|

प्रेम गर्नेहरूका लागि समर्पित एक पागल प्रेमीको बकपत्र हो– ‘युनिका’ उपन्यास। कविता र गजल विधामा आफ्नो पहिचान बनाइसकेका कवि तथा गजलकार घनश्याम पथिकको पहिलो आख्यानात्मक कृति हो यो। ‘शहर तिम्रो भए’ र ‘भूल जिन्दगीको’ गरी दुईवटा गजलसंग्रह र ‘पहेँलो फूल र स्वप्न’  कवितासंग्रह पथिकका उपन्यासअघि नै प्रकाशित कृतिहरू हुन्। सहित्यसँगै प्राध्यापन पेसामा पनि संलग्न पथिक दमक झापाको पाथिभरा एफएम र हिमशिखर टेलिभिजनका कार्यक्रम प्रस्तोता पनि हुन्। 

बी.एन. पुस्तक संसार प्रालि प्रकाशक रहेको प्रस्तुत कृतिको सम्पादक राजकुमार बानियाँ हुन्। २०७२ सालमा प्रकाशित कृति युनिकाको मूल्य २९९ रुपैयाँ रहेको छ। काँडाको हाँगामा एउटा पहेँलो चराले केही बकिरहेको चित्रले पुस्तकको आवरणलाई सजाइदिएको छ– फाइन आर्ट सेन्टरले। जम्मा ३२ भागमा टुक्र्याइएको सिंगो उपन्यासको जम्मा पृष्ठ २५८ मात्र छ भने अन्तिमको दुई पेजमा लेखकको तर्फबाट आभार प्रकट गरिएको छ। अन्तिम कभरको भित्रपट्टि लेखकको तस्वीरसहित थोरै परिचय पनि दिइएको छ।

उपन्यासभित्र प्रवेश गर्दा उपन्यासभित्र पनि अर्को उपन्यास छ। लेखक आफू पाठक बनेर युुनिका उपन्यास पढ्दै छन्, जसलाई मदन पुरस्कार दिने घोषणा गरिएको हुन्छ। कुनै पनि कृति प्रकाशन भएको केही दिन चर्चामा रहन्छ र केही बिक्री हुन्छन् र त्यतिकै सेलाउँछन्। जब त्यो कृतिलाई कुनै चर्चित पुरस्कारबाट पुरस्कृत गरिन्छ, तब त्यसले बजार पनि लिन्छ र पाठकको संख्या पनि त्यतिकै बढ्छ। 

यस आख्यानको सुरुवातमा म पात्र एक पाठकको रूपमा प्रस्तुत छ। म पात्रले युनिका उपन्यासलाई मदन पुरस्कार घोषणा गरेकाले कृति चर्चित भएकै कारण पढ्ने निधो गर्छ र पढ्न थाल्छ।

आख्यानको मध्यभागमा युनिका र समिकको प्रेम कहानी प्रस्तुत छ। कथानकको सुरुवात पूर्वदीप्ति पद्धतिमा रचना गरिएको छ र अठ्ठाइस भागपछि पुनः शृखंलाबद्ध भएर आख्यान अगाडि बढेको छ। यसरी हेर्दा मिस्रित ढाँचामा यस उपन्यासको रचना गरिएको देखिन्छ। मूल कथा मध्यभागमै रहेको छ। माया गर्नेहरूका लागि समर्पित भन्नेवित्तिकै यस कृति प्रेमकथामा आधारित हो भनेर सजिलै बुझ्न सकिन्छ। साठीको दशकमा, जतिबेला अहिलेको जस्तो सामाजिक संजालको विकास त्यति धेरै नभएको र मोबाइलको माध्यामबाट प्रेमी र प्रेमिकाबीच भएका म्यासेज आदान–प्रदान र फोन वार्ताको संवादले तत्कालीन समयको अवस्था आख्यानमा  प्रतिविम्बित पनि छ। 

प्रेमको आरोह अवरोहलाई शृखंलाबद्ध ढंगले अगाडि बढाएका छन् लेखकले। आख्यानको बीचबीचमा प्रसंगअनुसार आफ्नो गजलकार व्यक्तित्व पनि घुसाएका छन्– गजलका शेरहरू उल्लेख गरेर। मिलन र बिछोडको क्षणलाई लेखकले पाठकलाई पनि खुसी र दुखी बनाउने गरी प्रस्तुत गरेका छन्। 

