|

काठमाडौं : संसदमा दर्ता भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्की विरुद्ध संसदमा दर्ता भएको महाभियोग प्रस्ताव पारित गर्न दबाव दिँदै काठमाडौंमा विद्यार्थी संगठनहरुले आइतबार प्रदर्शन गरेका छन्। 

बिभिन्न विद्यार्थी संगठनहरुले संयुक्त रुपमा माइतीघर मण्डलाबाट नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका हुन्। उनीहरुले 'दलहरु अघि बढ लोकमान सिंहलाई कारबाही गर, लोकमान तन्त्र चाहिदैन, विधिको शासन कायम गर, लोकमान विरुद्धको महाभियोग प्रस्ताव पारित गर, संवैधानिक सर्वोच्चता बहाली गर, सांसदहरु अघि बढ, लोकमानको सम्पत्ति छानविन गर' लगायतका नारा लगाएका थिए।

प्रदर्शनपछि आयोजित सभामा अनेरास्ववियुकी अध्यक्ष नविना लामा, नेविसंघका महान्त्री कुन्दन काफ्ले, अखिल क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपाने, मधेसी विद्यार्थी फोरम नेपाल लोकतान्त्रिकका अध्यक्ष कपिलेश्वर यादवले संबोधन गरेका थिए। विद्यार्थी नेताहरुले लोकमानका विरुद्धमा संयुक्त आन्दोलन अगाडि बढिसकेको र अब कारबाही नगरेसम्म अन्त्य नहुने उद्घोष गरे। 

लोकमानबारे विद्यार्थी नेताहरुले के के भने? 

अनेरास्वियुकी अध्यक्ष नविना लामाले लोकमान सिंह कार्कीले दुई करोड ८० लाख नेपालीले रगतसँग साटेको संविधान कुल्चेर अगाडि बढेकाले उनको विरोधमा उत्रिएको बताइन्। उनले लोकमान जस्तै पात्र नेपालमा धेरै रहेको भन्दै विद्यार्थी आन्दोलन यी सबै प्रवृत्तिको विरोधमा रहेको दावी गरिन्।  

'लोकमान पात्र मात्र हुन सक्छन्। उनका पछाडि धेरै दलाल कम्पनी, माफिया, धेरै खालका भ्रष्टाचारी व्यक्तिहरु हुन सक्छन्। त्यसकारण हामी संयुक्त विद्यार्थीहरु चुप लाग्‍ने छैनौं' उनले भनिन् 'कालाबजारीहरु, कालाधन्दाहरु, दुइ नम्बरी माफियाहरु होसियार, अब यो देशमा भ्रष्टाचारका नाइकेहरुलाई हामीले छाड्ने छैनौ।' अध्यक्ष लामाले संसदमा दर्ता भएको महाभियोग प्रस्ताव पारित नभएसम्म विद्यार्थी आन्दोलन नरोकिने बताइन्। 

नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेले विद्यार्थी आन्दोलनले लोकमान सिंह कार्कीलाई हटाएर विधिको शासन स्थापित गराउने दावी गरे। उनले लोकमानलाई हटाउने जनताको निर्णय हो भन्दै त्यसबाट बाहिर नेताहरु पनि जान नसक्ने बताए।

'राजनीतिक दललाई मात्र होइन हरेक सांसदलाई भन्‍न चाहन्छु, हामी कानुनी राज्यको पक्षमा छौ। विधि, पद्दती, लोकतन्त्रको पक्षमा छौ' उनले भने 'यदि त्यसलाई खलल पुर्‍याएर व्यक्तिवादी चरित्र हावी हुने हो भने लोकमान मात्र होइन लोकमान चरित्रकै विरोधमा आन्दोलमान लाग्‍नेछौं। अबको हाम्रो आन्दोलन महाभियोग प्रस्ताव किनारा नलाग्दासम्म जारी रहन्छ।' 

अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेले विद्यार्थीले सुरु गरेको आन्दोलन कार्कीलाई परास्त गरेर मात्र अन्त्य हुने बताए। 'लोकमानसिंह कार्कीहरु बाह्य ताकत र विगतमा आफ्ना बा, हजुरबाबाट फेरि पनि सुरक्षित हुन्छु कि भन्‍ने सोचिराखेका छन्' उनले भने ' लोकमानले पञ्‍चायती व्यवस्थाजस्तै लोकतान्त्रिक व्यवस्थालाई पनि राजाको हुकुम प्रमाङ्गीका आधारमा आफूले शासन चलाउने षड्यन्त्र गर्न खोजे, त्यसकारण आज उनी यस्तो हालतमा आइपुगेका छन्।'

न्यौपानेले लोकमानले विश्‍वविद्यालयमा नाजायज हस्तक्षेप गरेको र समानान्तर सरकार चलाउन खोजेकाले उनीमाथि कारबाही गर्नुपर्ने बताए। उनले संसद र राजनीतिक दललाई पनि खुट्टा नकमाउन आग्रह गरे। 'संसद र राजनीतिक दलहरु कहिँ न कहिँ चुके, उनीहरु लरबराए भने विद्यार्थी आन्दोलन सदा साथमा रहनेछ। कोहीपनि डराउनुपर्ने अवस्था छैन' न्यौपानेले भने 'विगतका केही घटनाहरुमा नेताहरु डग्मगाएको हामीले देखेका छौं। डग्मगाउने अवस्था छैन, आज पनि लोकमानविरुद्धको आन्दोलनको नेतृत्व गर्छ।' 

मधेसी विद्यार्थी फोरम नेपाल लोकतान्त्रिकका अध्यक्ष कपिलेश्वर यादवले लोकतन्त्रलाई सबल र मजबुत बनाउन लोकमानलाई चाँडो भन्दा चाँडो महाभियोग लगाउनुपर्ने बताए। 'महाभियोग प्रस्ताव पास गराउन व्यवस्थापिका संसदमा भएका सांसदहरुले ध्यान देउ' उनले भने 'अब भुसमा आगो लागिसक्यो संयुक्त विद्यार्थी आन्दोलन पछाडि फर्कदैन। जबसम्म महाभियोग प्रस्ताव संसदबाट पारित हुदैन तबसम्म संयुक्त विद्यार्थी आन्दोलन जारी रहन्छ।' 

संयुक्त विद्यार्थी आन्दोलनले शनिवार र आइतवार प्रमुख राजनीतिक दलका शीर्ष नेतृत्वलाई भेटेर महाभियोग प्रस्ताव कार्यान्वयन गर्न दबाब दिँदै ज्ञापन पत्र बुझाएका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.