|

जाजरकोट : इतिहास बोकेको जाजरकोट दरबार दैनिक जीर्ण बन्दै गएको छ। वि.स. १८२५ मा जाजरकोटका राजा हरि शाहले निर्माण गरेको यो दरबार दैनिक जीर्ण बन्दै गएको हो। राजा हरि शाहले निर्माण गरेको जाजरकोट दरबार कला र ऐतिहासिक महत्व दुवै दृष्टिकोणले निकै आकर्षक मानिन्छ।

हरि शाहले भक्तपुरका चर्चित कालीगढ नाक्चेको डिजाइनअनुसार रुकुमको चौरजहारीवाट स्थानीय जनतालाई इँटा बोकाएर दरबार निर्माण गर्न लगाएका थिए। तर अहिले स्थानीय जनता र सरकारी वेवास्ताका कारण यो दरबार जीर्ण बन्दै गएको छ। नेपाल एकीकरण अभियानका वेला पश्चिममा निकै शाक्तिशाली राज्यको रूपमा रहेका जाजरकोट राज्यका राजाको दरवार पुरातत्व विभागमा दर्ता भएको भए पनि यसको रेखदेख र संरक्षणमा कसैको चासो नगएको स्थानीय सरोकारवालाको गुनासो छ।

दक्षिणतिर भेरी नदी र चौरजहारीको सुन्दर दृस्य अनि उत्तरतिर कुसे पाटनको मनोरम दृस्य मात्र होइन पूर्वतिर  सिस्ने हिमाल, होलु जिउला अनि वरिपरि हरिया पहाडकाबीचमा रहेको खलंगाको पिपलडाडास्थित टाकुरोमा रहेको जाजरकोट दरबार प्राकृतिक सुन्दरताबीचमा कुरूप बन्दै गएको छ। प्रत्येकवर्ष दसैँको महानवमीका दिन दरबार र जाजरकोट राज्यको ऐतिहासिकता एवं सांस्कृतिक महत्व झल्काउने राँगो बलि हाल्ने मेला पनि पछिल्लो चरणमा ओझेल पर्दै गएको छ।

पृथ्वीनारायण शाहले शक्तिको प्रतीक मान्दै जाजरकोटका राजालाई दिएको खड्कको पूजा गर्न (राँगा)  बाेकाको बलि दिने चलन पनि हराउँदै गएको छ। सुरुमा ७ तले यो दरबार १९९० सालको भूकम्पपछि चार तलामा झरेको थियो। वरिपरि दरबारको भव्य महलबीच मा रानीले नुहाउने तलाउको अहिले नाम निशान नै छैन।दरबार प्रवशेद्वारको अगाडि रहेका दुईवटा सिंहले अगाडिका दुईखुट्टा उचालेर आक्रोश व्यक्त गरेको तस्बिर झल्किने कलात्मक गेट पनि २०३५ मा भत्किसकेको थियो। 

सरकारले २०१७ सालमा राजा रजौटाहरू उन्मूलन गरेपछि राजा बस्न छोडेको यो दरबारका सबै महत्वपूर्ण, ऐतिहासिक वस्तुहरू अहिले हराइसकेको जाजरकोटको इतिहास र सांस्कृतिक महत्व हराएको नागरिक अगुवा राजेन्द्रविक्रम शाहको भनाइ छ। विगतमा दरबारको सातौँ तलामा रहेको नारायण थानको मन्दिरका तीनवटा अति प्राचीन मूर्तिहरूमध्ये एउटा हनुमानको मूर्ति द्वन्द्वकालमा हराएको थियो भने अन्य दुईवटा मात्र रानागाउँको कालिका मन्दिर र पीपलडाँडाको गणेश मन्दिरमा सुरक्षित रहेको उनले बताए। 

शाहका अनुसार हुम्ला र चिनको बीचमा रहेको ताक्लाकोटमा विसं १९१४ मा जाजरकोटी सेनाका कमान्डर जुद्धदल शाह नेतृत्वको सेनाले आक्रमण गरी जितेका छालाको तोप र केही अन्य हतियारहरु राष्ट्रिय संग्रहालय छाउनीमा रहेको छ। अन्य ६०० थान बन्दुकहरू राजाका सन्तानले नै लिएर बेपत्ता पारेको उनको भनाइ छ। १८२५ साल माघ ५ गते भारतको मणिकर्णिका घाटमा जाजरकोटी राजा हरि शाहले गोरखाका राजा पृथ्वीनारायण शाहसँग मितेरी साइनो लगाउँदै गरेको धर्मसन्धिका वेलामा पाएका केही उपहार र दस्ताबेजहरू पनि अहिले भेट्टाउन गाह्रो भएको शाहको भनाइ छ। 

पृथ्वीनारायण शाहले शक्तिको प्रतीकको रूपमा दिएको खडग अर्थात् तरबार मात्र अहिले जगतिपुरस्थित मन्दिरमा खर्के देउताको रूपमा सुरक्षित रहेको स्थानीय पुजारी सत्यप्रसाद शर्माले बताए। जाजरकोट दरबार पुननिर्माणका लागि पुरातत्व विभागको सक्रियतामा सहरी विकास तथा भवन डिभिजन कार्यालय सुर्खेतले २७ करोडको लागत याेजना तयार पारेको जिल्ला प्रशासन कार्यालयको भनाइ छ।

भवन डिभिजन कार्यालयले दरबारको ऐतिहासिक पक्ष तथा कलात्मकता नबिग्रिने गरी बनाएको डिजाइन तथा आर्थिक योजनासहितको पुननिर्माण योजना गृह मन्त्रालयमार्फत अर्थ मन्त्रालयमा गएर रोकिएको छ। नेपाल बाइसी र चौबीसी राज्यमा विभाजित भएका वेला बाइसी राज्यअन्तर्गत निकै शक्तिशाली मानिएको जाजरकोट राज्यका संस्थापक राजा जगतसिंह मेदिनी बर्मा हुन्। उनले विसं १४५५ मा जाजरकोट राज्य स्थापना गरेका थिए। उनी पछिका राजा विजय सिंहको घोडाले मन पराएको जाजरकोट खलंगाको पीपलडाँडामा नै उनका नाति पर्ने हरि शाहले उक्त राजदरबार निर्माण गरे।

हाल जिल्ला प्रशासन कार्यालय रहेको उक्त दरवार जाजरकोटी राजा प्रकाश विक्रम शाहले २०४२ सालमा तत्कालीन जिल्ला पञ्‍चायतलाई ६० हजार रुपैयाँमा बिक्री गरेका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.