|

डडेल्धुरा : डडेल्धुराको दुमडा गाउँमा पहिलोपटक रोपाइँ गरिएको छ। अमरगढी नगरपालिका-६ को दुमडा गाउँमा सिँचाइको पानी पुगेपछि पहिलोपटक रोपाइँ गरिएको हो।

गाउँमा पहिलो पटक रोपाइँ गर्न पाएपछि स्थानीय निकै हर्षित भएका छन्। २०७० सालदेखि सुरु भएको सिचाइँको काम यस वर्ष पूरा भएको हो। झण्डै आठ किलोमिटर ठाँढाबाट पानि गाउमा पुर्‍याई रोपाइँ गरिएको वडाअध्यक्ष गोविन्दराज भट्टले जानकारी दिए।

गाउँभन्दा धेरै तल खोला किनारमा दुमडा गाउँका केही परिवारका खेत थिए। पछिल्ला वर्षहरुमा जंगली जनावर बँदेल, रतुवाले धानबाली नष्ट गर्न थालेपछि भएका खेत पनि बाँझै रहेको उनले बताए।

खोलाको पानी वडा नं. ७ को खानेपानी र सिँचाइमा प्रयोग भएसंगै बैशाख, जेठ महिनामा आफ्ना खेतसम्म पानी नै नपुग्ने समस्या थियो। उनले भने, ‘अहिले अलग्गै मुल वडा नं. ६ कै तोलीबाट सिँचाइको पानी गाउँमा पुगेपछि घर वरपर रहेका बारीमा सबै गाउँलेहरुले रोपाइँ गरि रहेका छन्।’

स्थानीय हर्षित

यस वर्ष मात्रै गाउँमा पानी पुगेकाले रोपाइँ गर्न नपाएका गाउँलेहरू सबैले धमाधम रोपाइँ गर्न थालेका छन्।

बिहे गरी दुमडा गाउँमा आएको ४० वर्ष बढी भए पनि रोपाइँ गर्न नपाएको स्थानीय हरुदेवी भट्टले बताइन्। दुमडा गाउँमा पहिलो पटक रोपाइँ गर्न पाउँदा निकै खुशी भएको उनले सुनाइन्।

धान राम्रो फल्ने आश

पानी पुगेपछि घरको माथिल्लो गाह्रामा रोपाइँ गर्न लागेकाले निकै रमाइलो महसुस भइरहेको बताउँदै स्थानीय राधिका भट्टले भनिन्, ‘अबदेखि खेतको मसिनो चामलको भात खान पाइने भयो। यो वर्ष परीक्षणका रुपमा रोपाइँ गर्न लागेका छौँ। गाउँमा पानी पुगेको छ। धान राम्रो फल्ने आश छ।’

दुमडा गाउँमा तरकारी उत्पादन पनि गरिँदै आएको छ। दुई हजार रोपनीमा सिँचाइ गर्न भनी २०७० सालमा अमरगढी नगरपालिकाबाट एक लाख रकम विनियोजन भएपछि काम सुरु भएको दुमडा सिचाइँ जल उपभोक्ता समिति अध्यक्ष कालीप्रसाद भट्टले बताए।

सिँचाइ कार्यालय डडेल्धुराबाट पनि २०७० सालमा नै १५ लाख र त्यसपछि १० लाख आएको उनले जानकारी दिए। क्रमागत रुपमा सुरुवात गरिएको सिँचाइ योजनाको ४२ लाखको टेण्डरमा पनि काम गरिएको अध्यक्ष भट्टको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.