निजी क्षेत्रले डोजर ल्याएपछि मात्र आयो नगरपालिका

|

इटहरी : अविरल वर्षासँगै आएको बाढीको बेला इटहरीका कर्मचारी र जनप्रतिनिधिहरू खोला सरसफाइमा जुटेका छन्। स्थानीय सुरक्षाकर्मीहरूलाई साथमा लिएर उर्लँदो बाढीको समयमा खोला सफाइमा जनप्रतिनिधिहरू जुटेका हुन्।

केही समय अगाडि स्थानीय स्तरका सञ्चारमाध्यमहरूले खोलामा भएका वनस्पति र फोहोरका कारण खोला सकिने विषयको उठान गरेको थियो। तर सामान्य अवस्थामा सरसफाइ गर्न आलटाल गरेका गरेका प्रतिनिधिहरूले खोला थुनिएपछि भने खोला सफाइमा जुटेका छन्।

इटहरीका मात्र हैनन बाढी आएको समयमा तटबन्ध निर्माण र खोला सरसफाइ गर्न बाढी प्रभावित हरेक क्षेत्रका जनप्रतिनिधिहरू अधिकांश खोला देखिन थालेका छन्।

दुई दिनदेखि अविरल वर्षाको कारण ट्याङ्ग्रा खोलामा पानीको सतह बढ्यो । पानीको सतह बढे सँगै जलकुम्भी र सहरी फोहोरको कारण इटहरी बजारको पुलमा पानी थुनियो। अनि बल्ल मात्र जनप्रतिनिधि र कर्मचारीहरू बर्खाको भेलमा डोजर र टिपर लिएर खोला सफाइमा निस्किएका हुन्।

इटहरी बजार क्षेत्र नै डुबान हुने सम्भावना भएपछि डोजर र टिपर आएको थियो। इटहरीको बीच बजार भएर बग्ने टेङ्ग्रा खोला सफाइ नहुँदा खोला भरिएपछि बजार आसपासका बस्तीमा भने पानी पसेको छ।

इटहरी उपमहानगरपालिका-८ स्थित करदाता सेवा कार्यालय अगाडिबाट टेङ्ग्राखोला बस्तीमा पसेको हो। उत्तर दक्षिण कोसी राजमार्ग अन्र्तगतको इटहरी सडकखण्डको यो क्षेत्रमा अहिले पानी सडकबाटै बगेको थियो।

टेङ्ग्राखोला पुलमाथि पानी आएपछि ब्लक भएको खोला खोल्न बिहान ८ बजे दुई डोजर र दुई टिपर लिएर आए उद्योग वाणिज्य सङ्घ इटहरीका अध्यक्ष भीम पौडेल। व्यवसायी शिव न्यौपाने र भीम पौडेलका एक एक जेसिबी र टिपर आएर खोला सफाइ गर्न ‘एक्सन’मा उत्रिएपछि उपमहानगरले डोजर र टिपर खोलामा पठाएको थियो।

इटहरी उपमहानगरका वरिष्ठ इन्जिनियर अर्जुन दाहालका भने बिहानैबाट खोला सफाइमा जेसिबी र टिपर खटाइएको बताउँछन्। खोलामा बगेर आएका जलकुम्भी र अन्य खोला थुन्ने फोहोर उपमहानगरले निकाल्ने दाहालले बताए।

उवासंघका उपकरणले ट्यांङ्ग्रा खोला र साथी फ्युल क्षेत्रमा खोला क्लियर गरेको थियो। ‘उपमहानगरले गरेन भनेर मौन हुने कुरा भएन’ अध्यक्ष भीम पौडेल ’हामी आएपछि मात्रै उपमहानगर आयो होला । मैले चाहिँ देखिन।’

हरेक वर्ष असार र आउने सम्भावित बाढीको जोखिम न्यूनीकरण गर्न इटहरीमा खोला सफाइ हुने गरेको थियो। इटहरी बजार क्षेत्र भएर बग्ने टेङ्ग्रा, बुढी र खेती खोलामा डोजर र एस्काभेटरले सफाइ  बाढी आउनु अगाडि नै हुन्थ्यो। तर यो वर्ष भने स्थानीय सरकारले ध्यान नदिँदा खोला थुनिएको इटहरीका स्थानीय प्रमोद भट्टराई बताउँछन्।

‘कर्मचारी मात्र भएको बेला त ठीकै छ तिनीहरूलाई वस्तुस्थिति थाहा हुँदैन भनेर पनि चित्त बुझाउन सकिन्छ, तर जनप्रतिनिधि आउँदा पनि काम भने उस्तै हुँदै आएको छ’ भट्टराईले भने ‘नेतृत्वको गफ राष्ट्रिय स्तरको तर काम भने टोल स्तरको पनि भएन।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.