काठमाडौं : प्रतापजंग पाण्डे बिहान ९ बजेदेखि बेलुका ८ बजेसम्म काममा व्यस्त हुन्छन्। पारिवारिक विजनेस, व्यक्तिगत लगानी भएका विजनेस र सामूहिक लगानीमा अघि बढाइएका आयोजनाहरूले उनलाई व्यस्त बनाउँछन्। बिहान दुई घण्टा शारीरिक व्यायाम गर्नबाहेकको समय उनी काममै खटिएका हुन्छन्।
बीमा, वित्त, बैंकिङ, उत्पादनमूलक उद्योग, पर्यटन तथा व्यापार क्षेत्रमा अहिले पाण्डेको उपस्थिति रेहेको छ। तीन प्रकारका लगानीमा खोलिएका दर्जन बढी कम्पनीमा गरी झण्डै ४ हजार जनाले प्रत्यक्ष रोजगारी पाएको उनको भनाइ छ। बढी रोजगारी भने पारिवारिक लगानीका क्षेत्रमा रहेको छ।
पारिवारिक विजनेसबाहेक पाण्डेको एकल लगानी र सामूहिक (पार्टनरसीप)मा संचालन भएका आयोजनाहरूमा समेत करिव ५०० जनाले रोजगारी पाएको उनको भनाइ छ। पाण्डे भन्छन्, 'अहिलेसम्म लगानी कति पुगिसक्यो भन्ने आँकलन भने गरिएको छैन।'
कुन क्षेत्रलाई कहाँ पुर्याउने र आफ्नो पहिचान कसरी अघि बढाउने भन्ने योजना बनाउने भन्दा पनि समयसँगै अघि बढ्ने आफ्नो शैली भएको पाण्डेले सुनाए। यद्यपि, आफू सहभागी भएको क्षेत्रमा कम्तीमा वार्षिक २० प्रतिशत लगानी वृद्धि र रोजगारीको सिर्जना गर्ने लक्ष्य बोकेको बताउँछन् पाण्डे। 'समयसँगै चल्ने हो तर २० प्रतिशतको वृद्धि दर कायम गरिँदैन भने सम्बन्धित क्षेत्रमा विजनेस गर्नुको के अर्थ?', पाण्डेले भने।
पारिवारिक विजनेसबाहेक आफ्नो एकल र सामूहिक लगानी रहेका क्षेत्रमा कम्तीमा पाँच वर्षमा पाँच हजार नयाँ रोजगारी सिर्जना गर्ने सपना पाण्डेले बोकेका छन्। पारिवारिकसहित सामूहिक र एक लगानी गरी कम्तीमा आफूसम्वद्ध सबै क्षेत्रमा एक लाखले रोजगारी पाएका छन् भन्न पाउने उनको रहर छ।
उनी अहिले आइएमई इन्सुरेन्समा निर्देशन र कैलाश हेलिकोप्टर प्रालिमा प्रबन्ध निर्देशकको जिम्मेवारीमा रहेका पाण्डेले सन् १९९७ मा फिलिपिन्सबाट एमविएको पढाइसकेसँगै बैंकिङ क्षेत्रमा जागिरेको रूपमा केही वर्ष काम गरेका थिए। उनी जागिरेको रूपमा काम गरेर विजनेस शैली सिक्नका लागि बैकिङ क्षेत्रमा छिरेको बताउँछन्। एसएलसी दिएसँगै आफ्नो पारिवारिक विजनेसमा काम गरेका पाण्डे लगानीको माग बुझ्न पनि बैंकिङ क्षेत्रमा प्रवेश गर्न चाहन्थे।
'एसएलसी दिएसँगै विजनेसको काममा प्रत्यक्ष सहभागी भए एमविएको पढाइसकेकपछि बैंकिङ क्षेत्रबाट लगानी कता तानिएको छ? कहाँ कस्तो प्रतिफल हुन्छ भन्ने हिसाबले पनि बैकिङ क्षेत्रमा काम गरेँ', पाण्डेले भने। उनले आफूलाई पारिवारिक विजनेसमा पर्याप्त स्थान रहँदारहँदै पनि आफ्नो कौशल देखाउनका लागि व्यक्तिगत र सामूहिक लगानी बढाएको बताउँछन्। सामाजिक कार्यमा समेत व्यस्त रहने उनी नेपाल-फिलिपिन्स समाजको निवर्तमान अध्यक्ष हुन्।
कैलाश हेलिकोप्टर प्रालिले अहिले दुईवटा हेलिकोप्टर संचालन गरेकोमा यो संख्या बढाउने र आइटी क्षेत्रमा लगानी विस्तार गर्ने योजना उनको रहेको छ। 'पर्यटकको चापअनुसार हामीले हेलिकोप्टरको संख्या बढाउने योजना बनाएका छौँ। कुन क्षेत्रमा नाफा हुन्छ र मान्छेको चाहना देखिन्छ, त्यो क्षेत्रमा लगानी विस्तार गर्ने योजनामा छु, अबको लगानी विस्तार आइटी क्षेत्रमा रहन्छ', पाण्डेले भने।
युवा पुस्तालाई विश्वासमा लिएर काम गर्न सक्दा सफल हुन सकिने बताउँछन् उनी। श्रम शक्ति नै विजनेस फस्टाउने मूल आधार देख्छन् पाण्डे। 'कुशल व्यस्थापकको भूमिका लगानीकर्ताले गर्न सक्यो भने घाटा ब्यहोर्नुपर्दैन, श्रम शक्तिको उचित प्रयोग गर्नुपर्छ', पाण्डे भन्छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।