प्रवक्ता डंगोल भन्छन्- दुई/चार दिनभित्र सबैको पैसा दिन्छौँ
प्रवक्ता डंगोल भन्छन्- दुई/चार दिनभित्र सबैको पैसा दिन्छौँ
काठमाडौं : काठमाडौं महानगरपालिकाभित्र प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत काम गर्ने मजदुरले पारिश्रमिक नपाएको पाइएको छ। आफूहरूले असार ९ गतेदेखि काम गरिरहेका भए पनि एकपैसा नपाएको कामदारहरूले बताएका छन्।
काठमाडौं महानगरपालिका-५ की सकुन्तला घिमिरेले भनिन्, 'अहिलेसम्म काम गरेको एक पैसा पाएका छैनौँ।' काम मात्र लगाएको तर पैसा नदिएको भन्दै उनले दुखेसो सुनाइन्।
उनले भनिन्,'देशको मात्र काम गर्ने कि काम गरेको पनि मूल्य पाउने। आफूलाई पनि केही हुन्छ र समाज बनाउन पनि पाइन्छ भन्ने थियो तर काम गरेको पैसा नपाउँदा निराश भएका छौँ।' ५ नम्बर वडाको गहनापोखरी हाँडीगाउँ क्षेत्रमा १२ जनाले टोलको सरसफाइयुक्त काम गरिरहेका छन्।
दुई/चार दिनभित्र सबैको पैसा दिन्छौँ
कामदारको पैसा दुई/चार दिनभित्र बजेट निकासी गरेर कामदारलाई दिइने काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले बताए। उनले भने, 'महानगरपालिकामा पैसा आइसकेको छ, काम पनि सकिन लागेको छ दुई/चार दिनभित्र सबै कामदारको पैसा दिन्छौँ' उनले थपे, 'काम गर्न लगाएपछि
कामदारलाई पैसा नदिने भन्ने कुरै हुँदैन तर काम गर्दै जाँदा कहिलेकाहीँ ढिलो हुनसक्छ।' कामदारहरूलाई असार २५ गतेसम्म काम लगाइने र त्यसपछि सम्पूर्ण रकम हिसाब गरेर दिइने डंगोलले स्पष्ट पारे।
प्रधानमन्त्री रोजगारमा काठमाडौं महानगरलाई एक करोड
प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि काठमाडौं महानगरलाई १ करोड बजेट विनियोजन गरिसकेको प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक भरतकुमार वलीले बताए। उनका अनुसार काम बजेट अहिलेसम्म निकासी भएको छैन। कार्यालय खर्च र कामदारका लागि खर्चसमेत दिएको छैन।
प्रधानमन्त्री रोजगार कार्यक्रम सन्तोषजनक ढंगले सञ्चालन नभएको संयोजक वलीको बुझाइ छ। कामदारलाई त समयमा पैसा दिन नसक्ने रोजगार कार्यक्रम सफल नहुने उनको भनाइ छ। वलीले भने,'महानगरनगरपालिकाका प्रमुखले हिजो मात्र पैसा पठाउनका लागि वडामा सिफारिस गरिसकेको भन्ने सुन्नमा आएको छ।'
पैसा समयमा नगएकोले केही कामदारामा गुनासो रहेको उनले स्वीकारे। २५ गते भित्रमा सबै कामदारलाई पैसा दिइसक्नुपर्ने व्यवस्था रहेको उनले जानकारी दिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।