|

डडेल्धुरा : सुदूरपश्चिमका ग्रामीण क्षेत्रमा परम्परागत संस्कृति र पहिरन हराउँदै जान थालेबेला डडेल्धुरा सदरमुकाममा परम्परागत पहिरनमा महिला देउडा खेलेका छन्। सदरमुकामको बसपार्कमा सम्पन्न ‘हुक्का चिलिम महिला देउडा प्रतियोगिता २०७६’ मा सुदूरपश्चिमेली पहिरनमा यहाँका महिलाहरुले देउडा खेलेका हुन्।

यहाँका महिलाले गुन्यु-चोलो, कम्मरमा पटुका, गलामा पोते, तिलहरी, माला, हातमा चुरालगायतका परम्परागत गहना लगाएर देउडा खेलेका हुन्। देउडा संस्कृति संरक्षणका लागि खेलिएको देउडामा युवतीदेखि वृद्धासम्मले साथ दिएका छन्।

बस पार्कमा रेडियो युनिटी डडेल्धुरा र हुक्का चिलिम डडेल्धुरा शाखाको आयोजना तथा अजयमेरु गाउँपालिका डडेल्धुराको प्रायोजनमा आयोजित महिला देउडा प्रतियोगितामा उनीहरूले सुदूरपश्चिमेली पहिरनसहित देउडा खेलेका हुन्। हुक्का चिलिम महिला डेउडा प्रतियोगितामा जिल्लाका ४ टिमको सहभागीता रहेको थियो।

पहिलो दिनको खेलमा कमला साउँद विजेता हुँदा निर्मला पाठक उपविजेता भइन्। दोस्रो दिनको खेलमा नर्पता सेटी विजेता भइन् भने कमलीदेवी बोहरा उपविजेता बनिन्।

गतवर्ष निर्मला पन्तलगायत देशभर महिला तथा बालबालिकाविरुद्ध चरणबद्ध हिंसा भएपछि यो वर्षको देउडा प्रतियोगीता सामाजिक विकृतिविरुद्ध केन्द्रित भएको हो। निर्मला बलात्कारपछि हत्याकाण्डको एक वर्ष पूरा हुँदासमेत अपराधि पक्राउ गर्न नसेको भन्दै देउडामार्फत हत्यारा पत्ता लगाउन उनीहरूले सरकारसँग माग गरे।

परम्परागत पहिरनमा यस्ता किसिमका देउडा प्रतियोगिताहरु आयोजना गर्दा सुदूरपश्चिमेली कला, संस्कृति संरक्षणमा सहयोग पुग्ने अजयमेरु गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद भट्टले बताए।

देउडा प्रतियोगिताले यहाँको कला, संस्कृति र पहिरनको संरक्षणमा टेवा पुग्ने विश्वास लिएको हुक्काचिलिम कार्यक्रम प्रस्तोता ओमप्रकाश ओझाले बताए। देउडा खेल सुदूरपश्चिमेलीहरूको मुख्य आकर्षणका रूपमा रहेको उल्लेख गर्दै उनले सुदूरपश्चिमको कला, संस्कृति जर्गेना गर्न सबैले हातेमालो गर्नु आवश्यक रहेको उनको भनाइ छ।

आधुनिकता र शहरीकरणका कारण देउडा संस्कृतिप्रति युवा पुस्तामा मोह घट्दै गएपछि अहिले सुदूरपश्चिममा परम्परागत तरिकाले यस्ता प्रतियोगीता उत्सवकै रुपमा मनाउन थालिएको छ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.