|

उत्तरपूर्वी सिरियामा टर्कीको सेनाले जारी राखेका हवाई र स्थलगत आक्रमणको कारण सो क्षेत्रका बसोवास गर्दै आएका करिब १ लाख मानिस विस्थापित भएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिया गुटेर्रस्का प्रवक्ता स्टेफान डुजार्रिकले शुक्रबार बताएका छन्।

सिरियाको उत्तरपूर्वी भागमा रहेका कुर्दिश लडाकू समूह र टर्की सुरक्षाबलबीच जारी यस झडपमा दुवैतर्फ हताहत भएको संयुक्त राष्ट्रसंघीय मानव अधिकारका लागि उच्चायुक्तको कार्यालय (ओएचसीएचआर) ले जनाएको छ।

सीमानामा पर्ने  दुवै तर्फका शहरहरूमा बम विस्फोटको समाचार भएको संयुक्त राष्ट्रसंघीय मानवीय मामिलाको समन्वय कार्यालय (ओचा) ले जनाएको छ।

संयुक्त राष्ट्रसंघ आपतकालीन राहत समन्वयकर्ता जनरल मार्क लोकोकले  टर्की यात्रा गरेका छन्। लोकोकको दुई दिनको आङ्कारा भ्रमण र टर्की र सिरिया सिमानाको भ्रमण टकीले सो क्षेत्रमा आक्रमणको घोषणा गर्नुअघि नै योजना बनाइएको थियो।

उनको भ्रमण उत्तरपूर्वी सिरियामा टर्की सेनाले जारी राखेको सुरक्षा कारबाहीको साथसाथै भएको थियो। उनले  सीमाको दुबै क्षेत्रमा भएको नागरिकको हताहत समाचारप्रति चिन्ता व्यक्त गरेका छन्।

लोकोकले सबै पक्षहरूलाई संयम व्यवहार गर्न, नागरिक र नागरिक पूर्वाधारको संरक्षण गर्न र आफ्नो दायित्वअनुरूप कार्य गर्न गुटर्रेस्को अपील दोहोर्‍याएका छन्।

टर्कीले जारी राखेको यस अभियान क्रममा गत दुई दिनयता नागरिकको हताहत भएको समाचार प्राप्त हुन थालेको मानवअधिकार कार्यालयहरुले जनाएको छ।

युद्धका पक्षहरू र सैन्य कारबाही अन्तर्राष्ट्रिय मानवीय कानुनको अनुरूप हुनु पर्छ र विशेषगरी भेदभाव, समानुपातिकता र सावधानीका सिद्धान्तहरूमा आधारित हुनु पर्ने उक्त कार्यालयले जनाएको छ।

जारी यस द्वन्द्वको कारण विस्थापित भएका नागरिकहरुलाई उनीहरूको घर फर्कन वा अन्यत्र फर्कन नसक्दासम्म उनीहरूलाई सहयोग र सुरक्षा प्रदान गर्नु सो कार्यालय जानकारी दिएको छ।

टर्कीको आक्रमणबाट विस्थापित भएका बालबालिकाहरू सिरियाको पश्चिमी प्रान्त हस्साकेतर्फ लागेका छन्। टर्कीले सीमापारी सिरियामा कुर्दहरूको नियन्त्रण रहेको क्षेत्रमा आक्रमण थालेपछि झन्डै एक लाख मानिसहरू घर छोडेर भाग्न बाध्य भएको संयुक्त राष्ट्रसंघले जनाएको छ।

प्राय व्यक्तिहरू हस्साके र तल तामेर नगरका विद्यालय तथा अन्य भवनहरूमा आश्रय लिएको राष्ट्रसंघले बताएको छ। अमेरिकाले गत बुधवार सो क्षेत्रबाट आफ्नो सेना फिर्ता गरेपछि टर्कीले सैन्य कारबाही शुरु गरेको थियो।

टर्कीको सैन्य कारबाही रोक्न अमेरिकाले दबाव दिएको छ। आक्रमण नरोकेमा टर्कीले ‘गम्भीर परिणाम’ भोग्नुपर्ने चेतावनी अमेरिकी रक्षामन्त्रीले दिएका छन् भने अर्थमन्त्रीले नयाँ प्रतिबन्धहरूको चेतावनी दिउका छन्।

टर्कीले सैन्य कारबाही थालेपछि कम्तीमा ११ जना गैरसैनिक नागरिकको मृत्यु भएको मानव अधिकारवादी संस्थाहरूले बताएका छन्।

मानवीय सहायता प्रदान गर्ने संस्थाहरूकाअनुसार सो द्वन्द्वमा प्रभावित व्यक्तिहरूको सङ्ख्या अझै बढ्ने बताएको छ। कुर्द नेतृत्वको सिरियन डेमोक्र्याटिक फोर्सेस (एसडीएफ) र टर्कीलाई समर्थन गर्ने समूहका दर्जनौँ लडाकुहरूको मृत्यु भएको छ। यद्यपी टर्कीको सेनाले आफ्ना एक सैनिकको पनि मृत्यु भएको पुष्टि गरेको छ।

विश्लेषकहरूका अनुसार अमेरिकी सेना फिर्ता गरेपछि टर्कीले सीमानामा आक्रमण शुरु गरेको बताइएको छ। सन् २०११ मा सिरियामा गृहयुद्ध सुरु भएपछि त्यो क्षेत्रको अधिकांश भाग सिरियाली सरकारको नियन्त्रणमा छैन। सन् २०१५ देखि त्यहाँ एसडीएफको नियन्त्रण थियो।

इस्लामिक स्टेट्स् समूहविरुद्ध अमेरिकाले गरेको सङ्घर्षमा एसडीएफले सघाएको थियो। तर टर्कीले एसडीएफलाई टर्कीविरुद्ध विद्रोहको समर्थन गर्ने आतङ्कबादी मान्दै आएको छ।

आफूले गरेको आक्रमण कुर्द लडाकुहरूलाई धपाएर ‘सुरक्षित क्षेत्र’  निर्माण गर्ने प्रयास भएको भन्दै टर्कीले सैन्य कारबाहीको प्रतिरक्षा गरेको छ।

‘जसले जे भने पनि हामी रोकिँदैनौँ’, टर्कीका राष्ट्रपतिले शुक्रवार भनेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.