठाउँमा पो जा भन्छ। त्यही ठाउँ पहिलो असुरक्षित भनेर हामीलाई किन ल्यायो, फेरि त्यही ठाउँ सुरक्षित भनेर किन जा भन्छ ?' एकजना भुकम्प पीडित बलबहादुर विक प्रश्न गर्छन्। २०७२ साल बैशाख १२ गते आएको भुकम्पपछि तत्कालीन प्रमुख जिल्ला अधिकारी मानबहादुर विकेको पहलमा स्थानीय प्रशासनले सबैभन्दा पहिले चितवन काउलेको गोछिवाङ गाउँका २४ घरधुरीलाई यहाँको शक्तिखोरस्थित जुटपानी (हाल कालिका नपा ८) मा सारेको थियो। उक्त गाउँका सबै घर भुकम्पले क्षति पुर्याएको थियो।
घरले थिचेर बृद्धा सुवर्णमायाँ विकको ज्यान नै गएको थियो। पहाड चिरिएको र गाउँ पछाडिको पञ्चचुलीबाट पहिरो खस्न थालेकाले बस्ती जोखिममा रहेको भन्दै तत्कालीन समयमा विपद व्यवस्थापन समितिले बस्ती सारेको हो। 'भुकम्पले गाउँका बारीका पाटामा धाँजा फाँटेको र पहाडै चिरिएको थियो' भुकम्प पीडित प्रेमबहादुर विक आश्चर्य प्रकट गरे, 'सरकारले आफैंले छानविन गरेको काम फेरि अहिले आफैं फेल खाने गरी कसरी निर्णय भयो।'
कुनै पनि हालतमा पुरानो ठाउँमा नफर्कने यहाँका २४ घर भुकम्प पीडितको अडान छ। कुनै ठाउँमा पक्की घर बनाएर सरकारले नै व्यवस्थापन गर्नुपर्ने माग राखेर उनीहरूले पटक पटक राष्ट्रिय पुननिर्माण प्राधिकरणको भरतपुरस्थित कार्यालयमा गुनासो राख्न पुगे पनि समस्या समाधान भएको छैन। यसअघिको पुननिर्माण प्राधिकरण आयोजना व्यवस्थापन कार्यालय चितवनका प्रमुख राजेन्द्र कार्की इन्जिनियरहरूले सुरक्षित बस्ती भनेर सिफारिस गरेको बताए। पुन परीक्षण गर्ने भनेर प्रस्ताव गर्दा उनीहरूले बस्तीमा फर्कने निर्णय चाहिँ नमान्ने बताएको उनकाे अनुभव छ। यसअघि सरकारले घर निर्माणका लागि दिने भनिएकाे ३ लाख अनुदान कार्यक्रमको उनीहरू हकदार भने बनेका छन्। पहिलो किस्ता बापतको ५० हजार रुपैयाँ धेरै भुकम्प पीडितहरूले लिएका छन्।
दोस्रो किस्ता लिनका लागि घरको जग बनाउनुपर्छ। अहिले कुनै काम नभएकाले उनीहरूले अरु किस्ता पाउन सकेका छैनन्। तीन लाखको हकदार चाहिँ बनी हाल्नुस् भनेर भनेपछि हामीले पहिलो किस्ता लिएका हौं। नत्र लिने थिएनौं।' बलबहादुर विक थप्छन्, 'कि घर चाहियो नत्र हामी यो ठाम छाड्दैनौं।' अर्का तेजप्रसाद विक त्यस बेला चिरिएको जग्गाअहिले सबै बाढीले पुरेको दावी गर्छन्। त्यस बेला हेर्नेलाई मात्रै पीडा थाहा हुने उनको तर्क छ। ८२ वर्षीय श्रीमायाँ विक आँखै अगाडि घरले थिचेर सुवर्णमायाँको ज्यान गएको सम्झन्छिन्। 'अहिले त्यही ठाउँ फर्केर जा भन्दा कसरी जानू' बृद्ध श्रीमायाँ दुख पोख्छिन्। उनलाई अहिले गाउँलेहरूले यहाँ बस्न दिंदैनन् अरे भनेर सुनाउँछन्। 'त्यो सुन्दा आजभोलि रुनुपर्या छ। त्यो ठाउँमा चाहिं जाँदैनौं। कसैले हल्लाएर हल्लिँदैनौं।'
अहिले जुटपानीमा रहेका २४ घर अस्थायी आश्रयस्थलमा रहेका भुकम्प पीडितहरू मध्ये केही आरन चलाएर जीविकोपार्जन गर्छन्। केही विल्डिङको काम गर्छन्। केही ज्याला मजदुरी गरेर जीवन गुजार्दै आएका छन्। चितवनमा १०२ भुकम्प पीडितहरूलाई स्थानान्तरणको निर्णय भए पनि अहिलेसम्म ५२ घर मात्रैको स्थानान्तरण प्रक्रियामा गएको छ।
राष्ट्रिय पुननिर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) कार्यालय चितवनका ईन्जिनियर सुजन नेपाल सुरक्षित स्थान भनेर आएकाले पुरानै ठाउँमा गएर घर बनाउनुको विकल्प नै नभएको बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।