|

भक्तपुर : भक्तपुरमा १६ औ शताब्दीदेखि प्रचलनमा रहेको प्रसिद्ध ङालाकेगु (माछा जात्रा) जात्रा मंगलबार रातिदेखि सुरु भएको छ। भक्तपुरको ऐतिहासिक तथा सांस्कृति महत्त्व रहेको यो जात्रा माघे संक्रान्तिको राति देवगृहबाट सूर्यमढी टोलमा लगी तान्त्रिक विधिद्वारा अष्टमात्रिका देवी देवताहरुलाई आह्वान गरी श्वेत भैरवले विधिवत् रुपमा पूजा अर्चना गरेपछि यो जात्रा सुरु गरिएको हो।

सूर्यमढीबाट सुरु गरिएको यो जात्रा क्रमशः भक्तपुर नगरका २१ ठाउँमा प्रदर्शन गरिन्छ। करिब आठ महिनाभित्र भक्तपुर नगरका सूर्यमढी, तचपाल, क्वाठण्डौ, गछेँ, दथुटोल, इनाचो, गोल्मढी, याछँे, तौमढी, तालाको, मुलाखु, गःहिटी, क्वाछँे, टिबुक्छेँ,  खौमा, इताछेँ, बालाखु, तुलाछँे, चोछँे र इच्छुमा नवदुर्गा नाच प्रदर्शन गर्दै ङालाकेगु जात्रा गरिन्छ।

यस्तै, भक्तपुरबाहिर देउपाटन, थिमी, नगदेश, बोडे, तुप्चा, मुलाकेचा, ग्रेखा, जयवागेश्वरी साँखु, श्रीखण्डपुर, दोलखा, गोकर्ण, बनेपा, धुलिखेल र पनौतीलगायतका ठाउँहरु पनि प्रदर्शन गरिन्छ।

जात्रामा खिंबाजा, तंबाजा, कंबाजा, महादेव, गणेश, इन्द्रायणी, भैरव, महाकाली, बाराही, कुमारी, गुज्यकाली, महालक्ष्मी, ब्रह्मायणी, महेश्वरी, भद्रकाली, पुजारी नकीं, बालकुमारी, दुम्ह, सिम्ह, श्वेतभैरव देवगण रहेका हुन्छन्। जात्रा अवधिभर विभिन्न हाउभाउ प्रस्तुत गर्दै थरिथरिका रसरंगहरुसहित विधिवत रुपमा नाच प्रदर्शन गरिने परम्परा छ।

किम्बदन्ती तथा शिलालेखमा उल्लेख भएअनुसार यस जात्रा लिच्छवि राजा आनन्ददेवले सुरु गरेका हुन्। भक्तपुर शहरलाई नवदुर्गा भवानीमार्फत राजधानीको शहरको रुपमा प्रतिष्ठा गर्दा सदाकाल शत्रु, विपद्, दैवीप्रकोप आदि अनिष्टकारी तत्वबाट रक्षा गर्न तथा सुख, शान्ति एवं समृद्धि फैलाउन बनमाला जातिको नेतृत्वमा तान्त्रिक देवदेवीहरुका साथ नवदुर्गा गणको ङालाकेगु नाच प्रचलनमा ल्याएको बताइन्छ।

महादेव, गणेश, भैरव, सिम्ब, बम्हायणी, महेश्वरी, कुमारी, भद्रकाली, बाराही, इन्द्रायणी, महाकाली, दुम्ब, र श्वेतभैरब गरी १३ देवगणको मुकुण्डो रहेको नवदुर्गाको यो जात्रामा विशेष गरी दुम्ब र श्वेतभैरबको मुख्य भूमिका रहेको हुन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.