|

कोलम्बो : श्रीलंकाको राजधानी कोलम्बोका प्रतिष्ठित होटल एवं गिर्जाघर (चर्च)मा आइतबार भएका शृङ्खलाबद्ध विस्फोटमा मृत्यु हुनेको संख्या बढ्दै गएको छ ।अन्तराष्ट्रिय समाचार संस्था बीबीसीका अनुसार १३५ जनाको मृत्यू  भएको छ भने मृतकको संख्या १५६ जना पुगेको अलजजिरा टेलिभिजनले जनाएको छ। विस्फोटका कारण अरू सयौं व्यक्ति घाइते भएका छन्। पहिलो बिस्फोटन राजधानी कोलम्बोको सेन्ट एन्थोनी चर्च र राजधानी नजिकको सेन्ट सेबास्टियन चर्चमा भएका थिए। सेन्ट एन्थोनी बिस्फोटमा कम्तीमा २२० जना घाइते भएका र उनीहरुलाई उपचारका लागि कोलम्बो नेसनल अस्पतालमा भर्ना गरिएको छ।

 चर्चमा बिस्फोट भएलगत्तै राजधानीका तीनवटा होटलमा पनि आक्रमण भएको प्रहरीले जनाएको छ। राजधानी कोलम्बोका साङ्ग्रिला, सिनमन ग्रान्ड र किङ्सबरी होटलमा पनि बिस्फोट भएका छन्।  मुलुकको पूर्वी क्षेत्र बाट्टिकोलोवा नगरको एक चर्चमा पनि बिस्फोट भएको छ । बाट्टिकोलोवा अस्पतालका एक अधिकारीले चर्चमा भएको बिस्फोटबाट घाइते भएका तीन सय भन्दा बढीलाई अस्पतालमा भर्ना गरिएको बताएका छन्।

सामाजिक सञ्जालमा राखिएका तस्वीरहरुमा चर्चको छाना ध्वस्त भएको देखिएको छ। चर्चको भुइँ टुटेफुटेका टाइल, भाँचिएका काठपात र रगत लतपतिएको देखिएको छ। तर यी तस्वीरको प्रामाणिकता पुष्टि हुन बाँकी छ। बौद्धमार्गी बहुल श्रीलङ्कामा करिब ६ प्रतिशत क्याथोलिक सम्प्रदायका मानिस छन्। गिर्जाघरहरुमा बिस्फोट हुँदा इसाई धर्मावलम्बीहरु इस्टर पर्वका अवसरमा आयोजित धार्मिक कार्यक्रममा सहभागी रहेको बताइएको छ। यो समाचार तयार पार्दासम्म उक्त घटनाको जिम्मेवारी कसैले लिएको छैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.