पूर्व-प्रधानमन्त्रीहरूले पनि डुबुल्की मारे, ग्यास्ट्रिकदेखि नशा च्यापिएसम्मको उपचार

|

म्याग्दी : म्याग्दीको बेनी नगरपालिका–४, सिङ्गामा रहेको तातोपानी कुण्ड पछिल्लो समय स्वास्थ्य र शैक्षिक पर्यटनको केन्द्रका रुपमा विकसित हुँदै जान थालेको छ। 

२०४२ सालमा पत्ता लगाइएको तातोपानीको मुहानलाई स्थानीयवासिन्दाले संरक्षण गरी कुण्डको रुप दिएर प्रचारप्रसार गरेपछि अहिले यो कुण्ड संसारभरि नै प्राकृतिक चिकित्सालयको रूपमा चिनिएको हो।

मूलबाट नै ५७ डिग्री सेल्सियस तापक्रमको पानीमा विरेनुन र गन्धक मिश्रित वासना आउने यस कुण्डमा डुब्‍न र उपचार गराउनका लागि नेपालबाट मात्रै होइन विदेशबाट समेत पर्यटक र बिरामीहरू आउने गरेका छन्। त्यसका साथै तातोपानी कुण्डप्रति शिक्षणसंस्था र विद्यार्थीहरूको पनि आकर्षण बढेको छ।

यहाँ समय समयमा शैक्षिक भ्रमणका लागि टाढाटाढाबाट समेत विद्यार्थीहरू आउन थालेका छन् भने अनुसन्धान गर्नका लागि विभिन्न शैक्षिक संस्थाहरूबाट अनुसन्धाताहरू पनि आएका छन्। तातोपानी कुण्ड म्याग्दीको सदरमुकाम बेनीदेखि ९ किलोमिटर पश्चिममा पर्दछ।  तातोपानी कुण्डमा सवारी साधनबाट सजिलै पुग्न सकिन्छ।

जिल्लामा आउने उच्च सरकारी अधिकारी, केन्द्रीयस्तरका नेताहरू, स्वदेशी तथा विदेशी पर्यटक तातोपानी कुण्डमा नुहाउन र अवलोकन गर्न पुग्ने क्रम बढेसँगै तातोपानीको कुण्डमा स्वास्थ्य उपचारको महत्व बढेको हो।

लाखौँ खर्च गर्दा निको नभएको बिमार सञ्चो

लाखौँ रकम खर्च गरी स्वदेश तथा विदेशका महँगा र ठूला अस्पतालमा पुगेर उपचार गर्दा पनि रोग निको नभएपछि यहाँ दीर्घरोगीहरू पनि तातोपानी कुण्डमा डुबेर बाफिई उपचार गरेपछि निको भएर फर्केका तातोपानी कुण्ड व्यवस्थापन समितिले जनाएको छ। 

कुण्डमा नेपालको अधिकांश जिल्लाका साथै स्नान गर्नका लागि भारत, जापान र बङ्गलादेशबाट समेत वर्षेनी सयौँ विदेशीहरू आउने गरेको तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले जानकारी दिए।

कुण्डमा एकपटक आएर डुबेका बिरामीहरू निको भएपछि फर्किएर पटकपटक आउने गरेका छन्। कुण्डमा वार्षिक झण्डै २० हजारको हाराहारीमा बिरामीहरू स्नान गर्न आउने गरेको तातोपानी कुण्ड व्यवस्थापन समितिको तथ्यांक रहेको छ।

पछिल्लो समय कुण्डमा आउने बिरामीहरूको सङ्ख्या बढेको हुँदा कुण्ड आसपासमा थप पूर्वाधारको विकास गरिएको छ। वाथ टपदेखि लिएर पोखरीको संख्या पनि बढाइएको समितिका अध्यक्ष शाक्यले बताए।