अन्तिम भागमा आख्यान पढिरहेका म पात्रको आफ्नै प्रेमकहानी चर्चित उपन्यास भएको र त्यसको वास्तविक लेखक समिककै साथी भएको तर अर्कैले फाइदा लिएको कुरासँगै युनिकाको आख्यान सकिन्छ। 

उपन्यासमा युनिका प्रमुख नारी पात्रको रूपमा छन् भने समिक प्रमुख पुरुष पात्रको रूपमा छन्। उनीहरूको तीन पटकसम्म प्रेम जोडिँदै, टुट्दै गर्छ। तेस्रो पटकसम्म प्रेम टुटेपछि समिक राजधानी छाडेर झापा पुग्छन् र झापामै व्यवस्थित जीवन बिताउन थाल्छन्। युनिका र समिकको बीचमा कहिले खलपात्र, कहिले सत्पात्रको रूपमा कान्छो (युनिकाकी बहिनी) उपस्थित भएकी देखिन्छ। झापा गएपछि पुनः एक पटक युनिकाको र समिकको प्रेम मौलाउँछ। विहे गर्ने तयारीसम्म पुग्छन् र विवाहका लागि बाबुले स्वीकृति नदिएपछि फेरि प्रेम टुट्छ।

यसरी मिलन र बिछोडको आरोह अवरोहलाई दुवै पात्रले परिस्थितिसँगै स्वीकार्दै गएको देखिन्छ। अन्त्यमा समिक आफ्नो प्रेम प्राप्तिका लागि अन्तिम लडाइँ लड्नक लागि काठमाडौ पुग्छन्। युनिकासँग कुरा गर्न अनेक प्रयत्न गर्दा पनि सफल नभएपछि साथीको बुबामार्फत् कुरा बुझ्दा युनिकाको फूलमाला युनिकाले नै मनपराएको अर्को केटासँग भएको कुरासँगै आख्यानभित्रको आख्यान समाप्त हुन्छ।

अन्तिम भागमा आख्यान पढिरहेका म पात्रको आफ्नै प्रेमकहानी चर्चित उपन्यास भएको र त्यसको वास्तविक लेखक समिककै साथी भएको तर अर्कैले फाइदा लिएको कुरासँगै युनिकाको आख्यान सकिन्छ। 

मूलतः प्रथम पुरुष दृष्टिविन्दुमा लेखिएको प्रस्तुत उपन्यासको भाषाशैली अत्यन्तै सरल र संवादयुक्त छ। ‘एक पागल प्रेमीको बकपत्र’ भनेर कृतिलाई भने तापनि यहाँ समिकको मात्र एकोहोरो प्रस्तुति छैन, युनिकामार्फत नै उसका बारेमा पनि धेरै कुरा आख्यानमा समेटिएको छ भने प्रवेशमार्फत् पनि युनिकाको सोचाइलाई थोरै प्रस्तुत गर्न खोजिएको छ। तर पनि यो प्रेम कहानीमा युनिकाको तर्फबाट उसले वास्तवमा के सोच्थी? किन त्यस्तो खेल खेली? भन्ने कुरा अपूरो नै रहेकाले यो एकतर्फी अभिव्यक्तिमै सीमित रहेको छ। यहाँ लेखकले दुवै पात्रलाई न्याय गरेर प्रस्तुत गर्न नसकेको आभास हुन्छ।

यस आख्यानको परिवेश काठमाडौंको मैतीदेवी, घट्टेकुलो, कालीमाटी, कुलेश्वर, स्वयम्भु, बालाजु, गोदावरी आदि छन् भने झापाको विर्तामोड र चारआली पनि केही समेटिएको छ। काठमाडौं बसेर जागिर खाँदै पढ्ने युवाहरूको जीवनशैलीलाई पनि यस आख्यानमा उतार्न खोजिएको देखिन्छ। जीवनको सम्पूर्णताको व्याख्या नभए तापनि यस कृतिले उपन्यासको पूर्ण रूप पाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.