|

विश्वभर ८२ करोड मानिस भोकमरीमा रहेको एक तथ्यांक सार्वजनिक भएको छ। पछिल्ला तीन वर्षयता भोकमरीबाट प्रभावित मानिसहरुको संख्या बढिरहेको पाइएको हो।

संयुक्त राष्ट्र खाद्य एवम् कृषि संगठन युएनएफएओले सोमबार सार्वजनिक गरेको एक नयाँ प्रतिवेदन ‘स्टेट अफ फूड सेक्युरिटी एण्ड न्युट्रेशन इन द वल्र्ड २०१९’ अनुसार भोकै बस्नुपर्ने बाध्यता भएका मानिसहरुको संख्या बढेको छ। 

प्रतिवेदनअनुसार सन् २०१८ मा ८२ करोड मानिस भोकै बस्नुपरेको थियो। सन् २०११ मा यसरी भोकै बस्ने व्यक्तिहरुको संख्या ८१ करोड थियो। भोकै बस्ने व्यक्तिहरु एसियामै बढी रहेका छन्। एसियामा यसरी भोकै बस्ने मानिसको संख्या ५१ करोड ३९ लाख रहेको छ भने अफ्रिकामा भोकै बस्नेको संख्या २५ करोड ६१ लाख रहेको उक्त प्रतिवेदनले देखाएको छ। संयुक्त राष्ट्र संघको सन् २०३० को दिगो विकासको लक्ष्यले यो पछिल्लो प्रतिवेदनले चुनौति दिएको ठानिएको छ। 

दिगो विकास अन्तर्गत सन् २०३० सम्ममा विश्वलाई ‘शुन्य भोकमरी’ गराउने लक्ष्य राखिएको छ। अमेरिकाको न्युर्योकस्थित राष्ट्र संघको केन्द्रीय कार्यालयमा जारी उच्चस्तरीय राजनीतिक मञ्चको बैठकमा यो प्रतिवेदन सार्वजनिक गरिएको हो। प्रतिवेदनले विश्वका १७ दशमलव २ प्रतिशत मानिस अर्थात् एक अर्ब ३० लाख मानिसले नियमित रुपमा पोषण र पर्याप्त भोजन पाउन नसकेको देखाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.