उनले म्याग्दी नदीको किनारमा तातोपानी कुण्डको केही पर रहेको अर्को तातोपानीको मुहानलाई पनि  संरक्षण गरी पूर्वाधार बनाउन सकेमा बढ्दो बिरामीको व्यवस्थापन गर्न सकिने बताउँदै त्यसका लागि सम्बन्धित निकायमा पहल थालिएको जानकारी दिए।

पूर्वप्रधानमन्त्रीहरूले डुबुल्की मारे

गतसाल मात्र पूर्वप्रधानमन्त्री तथा (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,पत्नी सीता दाहाल गृहमन्त्री रामबहादुर थापालगायत परिवारसहित आफन्तले तीन दिनसम्म बेनीमा बसेर तातोपानी कुण्डमा नुहाएका थिए।

त्यसको केही समयपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पनि तातोपानीमा आएर डुबुल्की लगाइ स्नान गरे। त्यासैगरी राप्रपाका अध्यक्ष कमल थापा लगाएतका नेताहरू तातोपानी कुण्डमा स्थान गर्न आए।

यसअघि, तातोपानी कुण्डमा पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनाल, पूर्व अर्थमन्त्री भरतमोहन अधिकारी, पूर्वमन्त्री विक्रम पाण्डे, वर्तमान सरकारका रक्षामन्त्री ईश्वर पोख्रेल, शिक्षामन्त्री गिरिराजमणि पोख्रेल, नेकपा क्रान्तिकारीका नेता सीपी गजुरेल र नेपाल सरकारका विशिष्ट सचिव डेकेन्द्र पौडेल पुगेका थिए।

पूर्वप्रधानमन्त्री खनालले तातोपानी कुण्डको भ्रमणपछि केही बजेट सहयोग गरेको हुँदा त्यसबाट कुण्डमा डुबेर गुफिनका लागि बिरामीलाई आवश्यक बस्ने ठाउँहरू निर्माण गरिएको छ। यसरी केन्द्रीय नेताहरू पनि तातोपानीमा आउन थालेपछि  तातोपानी कुण्डप्रति देशैभरीका आम मानिसको आकर्षण बढ्दै गएको हो।

पूर्वमन्त्री पाण्डेले व्यक्तिगत रुपमा कुण्डलाई २५ हजार रुपैयाँ आर्थिक सहयोग गरेका थिए। पूर्व प्रधानमन्त्री प्रचण्डले तातोपानी कुण्डमा नुहाएर फर्किने क्रममा म्याग्दी पर्यटन, कृषि र जलविद्युतको सम्भावनायुक्त जिल्ला भएकाले सडकको स्तरोन्नति गर्नतर्फ जोड दिँदै यसका लागि आवश्यक सहयोग गर्ने बताएका थिए। त्यसैगरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि तातोपानी कुण्डको विकासका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए।

ग्यास्ट्रिकदेखि नशा च्यापिएसम्मको रोग ठिक हुने विश्वास

७ देखि १० दिनसम्म बिहान र बेलुकी गरी दैनिक ३ घण्टा तातोपानीको कुण्डमा डुबेपछि ग्यास्ट्रिक, बाथरोग, गानोगोला, युरिकएसिड, हाडजोर्नी दुख्ने, हड्डीको दुखाई, सड्केको, मर्किएको, नसा च्यापिएको, बज्रिएकोसहित चिसोका कारणबाट उत्पन्न सबै प्रकारका रोगहरू निको हुने गरेका कुण्ड व्यवस्थापन समितिको दाबी रहेको छ।

शैक्षिक पर्यटक पनि उत्तिकै

प्राकृतिक चिकित्सालयका नामले चर्चा कमाएको तातोपानी कुण्डमा पछिल्लो समय शैक्षिक पर्यटकहरूको पनि बाक्लो आवागमन हुन थालेको छ। आर्थिक वर्ष २०७५-०७६ मा विभिन्न शैक्षिक संस्थाहरूबाट २८ समुह यहाँ आएर अवलोकन,निरिक्षण गर्नुका साथै स्नान गरेका तातोपानी कुण्ड व्यवस्थापन समितिले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.