|

रामेछाप : हाम्रो हात नेपाल प्रा.लि नामक संस्थाले रोजगारीको ग्यारेन्टी दिने भन्दै जिल्लाका १७ युवालाई  ठगी गरेको छ। युवाहरूको क्षमता हेरेर मासिक २८ हजारदेखि ३० हजार रुपैयाँसम्मको जागिर ग्यारेन्टी गरिदिने भन्दै रामेछापका १७ जनासँग प्रतिव्यक्ति १० हजार रुपैयाँका दरले पैसा उठाएर ठगी गरेको हो।

युवाहरूले रोजेको विषयमा १५ दिने तालिम दिने र तालिमसँगै रोजगारीको ग्यारेन्टी, नभए पैसा फिर्ता दिने शर्तमा युवाहरूसँग रकम असुली गरेको थियो। तर संस्थाले आफूले चाहेको जस्तो तालिम पनि नदिएको र रोजगारी पनि नदिएको ठगीमा परेका युवा खिलबहादुर थापाले बताए।

कृषि, वन, इन्स्योरेन्स, बैंक, सञ्चार, होलट व्यवसाय, व्यापार लगायत नौ वटा क्षेत्रमा युवाहरूले रोजेअनुसारको तालिम दिने र रोजगारी दिने आश्वासन दिएर आफूहरुसँग पैसा उठाएको थापाले बताए।   ‘तालिमका लागि भनेर काठमाडौंमा बोलाई काम गर्नको लागि बोल्न सिक्नुपर्छ भन्दै हेलो, नमस्ते, केछ ? यी तीन शब्द साथीहरुको अगाडि उभिएर बोल्न लगाए, केही दिनपछि तालिम सकियो भनेर पठाए उनले भने।’

शर्तअनुसारको रोजगारीको ग्यारेन्टी गर्नुपर्ने माग गर्दै आफूहरूले नियुक्तिपत्र मागेपछि चितवनको एक कृषि फर्ममा लगेर अलपत्र छोडिदिएको उनले बताए।चितवनको आर्दश एग्रो प्लान्टेसन कम्पनीमा पुर्‍याएर अलपत्र छोडिदिएपछि आफूहरू घर फर्किको उनले बताए। चितवन पुगेका १७ जना मध्ये घर आउँदा लाग्ने गाडी भाडा र खाना खर्चको लागि घरबाट पैसा मगाएर ६ जना घर फर्किए पनि अन्य गाडी भाडा समेत नभएको कारण अझै उतै रहेको उनको भनाइ छ। 

रोजगारीका लागि भन्दै चितवन जिल्ला पुर्‍याएर हाम्रो हात नेपाल प्रा.लि.रामेछापका संयोजक साम्देन शेर्पा युवालाई चिनवनको एक प्राइभेट फार्ममा छोडेर रातरात फरार भएको अर्का युवा प्रदीप श्रेष्ठले बताए। चिवनको आर्दश एग्रो प्लान्टेसन कम्पनीमा अलपत्र छोडिदिएर संस्थाको आधिकारी व्यक्ति फरार भएपछि आफूहरू ठगीमा परेको कुरा थाहा भएको उनको दाबी छ। हाम्रो हात नेपाल प्रालिले १७ जनालाई नियुक्ति पत्र पनि दिएको छ। पीडितका अनुसार 'के काम गर्ने'  नियुक्ति पत्रमा उल्लेख  छैन।

दुई वटा नियुक्ति पत्र दिएको छ, एउट नियुक्त पत्रमा सामाजिक सञ्जलाल मार्फत कर्मचारी माग भएअनुसार भनेर लेखिएको, काम र तलब उल्लेख नगरिएको पीडितले बताए। अर्को नियुक्ति पत्रमा १४ हजार रुपैयाँ तलब तोकिएको भए पनि काम उल्लेख छैन। नव प्रवर्धन सेवा समाज नामक संस्थाको नामबाट दिइएको नियुक्ति पत्रमा हाम्रो हात नेपाल प्रालिका केन्द्रीय अध्यक्ष मेघथान गिरीले हस्ताक्षर गरेका छन्।  

चितवनमा मासिक १३ हजार सात सय रुपैयाँ तलब र दैनिक एक सय रुपैयाँ भत्ताको व्यवस्था हुने साथै खाने बस्ने व्यवस्था पनि रोजगारदाता कम्पनीले व्यहोर्ने आश्वासन दिएर आफूहरुलाई चितवन लगिएको प्रदीप श्रेष्ठले बताए। तर चितवन पुर्‍याएर संस्थाका संयोजक फरार भएपछि घर आउनको लागि समेत पैसा नभएर घरबाट पैसा मगाएर आएको उनको भनाइ छ। 

गल्ती भयो : शेर्पा 

हाम्रो हात नेपाल प्रा.लि. रामेछाप शाखाका संयोजक साम्देन शेर्पाले युवाहरुलाई झुक्याउनु आफूहरूको गल्ती भएको स्वीकार गरेका छन्। आफूले केन्द्रको निर्देशन अनुसार काम गरेको पनि उनले बताए। संस्थाको केन्द्रीय अध्यक्ष मेघनाथ गिरीले युवाहरूका लागि रोजगारीको ग्यारेन्टी हुन्छ भनेपछि पैसा संकलन गरेर पठाएको केन्द्रमा पठाएको शेर्पाले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.