|

पर्वत : पर्वतको फलेवास नगरपालिका ११ पाङराङकी गीता कँडेल बिरामी पर्दा पटक-पटक स्ट्रेचर र डोकोमा चढेर उपचारको लागि सदरमुकाम कुस्मासम्म आएकी छन्। उनको सम्झनामा रहे अनुसार झन्डै ४ वर्षको अवधिमा गाउँमा रहेको एम्बुलेन्सले २/३ पटकसम्म मात्र बिरामी ओसारेपछि स्थानीय स्वास्थ्य चौकीको प्राङ्गणमा थन्किएको छ। 

‘एम्बुलेन्स हुँदा पनि स्ट्रेचरमा चढेर उपचारको खोजीमा जानुपरेको छ। गाउँमा भएको साधन चलिदिए यहाँका मान्छेलाई सजिलो हुने थियो’ उनले भनिन्, ‘गाउँबाट चल्ने जिपहरू आप्mनो समयमा हिँड्छन्, बिरामीहरूको चाहना अनुसार चल्दैनन्। जिप नचलेको बेलामा डोको र स्ट्रेचरमै जानुपर्ने बाध्यता छ।’ 

एम्बुलेन्सलाई सञ्चालनमा ल्याउन नसक्दा गीताजस्तै पाङराङबासीहरुले सास्ती पाउँदै आएका छन्। गाउँमा रहेको एम्बुलेन्स नै बिरामी जस्तै भएर थन्किएपछि गाउँका बिरामीहरूलाई अहिले पनि डोको र स्ट्रेचरमा ओसानुपर्ने बाध्यता छ।

गाउँमा मोटरबाटोको सुविधा भएपछि बिरामी पर्दा सजिलो होला भनेर लगेको एम्बुलेन्स नै थन्किएका कारण पाङराङ र आसपासको क्षेत्रका धेरै बिरामी समस्यामा छन्। दुर्गमको गाउँ भएका कारण नागरिक बिरामी पर्दा समयमै स्वास्थ्य सेवा नपाएका कारण पाङराङमै घर भएका पूर्व निर्वाचन आयुक्त निलाकण्ठ उप्रेतीको पहलमा संसद् विकास कोषको रकमबाट एम्बुलेन्स ल्याइएको थियो।

केही समय चलेको एम्बुलेन्सको टायर पन्चर भयो, वर्षौसम्म थन्कियो, हालै मर्मत गरेर ल्याइएको भए पनि एम्बुलेन्स भने चल्न सकेको छैन। गाउँमा एम्बुलेन्स भएर पनि सेवा नपाउँदा स्थानीयको चर्को आक्रोश छ। गाउँमा कोही पनि बिरामी पर्दा समयमै सुविधाजनक तरिकाले अस्पताल सम्म लैजानका लागि गाउँमा एम्बुलेन्स ल्याइएको भए पनि एम्बुलेन्स आफैँ बिग्रिएर थला परेपछि नागरिकले गाउँमा भएको एम्बुलेन्सको मर्मत नगर्दा नागरिकले सास्ती पाएको भन्दै दुखेसो पोख्छन्। 

‘पहिले पनि त्रिपालै ओढेर बसेको थियो, पोहोर बनाएर ल्याएका हुन फेरि पनि त्रिपालै ओढेर बसेको छ। हामी नागरिकले त के गर्न सक्छौँ र?’ स्थानीय ७० वर्षीय नरबहादुर सुनार भन्छन्, ‘एम्बुलेन्स किन चलेन? भनेर प्रश्न राखौँ भन्दा गाउँ सभा नै हुँदैन। वडाध्यक्षलाई एक दुई पटक गाडी चलाउन पर्‍यो भनेका हौँ। ड्राइभर खोज्दै छौँ भन्नुभएको हो। अहिलेसम्म पनि ड्राइभर नपाएर नै एम्बुलेन्स नचलेको होला।’ 

गाउँमा रहेको एम्बुलेन्सबाट सेवा नपाउँदा पाङराङ र आसपासका नागरिकहरूले कोही बिरामी परेमा दिउसोको समयमा अन्य सवारीमा बिरामी ओसार्न बाध्य भएका छन् भने रातीको समयमा झन्डै ५ घण्टा लामो बाटोमा काँध र डोकोमा बिरामी बोकेर सदरमुकाम कुस्मामा आउने गरेका छन्। 

पाङराङका वडाध्यक्ष शेरबहादुर सुनारले नगरपालिकाको विधान अनुसार चल्दा लामो समय लागेको र अब छिट्टै सञ्चालनमा ल्याउन लागिएको बताए। वडामा जाने बजेटका कारण गाउँमा रहेको एम्बुलेन्स सेतो हात्तीको रूपमा रहेको उनको तर्क छ। ‘चलाउन मन नभएको कहाँ हो र? अहिले मर्मत गरेर ल्याएका छौँ। 
चालकको खोजी भइरहेको छ, छिट्टै चल्छ।’

एम्बुलेन्स सञ्चालन गराउन किन सक्नुभएन? भन्ने प्रश्नमा उनले भने, ‘नगरपालिकाको बजेटमा सीमा छन्। हामीलाई नगरपालिकाले खर्चको व्यवस्था गर्न सकेको छैन। वडामा सुको पैसो छैन, यसलाई चाहिने खर्चपर्च कसरी धान्ने? नगरपालिकाको जिन्सी शाखामा दर्ता नभएका कारण नगरपालिकाले एम्बुलेन्सको सञ्चालनमा केही गर्न नसक्ने बताउँछ।’

गाउँमा रहेको एम्बुलेन्स थन्किएको देख्दा आफैँलाई पनि पीडा भएको बताउँदै उनले अब गाउँबाट व्यक्तिगत रूपमा पैसा उठाएरै भए पनि एम्बुलेन्स तत्काल सञ्चालनमा ल्याउने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.