|

जनकपुरधाम : प्रदेश २ को अस्थायी मुकाम जनकपुरधाममा आफ्नै घर भएर पनि प्रदेशसभाबाट घरभाडा लिएका सांसदहरूले घरभाडाबापत लिएको रकम फिर्ता गर्ने भएका छन्। जनकपुरधाम तथा धनुषा र महोत्तरी आसपासमा घर रहेका प्रदेशसभा सांसदहरुले प्रदेशसभा सचिवालयबाट रकम लिएको सञ्चार माध्यममा आएपछि आलोचना खेपेको सांसदहरू घर भाडाको रकम फर्काउन सकारात्मक देखिएका हुन्।  

नेपाली कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले प्रदेशसभा सचिवालयमा आफूले बुझाएको सम्पत्ति विवरणमा आफ्नो घर जनकपुरमा भएको उल्लेख गरे पनि घरभाडाबापत रकम पठाएकोले आफूले समष्टिगत रूपमा तलब बुझ्दा घर भाडाबापतको पैसा आएको आफूलाई थाहा नभएको बताए।

समष्टिगत रूपमा तलब बुझ्दा थाहा भएन

उनले भने, ‘रकम पठाउनुअघि सचिवालयले कहिल्यै सोधेन कि जनकपुरमा बस्न मैले निजी घर प्रयोग गरेको हो कि भाडाको?'  उनले थपे, 'तलब, भत्ता, स्वकीय सचिवालयको खर्चसँगै घरभाडाबापतको रकमसमेत एकमुष्ट पठाइदिएपछि थाहा पाएनौँ नियमविपरीत मलाई सुविधा दिइरहेको छ भने त्यो रोकिनुपर्‍यो।’

अरूले पनि बुझेको देखेर बुझेँ, फिर्ता गर्न तयार छु

यसैगरी, नेकपा सांसद किशोरी साहले घरभाडाबापत प्रदेशसभा सचिवालयबाट आफूले घरभाडाबापतको रकम मासिक १५ हजार रुपैयाँ बुझिरहेको स्वीकार गरे। उनले भने, ‘आफ्नै घरमा बसेर पनि घरभाडा बापतको रकम बुझ्ने अन्य सांसदले पनि बुझिरहेका छन् मैले पनि बुझेँ। यद्दि नियम सबैमा एकैखाले लागू हुन्छ भने त्यो नियमविपरीत लिएको घरभाडा म फिर्ता गर्न तयार छु।’

तर, यता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सांसद रामचन्द्र मण्डलको फरक धारणा छ। उनले घरभाडा बापतको रकम प्रदेश राजधानीमा घर हुँदैमा लिन नहुने तर्क गलत भएको बताउँछन् उनले भने, ‘प्रदेश सरकारले माथि संघीय सरकार र तल स्थानीय सरकारसँग समन्वय गरेर अगाडि बढ्नुपर्ने कानुनी प्रावधान छ। हामी प्रदेश सांसदले १० दिन प्रदेश राजधानी, १० दिन निर्वाचन क्षेत्र र १० दिन संघीय राजधानीमा गएर बस्नुपर्ने बाध्यता छ। त्यसैले यति धेरै व्यवस्था गर्नुपर्दा जाबो घरभाडाको रकम बुझ्दैमा आलोचना गर्नु ठीक होइन।’

संसदीय दलका नेताले घरभाडाबापत मासिक १८ हजार रुपैयाँ, विपक्षी दलका नेता र सत्तापक्षका प्रमुख सचेतकलाई घरभाडबापत मासिक २० हजार, विपक्षी दलका प्रमुख सचेतक र संसदीय समितिका सभापतिहरूलाई मासिक १८ हजार, दलका प्रमुख सचेतक र सचेतकहरूलाई मासिक १६ हजार तथा अन्य सांसदहरूलाई मासिक १५ हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ।

प्रदेश २ मा सत्तापक्ष संघीय समाजवादी फोरमका सांसदहरू कौशलकुमार यादव र रामआशीष यादव, राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसदहरु सुरिता साह, जयनुल राईन, परमेश्वर साह (प्रमुख सचेतक), जानकी शरण साह, रिना यादव, नेपाली कांग्रेसका राम सरोज यादव, सरस्वति चौधरी, मञ्जुकुमारी यादव, प्रमिला दास र शिवचन्द्र चौधरी तथा नेपाल कम्युनिस्‍ट पार्टी (नेकपा) का किशोरी साह र रामचन्द्र मण्डल जनकपुरमा घर भएर पनि घरभाडाबापतको सुविधा बुझ्ने सांसदहरु हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.