|

इलाम : झापाको बिर्तामोडमा आगामी असोज ११ देखि सुरु हुने ‘हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप’मा सहभागी टिमहरु सार्वजनिक गरिएको छ। सहभागी टिममा दुई भारतीय टिमसहित आठ टिम रहनेछन्।

आयोजक जायोन स्पोर्टस् क्लबले भारतका दुई, नेपालका ए डिभिजनका चार र मोफसलका दुई टिम सहभागी हुने जनाएको छ। सहभागी टिममा विभागीय क्लब त्रिभुवन आर्मी, नेपाल पुलिस रहेका छन्। यस्तै, संकटा र थ्री स्टार क्लब, मोफसलका झापा ११ र गोर्खा ब्वाइज रुपन्देही रहेका छन्। विदेशी टिममा भारतको सिक्किम आक्रामक र असामको मोलवे फुटबल क्लब सहभागी हुने आयोजक समितिका सचिव महेन्द्र पाण्डेले जानकारी दिए। 

गोल्डकप विजेता टोलीले १२ लाख ५० हजार रुपैयाँ, उपविजेताले ६ लाख २५ हजार रुपैयाँ पुरस्कार पाउनेछ। प्रत्येक खेलको म्यान अफ दि म्याचले १० हजार रुपैयाँ, प्रतियोगिताको म्यान अफ दि म्याच खेलाडीले २५ हजार रुपैयाँ आयोजक समितिका प्रवक्ता अविनाश राईले जानकारी दिए।

प्रतियोगितामा विधागततर्फ सात वटा पुरस्कारको व्यवस्था गरिएको छ। उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले जनही १५/१५ हजार पाउने छन्। म्यान अफ दि टुर्नामेन्टलाई पनि पुरस्कारको व्यवस्था गरिए पनि पुरस्कारबारे खुलाइएको छैन। 

गोल्डकपले मुख्य प्रायोजकको रुपमा बिर्तामोडको अन्नपूर्ण बचत तथा ऋण सहकारी संस्था रहेको छ। प्रतियोगिताको उद्घाटन खेल भारतको सिक्किम आक्रामक र संकटा क्लबबीच हुने आयोजक समितिले जनाएको छ। यस्तै, झापा ११ ले दोस्रो क्वाटरफाइन खेलमा नेपाल पुलिस क्लबको सामना गर्ने तालिका नै सार्वजनिक गरिएको छ। 

प्रतियोगिताको ब्रान्ड एम्बासेडर नेपाली महिला फुटबल टिमका मुख्य प्रशिक्षक हरि खडका रहेका छन्। खड्का झापाको भद्रपुर नगरपालिकाका बासिन्दा हुन्। उनले मुनाल क्लबबाट फुटबल यात्रा सुरु गर्दै नेपाली राष्ट्रिय टिमको समेत कप्तानी गरिसकेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.