|

काठमाडौं : आलाप दोहोरीको परिकल्पना कसरी भयो? पंक्तिकारले पहिलो प्रश्न झलक संगीतमलाई गरेको थियो। उनले यसको सहजै उत्तर दिए। 'हामीकहाँ दोहोरी गाउने भाका पर्याप्त भएनन्। पुराना भाकाले थेग्न सक्ने अवस्था रहेन। मैले दोहोरी गाउने भाका पर्याप्त बनाउन आलाप दोहोरीको परिकल्पना गरेको हुँ।'

हरेक दोहोरी साझहरूमा लोक भाकामा दोहोरी गीत गाइन्छन्। त्यो पनि पुराना भाकामा। नयाँ भाका आए पनि दोहोरी गायनको लागि हरेक कलाकार र श्रोताको घाँटीमा झुण्डिने खालका नबनेका वर्षौं भयो। आक्कल झुक्कल बने पनि ती दोहोरी गाउनका लागि पर्याप्त भएनन्। एकातिर मेला महोत्सवमा हुने दोहोरी पनि दोहोरिन थाले। यो कुरा झलकलाई टाउको दुखाइको विषय बन्यो।

लोकभाकाको पुर्खादेखि पुस्ता हस्ताणतरण हुँदै आएको संस्कृति हो। तर, आफ्नो पुस्तासम्म आइपुग्दा बाटो भुलेको खोलोजस्तो बन्यो। उनलाई नयाँ नयाँ लोकभाका सिर्जना गर्नुपर्छ भन्ने लाग्यो। लोकभाका सिर्जना गरे पनि रेकर्ड गरेर सार्वजनिक गर्दा लाग्ने आर्थिक पाटोले झस्किए।

उनको दिमागमा नयाँ उपाय फुर्‍यो। 'सिर्जना गरेका भाकालाई लाइभ दोहोरी गर्ने।' उनले भाका सिर्जना गरे। दोहोरी गाउन सक्ने कलाकारलाई भाका पठाउँदै यस गीतमा दोहोरी गाउन अनुरोध गरे। सुरुवाती चरणमा कुनै कलाकारले पनि खासै चासो देखाएनन्। युट्युवमा हाल्नलाई मात्र त के गाउनु? धेरै कलाकारले यही जवाफ फर्काए। तर, उनले हिम्मत हारेनन्।

उनको अनुरोधलाई केही कालाकारले स्वीकार गरे। त्यसपछि सुरु भयो आलाप दोहोरीको साप्ताहिक प्रस्तुति। आलाप दोहोरीको विशेषता नै नयाँ भाकामा दोहोरी गाउनु हो। उनी भन्छन्, 'नयाँ नयाँ भाकामा गाउँदा कलाकारहरूलाई पनि मजा आउँछ।

नयाँ भाकामा गीत सुन्न पाउँदा श्रोतालाई पनि मनोरञ्‍जन हुन्छ।' उनले यसको थालनी गरेको एक वर्ष हुन लाग्यो। यसको चर्चा सर्वत्र रहेको बताउँछन् उनी। उनी भन्छन्, 'धेरै कलाकार साथीहरू हामीलाई कहिले अवसर दिने? भनेर सोधिरहनुहुन्छ। दर्शकले पनि कहिले आउँछ नयाँ गीत भनेर सोधिरहनुहुन्छ। यो लोकप्रियताको आधार  नै  हो।'

उनले सिर्जना गरेका भाकाहरू झिमझिम पानी परेको रात, चपरी आलीमा, गुरुङसेनीको गाँदोमा,दमाईंको छोरो लगायतका दोहोरी गीतहरू अहिले सर्वत्र गाइने गरेका भाका हुन्। आलाप दोहोरीको लाइभले देशभर ३५ भन्दा धेरै रेडियोले गरिरहेका छन्। उनी भन्छन्, 'उहाँहरूले प्रशारण अधिकार माग्नु भएकोले उहाँहरूको रेडियोको तालिका अनुसार गीत प्रशारण भइरहेको छ।'

कलाको कुनै मूल्य हुँदैन। तर कलाकार सधैँ कलाकार भएर बाँच्न सक्दैन। उसको आफ्नो दैनिक जीवनमा साधारण जिन्दगी पनि रहन्छ। त्यसका लागि आर्थिक पक्ष पहिलो सर्त पनि हो। बढ्दो लोकप्रियताबीच आलाप दोहोरीमा गाउने कलाकारले कति पारिश्रमिक पाउँछन् त? धेरैको चासो पनि हुन सक्छ।  'कलाकारभित्र रहेको कलाको मूल्य तोक्ने काम मेरो होइन। दर्शकले जति माया गर्नुहुन्छ। त्यहीअनुरूप कलाकारले आम्दानी गर्छन्', झलक भन्छन्,  'एउटा लाइभ दोहोरीबाट जति आम्दानी हुन्छ। त्यसको केही प्रतिशत कलाकारले प्राप्त गर्छन्।'

