|

काठमाडौं: बिहीबार सुरुङ खन्ने क्रममा पहेँलो धातु भेटिएपछि मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने काम रोकिएको छ। सुरुङ खन्ने क्रममा बालुवामा पहेँलो धातु भेटिएपछि मेलम्ची खानेपानी आयोजनाले सुन हुनसक्ने आशंकामा काम स्थगित गरेको हो। २६ किलोमिटर सुरुङ मध्ये गत बिहीबारसम्म साढे २१ किलोमिटर सुरुङ खनिएको छ।  

'सुरुङ खन्दै गर्दा पहेँलो धातु फेला पर्‍यो, त्यो धातु के हो अनुसन्धान गरेर मात्रै काम अघि बढाउनुपर्‍यो। त्यसैले सम्बन्धित क्षेत्रमा सुरुङ खन्ने काम रोकिएको छ', मेलम्ची खानेपानी आयोजनाका प्रमुख घनश्‍याम भट्टराईले थाहाखबरसँग भने, 'सबै काम रोकिएको होइन, सुरुङ खन्ने काममात्र रोकिएको हो। टनेलको अन्य काम भैरहेको छ।'

बढाइयो सुरक्षा सतर्कता

सुरुङमा पहेँलो धातु भेटिएपछि सुरक्षा सतर्कता समेत बढाइएको छ। सुरुङ वरपर सम्बन्धित अधिकारीबाहेक अरुलाइ छिर्न नदिन निर्देशन दिइएको र सुरक्षा निकायसँग समेत समन्वय गरिएको सरकारी अधिकारीले बताए।

सुरक्षा सतर्कता बढाउनको लागि सर्भेलेन्स क्यामेरा राख्‍न निर्देशन दिइएको आयोजना प्रमुख भट्टराइले बताए। 'पहिला के हो पुष्टि गर्नु पर्‍यो, त्यो अवधिसम्म सुरक्षाको विषय पनि गम्भीर हो। हामीले गम्भिरताको साथ लिएका छौँ' आयोजना प्रमुख भट्टराईले बताए।

किन ढिला?

२०७४ असोजभित्र मेलम्चीको पानी काठमाडौं भित्र्याउने लक्ष्यसहित आयोजना निर्माणको कामले तिव्रता पाएको छ। 

२०७३ बैशाख १ मा काठमाडौंमा पानी ल्याउने लक्ष्यसहित २०७१ सालदेखि कामलाई तीव्रता दिइएको थियो। तर, २०७२ मा गएको भूकम्प र पछि भारतीय नाकाबन्दीको कारण इन्धन अभाव हुँदा ७/८ महिना काम अघि बढ्न सकेन।

निर्धारित समय सकिएको एक वर्षसम्म पनि आयोजना बन्न नसक्ने भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संसदको विकास समितिले आगामी दशैंसम्म काम पूरा गर्न मेलम्ची खानेपानी आयोजनालाई निर्देशन दिएका छन्।

तर आगामी असोज महिनासम्म पनि काम पूरा गर्न सक्ने नसक्नेमा मेलम्ची खानेपानी आयोजना नै स्पष्ट छैन। 'हामीले लक्ष्य अनुसार काम गर्ने प्रतिवद्धता जनाएका छौँ तर काम गर्दै जाने क्रममा के के अड्चन आउँछन् पत्तै हुँदैन। असोजमै सकिन्छ भन्न सकिँदैन' आयोजना प्रमुख भट्टराईले भने, 'अहिले पहेलो धातु भेटिएको छ यसको अनुसन्धानको क्रममा कति समय लाग्ने हो। यदि सुन नै रहेछ भने त अझ धेरै समय लाग्ने होला।' 

साढे २१ किलोमिटर सुरुङ खन्ने काम सकिएको छ भने साढे चार किलोमिटर सुरुङ खन्न अझै बाँकी छ। पानी प्रशोधनको काम भने ९५ प्रतिशत पूरा भएको मेलम्ची खानेपानी आयोजनाको प्रगति विवरणमा उल्लेख छ।

२०६५ माघ ८ गते काम सुरु गरेको चीनको सीआरसीसी कम्पनीसँग सरकारले २०६९ असोज ९ गते ठेक्का रद्द गरेको थियो। इटालियन कम्पनी सीएमसी डी राभेन्नासँग २०७१ असार ३१ मा सम्झौता गरिएको हो। गत वर्षको असोज १५ गतेदेखि एक हजार ९५ दिनभित्र आयोजना सम्पन्न गर्नुपर्नेछ।

२०६५ माघ ८ गते चिनियाँ कम्पनि सीआरसीले मेलम्ची खानेपानी आयोजना निर्माणको काम सुरु गरेको थियो। तर उसले बीचमै काम छोडेपछि सरकारले २०६९ सालमा सीआरसीसँगको सम्झौता रद्ध गरेको थियो।

२०७१ असार ३१ गते इटालियन कम्पनी राभेन्नासँग नयाँ सम्झौता गरेको थियो। रोभान्नाले २०७१ बैशाख भित्र आयोजनाको काम पूरा गर्ने सहमति गरेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.