|

काठमाडौं : १५औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव २०७५ मा तेस्रो दिन शनिबारसम्म सवा १० करोड रुपैयाँ बराबरको कारोबार भएको छ। शनिबारसम्म मेलामा एक लाख ८७ हजार अवलोकनकर्ताले अवलोकन गरेको आयोजकले जनाएको छ। 

नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजनामा बिहीबारदेखि राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप परिसरमा शुरु भएको मेलामा बिहीबार २० हजारले अवलोकन तथा ५० सवा करोडको कारोबार भएको छ भने शुक्रबार ५० हजारले अवलोकन तथा चार करोड रुपैयाँको कारोबार भएको बताइएको थियो। शनिबार एकै दिनमा एक लाख १७ हजारले अवलोकन गरेको र छ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले मुलुकभर छरिएर रहेका लघु, घरेलु तथा साना उद्योगको उत्पादनको बजार प्रवर्द्धन गर्न मेला सहयोगी भएको बताए। पाँच दिनसम्म चल्ने मेलामा २०५ वटा स्टल रहेका, उपत्यका बाहिरका ५२ जिल्लाका ८० उद्योगहरू सहभागी रहेको, चीन, भारत र बंगलादेश गरी ४५ वटा अन्तर्राष्ट्रिय स्टल रहेका छन्।

पाँच दिनको अवधिमा करिब चार लाख ५० हजारले अवलोकन गर्ने र झण्डै १५ करोडको कारोबार हुने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.