आलाप दोहोरीले लुकेर रहेका प्रतिभालाई बाहिर ल्याउने कोसिस गरिरहेको उनले बताए। जब लाइभ दोहोरी प्रशारण हुन्छ। त्यसपछि उक्त गीतलाई केही परिमार्जन गरी पुन: बजारमा प्रशारण गरिरहेको पनि झलक बताउँछन्। 

स्कुले जीवन थियो। प्युठानमा नेकपा मसालको छुट्टै सान थियो। उसले विभिन्न सांगीतिक कार्यक्रम गर्थ्यो। झलक बच्चामा सधैँ बाँसुरी, मादल बोक्थे। गाउन हिँड्थे। सबैले उनको गायन कलाको प्रशंसा गर्थे। उनी हुरुक्कै हुन्थे। छोराको कला र गला देखेर बाबुआमा दंग पर्थे। एक समय आयो। जब उनलाई संगीतको भोक लाग्न थाल्यो। भोकले लत जन्मायो। लत देखेर बाबु आमा दिक्क मान्न थाले। एक दिन बुबाले गाउँले टोनमा सोधे, 'के हुन्छ गाइने भएर?' झलकले सिधा जवाफ दिन्थे, 'गीत गाउँछु।'

छोराले लिएको लक्ष्य देखेर बुबाआमा दिक्क हुनु स्वाभाविक थियो। न यसमा व्यावसायिकता थियो। न त भविष्य नै। घरको कान्छो छोरो  झलक दाजु र दिदीको मायाले पुल्पुलिएका थिए। गाली गरे पनि उनले आफ्नो लक्ष्य तय गरिसकेका थिए। म भविष्यमा सांगीतिक क्षेत्रमा नै लाग्छु।'

उनी विसं २०५७ सालमा काठमाडौं आए। पढ्नका लागि। उनी भन्छन्, 'पढ्ने त बहाना थियो। संगीतको रस रगतरगतमा थियो। संगीत सिक्ने र गाउने लोभ थियो।'

उनले जीवन शर्माहरूको सामिप्यमा हिँड्ने अवसर पाएको बताउँछन्। उनका हालसम्म १ हजारभन्दा धेरै गीत बजारमा छन्। हरेक गल्लीदेखि गाउँको भीर पाखोमा उनका गीत गुञ्‍जन्‍छन्। सुरुवाती चरणमा आफ्ना गीत रेडियो टेलिभिजनमा बजेको देख्दा र सुन्दा अध्यारो झुपडीमा उज्यालो आएजस्तो महसुस हुन्थ्यो उनलाई।

विस्तारै उनको गीत दर्शकले मन पराउन थाले। आफूमा जिम्मेवार थपिएको महसुस हुन थाल्यो। उनले दिनरात गीत संगीतमा लागिपरे। बाबुआमाले झलकको यो बाटो मन पराएका थिएनन्। तर, अहिले भने बुबाआमा सकारात्मक रहेको बताउँछन् उनी।

कहिलेकाहीँ झलकले बुबालाई स्टुडियोमा लिएर आउँछन्। बुबाका अगाडि गीतको कम्पोज तयार पार्छन्। कम्पोज तयार पारेबापत शुल्क लिन्छन्। शुल्क लिएर दृश्य बुबाले देख्छन्। अनि बोल्छन्, 'तैँले पैसा कमाउने सजिलो बाटो अपनाइस्। हामीले जस्तो खेती किसानी गर्नुपरेन। स्याबास्।'

बुबाले भने जस्तै संगीत क्षेत्र सजिलो बाटो नभए पनि झलकका लागि यो खुसीको कुरा हो। अनुहारमा सन्तुष्टिको धर्सा देखाउँदै उनी भन्छन्, 'कमसेकम बुबा आमालाई ढिलै भए पनि सम्झाउन सफल भएँ।'

उनले दोहोरी साँझमा काम गरे। शिक्षण पेसामा हात हाले। संगीतकार बने। अहिले आलाप स्टुडियो चलाइरहेका छन्। योमध्ये कुनै पनि काम सहज होइन। उनी हार्मोनियमबाट हात हटाउँदै भन्छन्, 'सजिलो त के छर? जब कामलाई काम नमानेर जीवनको हिस्सा मान्नुस्। सहज भएको अनुभूति भने पक्कै हुन्छ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.