|

हेटौंडाः प्रदेश ३ सरकारले विषादी अवशेष परीक्षण प्रयोगशाला उद्घाटन गरेको छ। प्रयोगशालाको प्रदेश ३ को कार्यालयको प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गरेका हुन्। विषादी अवशेष परीक्षण प्रयोगशाला प्रदेश ३ को कार्यालय उद्घाटन सँगै पाँचवटा जिल्ला प्रयोगशाला स्थापना गर्नको लागि आवश्यक सामग्री पनि वितरण गरेको छ।

प्रदेश राजधानी हेटौंडामा प्रमुख कार्यालय उद्घाटन गरी परीक्षण प्रयोगशाला ललितपुर, नुवाकोट, काभ्रे र चितवनको कृषि ज्ञान केन्द्रमा प्रयोगशाला स्थापना गर्न आवश्यक सामग्री वितरण गरेको हो। पाँच स्थानका लागि एक करोड ८० लाख  रुपैयाँको लागतमा उपकरण, प्रयोगशाला सामग्री र रसायन लगायत खरिद गरिएको प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता निर्मल गदालले जानकारी दिएका छन्।

प्रयोगशालाले प्रतिघण्टा २० देखि ३० वटा तरकारी र फलफूलको नमुना परीक्षण गर्ने क्षमता रहेको छ। ५ वटै कार्यालयको लागि ३/३ जना प्राविधिकलाई प्रयोगशाला सञ्चालनसम्बन्धी तालिम पनि दिइएको मन्त्रालयका प्रवक्ता गदालले बताए। यस्तै युवा कृषि स्वयंसेवकलाई प्रत्येक प्रयोगशालामा २ जनाको दरले खटाउने तयारी समेत मन्त्रालयले जनाएको छ। यस अघि विषादी अवशेष द्रूत विष्लेषण कार्यविधि २०७५ प्रदेश ३ को मन्त्रिपरिषद्ले स्वीकृत गरिसकेको थियो।

यस्तै प्रदेशका पाँच स्थानीय तहमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले माटो परीक्षण प्रयोगशाला स्थापना गर्नको लागि आवश्यक सामग्री पठाएको भएको छ। सोमबार पाँच स्थानको प्रयोगशालाका लागि एक करोड ५९ लाख ७९ हजार रुपैयाँको उपकरण, रसायन र सामग्री हरु प्रयोगशाला रहने स्थानीय तहमा पठाइएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयमा माग भए बमोजिम मकवानपुरको मकवानपुरगढी र धादिङको सिद्धलेक गाउँपालिका तथा काभ्रेपलाञ्चोकको पाँचखाल, चितवनको खैरहनी र नुवाकोटको विदुर नगरपालिकाका प्रमुखलाई मुख्यमन्त्री पौडेलले सामग्रीसहित प्रमाणपत्र हस्तान्तरण गरेका हुन्। यस्तै मन्त्रालयले ८० लाख ९४ हजार रुपैयाँको माटो परीक्षण मोबाइल भ्यान खरिद गरेको छ।

माटो परीक्षण प्रयोगशालामै रहने भ्यानले प्रतिदिन ३० माटोको नमुना परीक्षण गर्ने प्रवक्ता गदालले बताए। उक्त भ्यानबाट प्रदेश ३ का वार्षिक रुपमा १२ हजार किसान परिवार प्रत्यक्ष लाभान्वित हुने मन्त्रालयले दाबी गरेको छ। भ्यान इ–बिडिङमार्फत खरिद गरेको मन्त्रालयले जनाएको छ। 

 

प्रदेश ३ मा ४ वटा भेटेरिनरी एम्बुलेन्स  

प्रदेश ३ सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ४ वटा भेटेरिनरी एम्बुलेन्स सञ्चालनमा ल्याएको छ। एम्बुलेन्सहरू मकवानपुर, काभ्रेपलाञ्चोक र ललितपुरमा रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र कृषि तथा वन विश्वविद्यालय चितवनमा राखिने छ।

करिब ३७ लाख रुपैयाँको दरमा  एक करोड ४९ लाख १६ हजार रुपैयाँमा ४ वटा एम्बुलेन्स इ–बिडिङमार्फत खरिद गरेको मन्त्रालयले जनाएको छ। एम्बुलेन्सले एक पटकमा दुई वटासम्म गाई वा भैसी वा पाँच वटासम्म बाख्रा बोक्न सक्ने  छ। 

कृषिको विकास नगरी समृद्धि आउँदैन : मुख्यमन्त्री पौडेल
    
प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले कृषिमा विकास नगरी समृद्धि नआउने बताएका छन्। प्रयोगशाला उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले प्रदेश नीति तथा योजना आयोगले बनाएको आधारपत्र अनुसार प्रदेश सरकारले समृद्धि ल्याउने पाँच क्षेत्र मध्ये सबैभन्दा महत्वपूर्ण कृषि भएको बताएका हुन्।

पर्यटन, उद्योग क्षेत्र पनि महत्वपूर्ण भएतापनि कृषिको विकास नगरी समृद्धि आउन नसक्ने भएकोले कृषिमा आधुनिकतातर्फ अगाडि बढ्न प्रदेश सरकारले कदम चालिसकेको बताएका छन्। उनले प्रदेश सरकारले अबको ५ महिनाभित्र परिणाम देखाउने भन्दै अब प्रदेश सरकारले परिणाम दिने बेला आएको बताए।

परम्परागत काम गर्ने शैली परिवर्तन नगरी परिणाममा परिवर्तन गर्न नसक्ने भन्दै उनले कर्मचारीदेखि किसान सम्मले कार्यशैली परिवर्तन गर्नुपर्ने बताए। कार्यक्रममा बोल्दै प्रदेश ३ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले प्रदेश सरकारले नयाँ कामको योजना बनाएको भन्दै कृषिमा लगानी गर्न आएमा सरकारले सँधै सहयोग गर्ने बताए।

कर्मचारीलाई लक्षित गर्दै लामाले समृद्ध नेपाल सुखी नेपालीको बाधक भ्रष्टाचार भएको बताएका छन्। भ्रष्टाचार गर्नेलाई कुनै पनि छुट नभएको भन्दै उनले  किसानलाई खुसी भएर सेवा दिए पेशा प्रतिको सम्मान बढ्दै जाने बताए। 

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सचिव डा.योगेन्द्र कार्कीको सभाध्यक्षतामा भएको  कार्यक्रममा नेकपा ३ नम्बर प्रदेशका सचेतक रामेश्वर फुयाँल, प्रदेश नीति तथा योजना आयोगका सदस्य श्याम बस्नेत, विभिन्न जिल्लाका जिल्ला समन्वय समितिका प्रमुखहरू, स्थानीय तहका प्रमुखहरूको उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.